दिल्लीमा दिनरात जलिरहेका चिताहरू

लहरै चिताहरूमा आगो दनदनी दन्किरहेको छ।आगोका लप्काहरू एकआपसमा जुधिरहेका छन्।

लाग्छ दन्किरहेका आगोका लप्काहरू नै हुन् जसले ती चितामा जल्दै गरेका प्रिय आफन्तहरूको सम्झना अनि पीडामा सान्त्वताको कामना गरिरहेका छन्।

घाटमा एउटा लास जलिसकेको हुँदैन।

छेउमा जल्नका लागि कैयौं लासहरू लाम लागिसकेका हुन्छन्।

दिल्लीको पूर्वी सहर सीमापुरीका घाटहरूमा यतिबेला चिताहरू दनदनी बलिरहेका छन्।

त्यहाँ लास जलाउने कामदारहरूलाई बोल्नेसम्म पनि फुर्सद छैन।

‘यो महामारीभन्दा अघिसम्म हामीले यहाँ मुस्किलले १० वटाजति लाशहरू जलाउँथ्यौं’ घाटमा वर्षौंदेखि लास जलाउने काम गर्दे आएका जितेन्दर सिंहले भने ‘अहिले १०० त हुन्छ नै कहिलेकाहीँ त त्यो भन्दा पनि कैयौं धेरै लासहरू जलाउनुपर्छ।’

अहिले यो घाटमा लास जलाउने ठाउँ पनि साँघुरो भइरहेको छ।

शवदाहस्थल व्यवस्थापन समितिले त्यहाँको पार्किङलाई समेत खाली गरेर चिताहरू बनाउँदैछ।

इँटाहरू जोडेर त्यहाँ चिता राख्ने ठाउँ बनाइएको छ।

लास जलाउने यो एउटा सानो घाटमा अहिले आफन्तहरू लास जलाउने पालो कुरिरहेका हुन्छन्।

यस्तो लाग्छ कि अब लासले पनि जल्नका लागि पालो कुर्नुपरिरहेछ।

योसँगै अहिले अर्को पनि समस्या थपिएको छ, लास जलाउनका लागि दिल्लीमा अहिले दाउरा छैन। काठको अभाव छ।

गत मंगलबार मात्रै उत्तरी दिल्लीका मेयर जय प्रकाशले मुख्यमन्त्री अरविन्द केजरीवाललाई एउटा पत्र लेखेका थिए।

त्यसमा उनले लास जलाउनका लागि काठ दाउराको थप व्यवस्था गर्नका लागि वन विभागलाई भनिदिनु अनुरोध गरेका थिए।

यो बीचमा कैयौं मानिसले दाउराहरूका लागि भुक्तानी गरिसकेका छन्।

तर जलाउने ठाउँ नभएर उनीहरू बाहिर नै कुरेर बसिरहेका भेटिन्छन्।

खासगरी हिन्दु संस्कारअनुसार अन्तिम संस्कारका लागि दाउराकै चिता आवश्यक पर्छ।

त्यसरी जलाएर शरीरलाई खरानी बनाएमात्रै उसको आत्माले शान्ति पाउने र पुनर्जन्म पाउने विश्वास गरिन्छ।

दिल्लीकी पत्रकार वर्खा दत्तले अघिलो सातमात्रै कोरोनाले ग्रस्त भएका आफ्ना बुवा गुमाइन्।

अस्पतालमा उनका बुवालाई एउटा ड्यामेज भइसकेको अक्सिजनको सिलिण्डर लगाइएको थियो।

‘हामीले बुवाको अन्तिम संस्कारका लागि घाटमा गयौं। त्यो बेला त्यहाँ लास जलाउने ठाउँ थिएन।

त्यहाँ लास जलाउनका लागि एकआपसमा झगडा भइरहेको थियो’ उनले भनिन् ‘बुवाको शव जलाउनक लागि हामीले पुलिसलाई गुहार्नुपर्ने अवस्था आयो।’

भारतमा अहिले दिनहुँ साढे तीनलाख मानिस संक्रमित भइरहेका छन् भने तीन हजारभन्दा धेरै संक्रमितको मृत्यु भइरहेको छ।

उत्तरी दिल्ली सहरका मेयरका अनुसार अघिल्लो सातासम्ममा दिल्लीले दैनिक ६ सयसम्म लासहरू जलाउनका लागि व्यवस्था मिलाउँदै आएको थियो। अहिले त्यो दुई गुणाभन्दा पनि धेरै बढेको छ।

‘हामी बिहानैदेखि यहाँ शव जलाउन व्यस्त हुन्छौं। बिहानै केही आउँछ अनि फेरि एकएक गर्दै शवहरू आइरहन्छन’ निगमबोध घाटका एकजना कर्मचारी कुमार गुप्ताले भने ‘कहिले त रातभरि पनि यहाँ लास जलिरहेका हुन्छन्।’

यो घाटमा धेरै कामदार अनि स्वंयसेवकहरू दिनहुँ हज्जारौं लास र पीडाको साक्षी बनिरहेका छन्।

रातभरि शव जलाएर सुत्न पनि नपाएका उनीहरू केही त भित्तामा अडेस लागेर निदाइरहेका हुन्छन्।

वर्षौदेखि मृतकको शव जलाउने त्यो घाटको जिम्मेवारी सम्हाल्दै आएका जितेन्दर पालो पर्खिरहेका आफन्तहरूलाई सकेसम्म त्यहाँ सान्त्वना दिने कोसिस गर्छन्।

‘हामीले यो पाँचघण्टामा मात्रै ५५ वटा लास जलाइसक्यौं। साँझसम्म त १०० भन्दा धेरै लास जलाउनुपर्छ होला…’ केहीबेर रोकिएर उनले भने ‘म धेरै थाकेको छु । तर यो हामी थाक्ने समय होइन। यो त देशका लागि, मानवताका लागि अनि कसैको जीवन बचाउनका लागि हामीले काम गर्नुपर्ने समय हो।’

आजसम्म लासहरू जलाउँदा उनले धेरै कुरा सोच्दैनथे। लाग्थ्यो त्यो त उनको नियमित काम नै हो। तर, अहिले उनको मुटु छियाछिया हुन्छ।

सबैभन्दा धेरै उनको मुटु त त्यो बेला हल्लिन्छ जब घाटमा भर्खरको जवान अनि कलिलै उमेरका लासहरू जल्नका लागि आइरहेका हुन्छन्।

‘हामीले देखेका छौं एउटै परिवारले आफ्ना दुई, तीन सदस्य गुमाउनुपरेको छ। उनीहरूको पीडा हामीले लास जलाउँदै महसुस गरिरहेका हुन्छौं। हामीलाई थाहा छैन दिल्लीमा के भइरहेको छ र किन यस्तो भइरहेको छ। यो साँच्चिकै निराशाजनक अनि मुटु कमाउने स्थिति छ।’

एजेन्सीहरूकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय