कोरोनाले मृत्यु भएकी श्रीमतीको शव साइकलमा राखेर घाट लैजादैँ गरेका तिलकरामको कथा

हेल्थपोस्ट नेपाल

भारतको उत्तरप्रदेशस्थित जौनपुर जिल्लाको एउटा गाउँको तस्विर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ।

त्यो तस्विर विभिन्न संवेगात्मक टिप्पणीहरूका साथ सेयर पनि भइरहेको छ।

तस्विरमा एकजना वृद्ध मानिस साइकलमा आफ्नी श्रीमतीको शव राखेर डोर्‌याइरहेको देख्न सकिन्छ। कुनै कुनै तस्विरमा उनी साइकलसहित सडकमै श्रीमतीको शव राखेर टाउको समाएर बसिरहेको देख्न सकिन्छ।

उनी ५५ वर्षका तिलकधारी सिंह हुन्। कोरोना संक्रमण भएकी उनकी श्रीमतीको मंगलबार जौनपुर अस्पताल बाहिर मृत्यु भएको थियो।

एउटा सरकारी एम्बुलेन्सले राजकुमारीको शव गाउँ त पुर्‌याइदियो तर कोरोनाको डरले उनको अन्तिम संस्कारका लागि कोही पनि छिमेकीले साथ दिएनन्। तिलकधारी आफैंले श्रीमतीको शव साइकलमा राखेर अन्तिम संस्कारका लागि लैंजाँदै थिए।

पछि जौनपुर प्रहरी आएर ती महिलाको अन्तिम संस्कार गरिदिएको थियो।

जौनपुर प्रहरीका प्रमुख त्रिभुवन सिंहका अनुसार त्यो तस्विर देख्नासाथ उनले आफ्ना मातहतका प्रहरीलाई निर्देशन दिएका थिए।

प्रहरीहरू गाउँ त पुगे तर गाउँले कसैले पनि साथ दिएनन्। बरु गाउँलेले अन्तिम संस्कार गर्नै दिएनन्। गाउँ नजिकै भएर बग्ने एउटा सानो नदी किनारमा प्रहरीले ती महिलाको अन्तिम संस्कार गर्ने तयारी गरिरहँदा गाउँलेहरू आएर विरोध गरेका थिए। त्यसपछि रामघाटमा लगेर उनको अन्तिम संस्कार गर्नुपरेको थियो।

गाउँका एकजना युवक चन्दन सिंहका अनुसार तिलकधारी एक्लै बस्थे। गाउँलेसँग त्यत्ति धेरै घुलमिल पनि थिएनन्। अनि श्रीमतीको मृत्यु भएपछि उनले कसैलाई पनि थाहा दिएनन्।

चन्दनका अनुसार राजकुमारीको स्वास्थ्य धेरै दिनदेखि बिग्रिरहेको थियो। सोमबार तिलकधारीले उनलाई अस्पताल पुर्‌याएका थिए। तर त्यहाँ भर्ना भने गर्न सकेनन्।

‘चन्दनसँग कुनै फोन थिएन। जब राजकुमारीको मृत्यु भयो अनि एम्बुलेन्सले उनको शव घरसम्म पुर्‌याइदियो। त्यो बेला करिब ११ बजेको थियो। कोरोनाको कारण गाउँका सबै मानिस घरभित्रै थिए। त्यसैले कसैलाई पनि थाहा हुन सकेन।’

उनका अनुसार त्यसपछि तिलकधारीले श्रीमतीको शव साइकलमा राखेर लैंजाँदै थिए। त्यही बेला सडकमा साइकल ढल्यो। गाउँलेले त्यो देखेपछि अन्तिम संस्कारको लागि मदत गर्छौं भने र त्यही नदी किनारमा शव जलाउने तयारी पनि गरे। तर छिमेकी गाउँलेले बिरोध गर्न थाले।

तर स्थानीय पत्रकार तथा त्यहाँका प्रहरी अधिकारीहरूका अनुसार प्रहरी पुग्दासम्म गाउँले कोही पनि सहयोगका लागि अघि सरेका थिएनन्। बिबिसीबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *