विराटनगरको विराट अस्पतालमा ५ दिनमै ७६ कोरोना संक्रमित भर्ना

हेल्थपोस्ट नेपाल

विराटनगरस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि प्रदेश १ सरकारले अनुमति दिएको पाँच दिन नबित्दै ७६ संक्रमित भर्ना भएका छन्।

अस्पतालमा ५८ जना कोरोना संक्रमितहरु वार्डमा भर्ना भएका छन् भने १८ जना आइसीयुमा छन्।

अस्पतालका मेडिकल अफिसर स्वस्तिकराज कोइरालाका अनुसार १०० बेडको अस्पतालमा अब जम्मा २४ शैया खाली छन्। यी बेड पनि केही दिनमै भरिने उनले बताए।

अस्पताल वार्डमा ६० शय्या रहेका छन् भने २२ वटा आईसीयु शय्या रहेका छन्।

संक्रमण बढ्दै गए शय्या थप्ने योजना रहेको अस्पतालले जनाएको छ। अस्पतालमा हरेक दिन १० देखि १२ जना बिरामी भर्ना भइरहेका छन् भने भारतीय सीमानजिकै रहेका कारण संक्रमित र भर्ना हुन आउनेको संख्या अझ बढ्दै जाने कोइराला बताउँछन्।

‘अस्पतालमा मात्र नभई घरमै अक्सिजन लगाएर थुप्रै मानिसहरु बसिरहेका छन्। अस्पतालमा ठाउँ नभएका कारण हामीले उनीहरुलाई कन्सल्ट गरेर घरमै अक्सिजन प्रयोग गरेर बस्न आग्रह गरेका छौं’,’ उनले भने।

पहिलेभन्दा हालको स्थिति भयावह रहेको उनी बताउँछन्।

‘यो समय एकदम डरलाग्दो छ। के हुन्छ भन्न नै सकिँदैन। साना उमेरका बालबालिका तथा युवाहरु पनि सिकिस्त अवस्थामा छन्। उनीहरुलाई पनि अक्सिजनको सहायतामा राखिरहेका छौं,’ कोइरालाले भने।

उनका अनुसार पहिलेको कोरोना भाइरसले युवा तथा बालबालिकाहरुलाई केही असर गरेको थिएन। अहिले सबैजसो व्यक्तिहरुलाई अक्सिजनको सहारा चाहिएको छ।

हाल अस्पतालमा संक्रमित विरामीहरुमा ८० प्रतिशतलाई अक्सिजनको सहायताबाट उपचार गरिएको उनले बताए।

यो संगै विरामी कतिबेला कस्तो अवस्थामा पुग्छ भन्नै नसकिने उनको भनाइ छ।

‘पहिले धेरै बिरामी निको भएर जाने गरेका थिए भने हाल अक्सिजनको मात्रा ९४ भएका बिरामी केही समयमा ७५ सम्म पनि पुग्न सक्ने सम्भावना हुन्छ। निको भयो भनेर सोचेको विरामीलाई पनि एक्कासी ज्वरो तथा अन्य समस्या आएर सिकिस्त हुने अवस्था रहेको छ,’ उनी भन्छन्।

हालको स्थिति एकदमै डरलाग्दो भएका कारण कसैले पनि लापरवाही नगर्न उनले सुझाए।

हालको म्युटेन्ट भाइरसको चपेटामा खोप लगाएका व्यक्तिहरु पनि अछुतो नरहेको उनले बताए।

‘कसैले पनि दुवै मात्रा खोप लगाएको छ भनी हेलचेक्राईँ नगरौं। हाम्रो अस्पतालमा पहिलो र दोस्रो मात्रा लगाएका दुवै किसिमका विरामी भर्ना छन्। १० प्रतिशत दुबै मात्रा खोप लगाएका र १५ प्रतिशत जति पहिलो मात्रा मात्र लगाएका व्यक्तिहरु भर्ना भएका छन्,’ उनले भने।

खोप लगाउनेहरुलाई पनि निमोनिया, ज्वरो तथा कमजोरी देखिएको छ भने अक्सिजन लगाउनुपर्ने अवस्थाका विरामीहरु पनि भएको उनी बताउँछन्।

यो दोस्रो लहरमा कुनै औषधिले पनि काम नगर्ने हुनाले बिरामीहरुलाई बचाउन मुस्किल हुने उनी बताउँछन्। पहिले प्रयोग गरेका उपचारका विधिले जम्मा २० देखि ३० प्रतिशतलाई मात्र असर गरेको कोइराला बताउँछन्।

धेरै जसो महिलाहरुमा गम्भीर संक्रमण देखिएको उनी बताउँछन्।

सुरुमा महिलाहरुमा झाडापखाला लाग्ने, वाकवाकी हुने, जिउ कमजोर हुने, दुख्ने समस्या देखिएको छ। यस्ता लक्षण देखाएको ४÷५ दिनपछि ज्वरो आउने र अस्पतालमा भर्ना हुन आउँदा निमोनिया देखिइसकेको हुने गरेको छ।

त्यस्तै पुरुषमा भने सुरुमा थकान हुने, टाउको दुख्नेजस्ता लक्षण देखिएपछि ज्वरो आउने गरेको छ।

भारतबाट आएका विरामीहरु पनि विराट अस्पतालमा उपचार गराइरहेका छन्। यदि सिमानाबाट उस्तै रुपमा मानिसहरु आइरहे भने नाका नजिक भएका अस्पतालहरु कुनैले पनि विरामी थेग्न नसक्ने उनी बताउँछन्।

‘जबसम्म केही समयका लागि लकडाउन गरेर नाकामा मानिसहरु रोकिँदैन, तबसम्म अस्पतालमा विरामी राख्न सक्ने अवस्था हुन्न,’ उनले भने।

एक जना बिरामीलाई निको हुन कम्तिमा १० देखि १४ दिन लाग्छ। ‘उसलाई निको नबनाई फर्काउन मिल्दैन। विरामीको संख्या बढ्दै गए अस्पतालमा शय्या अभाव हुँदै जान्छ भने अक्सिजनको मात्रा पनि पु¥याउन मुस्किल हुन्छ,’ उनी भन्छन्।

व्यवस्थित रुपमा निषेधाज्ञा तथा लकडाउन पालना भए अस्पतालमा आउने विरामीको चापदेखि व्यवस्थापनमा पनि मद्धत पुग्ने उनको भनाइ छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *