‘होम आइसोलेशन बसेकाले एन्टिबायोटिकको प्रयोग नगरौं, पछि नसाबाट कडा औषधी दिनुपर्ने हुनसक्छ’

हेल्थपोस्ट नेपाल

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले एन्टिबायोटिकको प्रयोग नगर्ने चिकित्सकले सुझाव दिएका छन्।

छाती रोग विशेषज्ञ डा. राजु पंगेनीले सामाजिक सञ्जालमा एन्टिबायोटिकले पछि घातक रूप लिने जानकारी दिएका छन्।

‘याद राखौ, होम आइसोलेशनमा बस्ने कसैलाई पनि एन्टिबायोटिक चाहिँदैन,’ डा. पंगेनीले भनेका छन्, ‘वार्डमा भर्ना भएका धेरै कम र आइसियुमा भर्ना हुने केही लाई मात्र एन्टिबायोटिक चाहिन्छ।’

‘कोभिडका बिरामीका छातीमा देखिने दाग भाइरल निमोनिया हो। तर, यसमा एन्टिबायोटिकले केही फाइदा गर्दैन,’ उनी भन्छन्।

‘जथाभावी एन्टिबायोटिकको प्रयोग गर्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नुु जस्तै हो, पछि साच्चिकै आवश्यक परेको बेला यिनले तपाईंलाई धोका दिनेछन्,’ डा. पंगेनी भन्छन्, ‘नचाहिने बेला एन्टिबायोटिक दिइयो भने पछि बहु–प्रतिरोधी ब्याक्टेरियाका कारण साधारण इन्फेक्सन भएकालाई पनि खाने एन्टिबायोटिकले काम नगरेर भर्ना गरेरै नसाबाट कडा औषधी दिनुपर्ने अवस्था आउन सक्छ।’

‘उसै त विगत चार दसकदेखि नयाँ ग्रुपका एन्टिबायोटिक आविष्कार हुन छाडेका छन। हाल भएका पुरानै औषधीहरूको समुचित प्रयोग गरेनौं भने यो महामारीपछि ‘antibiotic resistance’ को अर्को डरलाग्दो महामारीको सामना गर्नुपर्नेछ,’ उनी थप्छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *