भारतमा अनियन्त्रित कोरोना संक्रमण : सारा विश्वका लागि खतरा

हेल्थपोस्ट नेपाल

अनियन्त्रित हुँदै गइरहेको कोरोना भाइरससँगको लडाईंमा फरक फरक विश्व परिदृश्य देखा परेका छन्।

अघिल्लो वर्ष कोरोना महामारीसँगै बन्न सुरु गरेको भ्याक्सिनयो वर्षको सुरुवातमै केही देशका मानिसले लगाउन पाए।

अमेरिका अनि बेलायतजस्ता देशका मानिसले लामो समयपछि आफन्तहरूसँग आफ्नो प्रेमिल अंगालो साट्न पाएका छन्। तर, यही बेला भारतमा मानिस बेड नपाएर छटपटाइरहेका छन्।

अस्पतालहरूमा दिनदिनै अक्सिजनको कमी भइरहेको छ। बेडको अभाव छ। बिरामीलाई अस्पतालले फर्काउनुपर्ने अवस्था आइसकेको छ।

संक्रमण र मृत्युको संख्या दिनदिनै बढिरहेको छ। र, विस्तारै अब भारतको यो संकटले सारा विश्वलाई चिन्तित बनाउन थालेको छ।

भाइरस जति धेरै मानिसको शरीरमा पस्न सफल हुन्छ उसले त्यति नै धेरै रुपहरू फेर्नसक्छ। र त्यो नयाँ नयाँ प्रजातिमा रुपान्तरण भइरहन्छ। क्षण क्षणमा फेरिइरहने भाइरसका यी रुपहरूले खोप निर्माणमा जुटेका बैज्ञानिकहरूलाई समेत झस्काउन थालेको छ। र, सारा विश्वलाई डर यो छ कि अहिले कुनै पनि देशले भोगिरहेको यो कोरोना संकट निकट भविष्यमै फेरि सारा दुनियाका लागि कहर बन्नसक्छ।

‘मलाई यही चिन्ताले सताइरहेको छ कि, अहिले हामीले भारतलाई सहयोग गरेनौं भने सायद यो सारा विश्वभरि नै विष्फोट हुनसक्छ’ ब्राउन विश्वविद्यालयका पब्लिक हेल्थका डिन डा. अनिस झाले भने।

किन भारतको महामारी सारा विश्वका लागि समस्या बनिरहेको छ र यो महामारीलाई सहकार्यसहितको सम्बोधन जरुरी छ?

अहिले केही राष्ट्रहरूले भारतलाई सहयोग पठाउन पहल गरिरहेका छन्।

अमेरिकाले केही अक्सिजन डिभाइसहरू पठाएको छ। जसले बाहिर (हावा) बाटै अक्सिजन तानेर जम्मा गर्नसक्छ। यसैसाता बेलायत, इटली र जर्मनलगायतका देशले थप मेडिकल सामग्री सहयोग गर्ने बाचा गरेका छन्।

भेन्टिलेटरसहितका मेडिकल सामग्रीहरू रुसले बिमानमार्फत भारत पठाइसकेको छ।

अहिलेको तत्कालीन आवश्यकता भनेको एकदमै गम्भिर बिरामीहरूको जीवन रक्षा गर्नु हो। भ्याक्सिनले भाइरसको फैलावटमा केही कमी आउला भन्ने अन्दाज थियो। तर बिडम्वना त के भयो भने विश्वको सबैभन्दा धेरै भ्याक्सिन उत्पादन गर्ने भारत अहिले आफै भ्याक्सिनको अभाव झेलिरहेको छ। उत्पादक कम्पनीहरूसँग अब भ्याक्सिन बनाउनका लागि कच्चा पदार्थ छैन।

अहिले पश्चिमा राष्ट्रहरूमाथि यो आरोप छ कि उनीहरूले भ्याक्सिन थुपारेर, संग्रह गरेर राखेका छन्। तर बेलायतका स्वास्थ्य सचिव म्याट् हान्कोकले भनेका छन्– बेलायतसँग अन्यत्र पठाउनका लागि थुपारेर राखिएको त्यस्तो कुनै भ्याक्सिन छैन।

यसैसाता अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका थिए र उनले भारतलाई चाँडै नै भ्याक्सिन र कच्चा पदार्थ पनि दिने प्रतिवद्धता जनाएका थिए। त्यसअघि अमेरिकाले आफूसँग भएको एस्ट्राजेनेकाको भ्याक्सिनको छ अर्ब डोज अरु देशलाई पनि दिने घोषणा गरेको थियो। ह्वाइट हाउसले आगामी महिनादेखि अन्य देशमा भ्याक्सिन पठाउन सुरु गरिने जनाएको छ।

‘विश्वका सबै देशहरूमा कोरोनाको खोप समान हुनुपर्छ’ अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउसीले भने ‘किनकी हामी सबै साथै छौं। यो एकआपसमा जोडिएको विश्व हो। यहाँ हामी हरेक देशले एकअर्काप्रति दायित्व लिनुपर्छ।’

भारतले यो महामारी नियन्त्रण गर्न सकेन भने उससँग जोडिएका छिमेकी देशको हालत झन् के होला? उनीहरूसँग न कुनै भ्याक्सिन छ न कुनै गतिलो र भरपर्दो स्वास्थ्य प्रणाली नै छ। यस्तो बेलामा भारत एउटा मौन साक्षीमात्रै हुनसक्छ।

तर, जब भारतले भ्याक्सिन बनाउन थाल्छ र उसले विश्वका अरु देशलाई पनि भ्याक्सिन बाँड्न थाल्नेछ अनि भाइरसको फैलावटलाई केही नियन्त्रण गर्न सकिनेछ। त्यसैले पनि भारतलाई अहिले पूरै विश्वकै सहयोगको खाँचो छ।

भेरिअन्ट र भ्याक्सिन

पहिलोपटक चीनको वुहान सहरमा पत्ता लागेको कोरोना भाइरसले यो बीचमा धेरै रुप फेरिसकेको छ। विश्वभरि नै अनियन्त्रित भएर फैलिएको यो भाइरस मानिस मानिसमा सर्दै गयो र रुप पनि फेर्दै गयो। यसपालि निकै नौलो रुपमा देखिएको छ।

गत डिसेम्बरमा बैज्ञानिकहरूले भारतमा त्यो भाइरसको एउटा नयाँ प्रजाति पत्ता लगाएका थिए। त्यो भारतीय भेरिअन्टलाई बि.१.६७१ भनिएको छ।

इन्स्टिच्यु अफ जेनोमिक एन्ड इन्टग्रेटिभ बायोलोजीका निर्देशक अनुराग अग्रवालका अनुसार भारतमा संक्रमण बढाउनमा यो भाइरसको भूमिका छ।

‘महाराष्ट्रमा हामीले देख्यौं कि यो प्रजातिको भाइरसको फैलावट निकै गतिमा बढिरेहको थियो। यो निकै घातक पनि थियो।’ उनले भने ‘त्यो दिल्लीमा पनि पुग्यो र त्यस्तैखाले घातक संक्रमण फैलियो।’

तर दिल्लीमा सुरुमा भने बेलायती प्रजातिको भाइरस (बि.१.१.७) देखिएको थियो।

अमेरिकी संक्रामक रोग विशेषज्ञ फाउसीका अनुसार भारतीय भेरिअन्टलाई उसैले उत्पादन गरेको कोभ्याक्सले केही कम प्रभावी बनाउनसक्छ।

‘भ्याक्सिनले धेरै गर्नसक्छ। त्यो धेरै धेरै एन्डिडोट हो’ उनले भने ‘तर, अहिले स्पष्ट विश्लेषण गर्ने खालका डाटाहरू हामीलाई प्राप्त भएको छैन।’

त्यस्तै दक्षिण अफ्रिका तथा ब्राजिलमा देखिएका भाइरसका भेरिअन्टहरूलाई अहिले बनिरहेका खोपहरूले केही रोक्न सक्ने त भनिएको छ तर पनि त्यसको कुनै ग्यारेन्टी भने छैन।

फाइजर/बायो एन टेक, मोडेर्ना, जोन्सन एन्ड जोन्सनजस्ता खोप निर्माता कम्पनीहरूले नयाँ भाइरसको नयाँ भेरिअन्टलाई पनि खोपले काम गर्ने दाबी गरिरहेका छन्।

तर, त्यसको परिणाम कति देशमा कति धेरै मानिसलाई खोप दिइएको छ भन्ने तथ्याङकमा भर पर्छ। यसको मतलव अहिलेका लागि कुनै पनि देश सुरक्षित छैनन् भन्ने हो। जुनसुकै देशमा कुनै पनि बेला भाइरसको संक्रमण फैलिनसक्छ र त्यो अनियन्त्रित हुनसक्छ।

भ्याक्सिन उत्पादनका लागि भारतलाई सहयोग

एकातिर भाइरसका नयाँ नयाँ प्रजातिहरू अनि सिङ्गो भारतलाई भयावह बनाइरहेको कोरोनाको दोस्रो लहर। तत्लका भारतमा होला तर, यो पूरै विश्वका लागि एउटा ठूलो समस्या हो। विश्वका लागि ठूलो भय हो।

विश्वका न्यून आय भएका देशहरूमा खोपको लागि सहयोगको पहल गर्ने कोभ्याक्सलाई भारत आफैले २० करोड डोज भ्याक्सिन दिने प्रतिवद्धता जनाएको थियो। त्यो लगभग ९२ देशमा पुर्‌याउने लक्ष कोभ्याक्सको छ।

तर अहिले एकदमै भयाभह गतिमा फैलिरहेको कोरोनाको दोस्रो लहरका कारण भारत आफ्नै नागरिकलाई भ्याक्सिनका लागि पहिलो प्राथमिकतामा राखेको छ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको २ करोड ८० लाख मात्रा कोभ्याक्सलाई दिइसकेको छ। अझै ९० लाख डोज दिने भनिएको छ।

भारतले आफ्ना छिमेकी देशलाई पनि सुरुमा कोभिसिल्ड भ्याक्सिन ‘उपहार’ दिएको थियो।

कोरोनाको दोस्रो लहरको संकट बेहोर्नुअघि भारत यो संक्रमण अन्त्यका लागि लगभग विश्वस्तरीय नेतृत्व गर्न अघि बढ्ने दाउमा थियो। ‘भ्याक्सिन’ उपहार उसको एउटा कुटनीति थियो।

मोदीले विश्वका गरिव देशका लागि कोभ्याक्समा करोडौं डोज भ्याक्सिन दिने प्रतिवद्धता गर्नु अनि ‘उपहार’ भन्दै छिमेकीलाई भ्याक्सिन बाँड्ने उदारतालाई अहिले सारा भारतीयले श्रापिरहेका छन्।

त्यो बेला मोदीले भनेका थिए ‘छिमेक सुरक्षित नभए हामी पनि सुरक्षित हुन सक्दैनौं।’

र, अहिले मोदीकै सत्तारुढ पार्टीका कारण भारतमा कोरोना फैलिएको आरोप भारतीयको छ। त्यसैको परिणाम हो अहिले फेसबुक अनि ट्विटरजस्ता सामाजिक सन्जालमा मोदीको राजीनामा माग्नेहरू बढेका छन्।

उनको हिन्दुवादी पार्टीले यो बीचमा थुप्रै राजनीतिक सभासम्मेलनहरू गर्‌यो। लाखौं मानिस जुटाएर र्‌याली गर्‌यो।

हिन्दुका नाममा लाखौ मानिस जुटाएर धेरै ‘कुम्भ’ मेलाहरू गरिए। ती कोरोनाका फैलावटका लागि मुख्य आधार भए।

अहिले भारतले भ्याक्सिन निर्यात रोकेको छ। प्रधानमन्त्री मोदीले यो संकटलाई मध्यनजर गर्दै १८ वर्षदेखि माथिका सबै नागरिकलाई भ्याक्सिन दिने घोषणा गरेका छन् र देशव्यापी रुपमा त्यसलाई अघि बढाउन आदेश दिएका छन्।

मे १ देखि भ्याक्सिन लगाउनका लागि त्यहाँ ‘रजिस्ट्रेशन’को काम सुरु भइसकेको छ।

त्यसका लागि भ्याक्सिन अब सरकारको अधिनमा मात्रै रहेन व्यक्त्ति आफैले किनेर पनि लगाउने सक्ने भएका छन्। निजी व्यवसायीहरूले पनि कोरोनाको भ्याक्सिन बेच्न सक्नेछन् तर आफ्ना नागरिकका लागि मात्रै।

तर अहिले दिनहुँ साढे तीन लाखभन्दा धेरै मानिस संक्रमित भइरहेका छन्। ३ हजारभन्दा धेरै मानिसको मृत्यु भइरहेको छ। र, यति बेला सारा दुनियाको सहयोग भारतका लागि आवश्यक छ।

सुरुमा भारत कोरोना भ्याक्सिनका लागि निकै लचिलो भएको थियो। विश्वका सबैभन्दा धेरै भ्याक्सिन अहिले पनि भारतमै उत्पादन हुनसक्छ।

गत वर्षको अन्त्यतिर विश्व व्यापार संगठनको एउटा बैठकमा भारत र दक्षिण अफ्रिकाले एउटा प्रस्ताव राखेका थिए कि– गरिव र न्यून आय भएका देशहरूलाई भ्याक्सिन पुर्‌याउनका लागि अब भ्याक्सिन उत्पादन देशहरूले त्यसको बौद्धिक सम्पत्ति(खोप बनाउने शुत्र) माथि अधिकार कायम गर्नुहुन्न।

त्यसमा अरु विकसित देशहरूले सहमति जनाएनन्। बेलायत, स्विटजरल्यान्ड, युरोपियन युनियन, अमेरिकाजस्ता देशहरूले बरु भ्याक्सिनको थुप्रो लगाए र बाहिर जानसमेत दिएनन्।

ती देशहरूले भ्याक्सिन बनाउने शुत्र अरु देशलाई दिन्छन् भन्ने आशा त्यत्तिकै हरायो।

र, अहिले भारतमात्रै होइन सारा विश्व फेरि कोरोनाको अर्को लहरको खतरामा बाँचिरहेको छ। एजेन्सीहरूकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *