उपत्यकासहितका कोरोना ‘हटस्पट’ हरुमा निषेधाज्ञा, के गर्न पाइने, के नपाईने?

देशभर कोरोना संक्रमणको दोस्रो लहर व्यापक रुपमा फैलन थालेपछि संघ तथा स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेका छन्।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको प्रयासका लागि उपत्यकामा बैशाख १६, बिहीवार बिहानबाट १५ दिनका लागि निषेधाज्ञा कार्यान्वयन हुने भएको छ।

त्यस्तै भारतसँग सीमा जोडिएको पर्सा जिल्लाले पनि बिहीवारबाटै एक हप्ते निषेधाज्ञा लागू गर्दैछ भने धेरै संक्रमण देखिएको बाँके जिल्लामा वैशाख १२ गतेदेखि नै निषेधाज्ञा लागू भइसकेको छ।

कास्की जिल्लामा वैशाख १५ गते बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा लागू गरिएसँगै मानिसहरुको भीडभाड र संक्रमण कम हुने अपेक्षा गरिएको छ।

सरकारले निषेधाज्ञाको अधिकार सबै जिल्लाका प्रशासन कार्यालयलाई दिएसँगै अधिकांश ‘हटस्पट’ हरुमा लागू भइसकेको छ भने केही स्थानमा लागू गर्ने घोषणा भएका छन्।

मानिसहरुले निषेधाज्ञा अवज्ञा गरे वा संक्रमण दर कम नभए फेरि पनि थपिने सम्भावना रहन्छ।

जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका निर्देशिका पालना गर्नु जरुरी छ।

नियम पालना नगर्नेलाई कस्तो सजाय?

यदि नियम पालना नभए वा उल्लङघन भए सङ्क्रामक रोग ऐन, २०२० अनुसार उक्त ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ।

उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लङघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय गर्न सक्नेछन्।

सरकारले निर्देशन दिएअनुसार निषेधाज्ञामा के गर्न पाइन्छ?

–व्रतबन्ध तथा विवाह आयोजनाका लागि १५ जनासम्म सहभागी ९दुलहा र दुलही पक्षसहित० ले ब्यानरसहित दुई वटासम्म सवारीसाधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्ला आवतजावत गर्न ९पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए अनुमति लिनुपर्ने०।

–चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिएर विवाह अथवा व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कन।

–अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न।

–एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरियर एवम् डाँक सेवा, ब्याङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारन्टीन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्न।

–सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न।

–विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सञ्चालन गर्न।

–अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका लागि प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सवारी सञ्चालन गर्न।

–खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म।

–डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म

–बैंक तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र बैंकबाट इजाजतप्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न।

–सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा सूचना सङ्कलन तथा सम्प्रेषणका लागि आवतजावत गर्न।

के गर्न पाइँदैन?

–सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न।

–अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन।

–अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन।

–खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय