वीर अस्पतालमा कोरोना खोप दुरुपयोग भएको भन्दै स्वास्थ्य मन्त्रालयमा उजुरी
कोरोनाविरुद्धको खोप अभियानका क्रममा वीरमा खोपको दुरुपयोग बढेको भन्दै मन्त्रालयमा उजुरी परेको छ ।
दुई जना भ्याक्सिनेटर दोस्रो डोजका लागि राखिएको कोभेसिल्ड र पहिलो डोजका लागि दिइएको भेरोसेल आफूखुसी वितरण गरेको, केही नेपाली र भारतीयलाई हजारौं लिएर खोप बेचेको भन्दै उजुरी परेको हो ।
मन्त्रालय स्रोतका अनुसार भारतीय व्यापारी र फाइनान्सका कर्मचारीलाई कोभेसिल्डको दोस्रो खोप पहिलो डोजभन्दै दिइरहेका छन् ।
उजुरीमा भारतीयसँगै प्रतिडोज प्रतिव्यक्ति २० देखि ३० हजारसम्म असुलेको आरोप छ ।
यसअघि ठूलो संख्यामा भारतीयहरु जहाज चढेर चिनियाँ खोप लगाउँन आएको खबर बाहिरिएको थियो ।
खोप दुरुपयोग गरेको आरोपलागेका कर्मचारीमाथि समायोजनमा बिरामीको प्रमाणपत्र बनाएर सुगम बसेको र वीरमा कार्यरत रहँदा तोकिएको जिम्मेवारी वहन गर्दासमेत मनपरी गरेको उजुरी परेको छ ।
मन्त्रालय स्रोतका अनुसार उजुरीबारे प्रारम्भिक छानविन भइ आरोपीहरुलाई मन्त्रालय झिकाउने तयारी भइरहेको छ ।
यसअघि सरकारी तहकै गंगालाल अस्पतालका प्रयोगशालाका कर्मचारीले निजी क्षेत्रको सुरया नामक डाइनोस्टिकसँग मिलेर परीक्षण नै नगरी पिसिआर नेगेटिभ भएको रिपोर्ट दिने गरेको तथ्य बाहिरिएको थियो ।
सो आधारमा सुरयामाथि कारवाही भएपनि गंगालाल अस्पतालका कर्मचारीमाथि कुनै कारवाही भएको छैन् ।