स्वास्थ्यकर्मीहरुलाई लामो बिदा नलिन स्वास्थ्य मन्त्रालयको अपिल

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई लामो बिदा नलिन निर्देशन गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले यस्तो निर्देशन दिएको हो।

एक सूचना जारी गर्दै केन्द्रले कोरोना संकटमा अस्पताल व्यवस्थापन गर्नका लागि सुझाउँदै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्न सबै अस्पतालहरुलाई आग्रह गरेको छ।

त्यस्तै लामो बिदामा बसेका चिकित्सकलाई तुरुन्त कार्यालयमा हाजिर हुन र खाली दरबन्दी भएका ठाउँमा तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

बढी जनशक्ति आवश्यक भएमा ६ महिनाका लागि करारमा नियुक्ति गर्ने र यी सबैको जानकारी मन्त्रालयमा पठाउन निर्देशन गरिएको छ।

उपलब्ध अस्पताल शय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीको संख्याका आधारमा अस्पतालले बहिरङग सेवा, इलेक्टिभ सर्जरीलगायतका सेवा हाललाई बन्द गर्ने निर्णय गरिएको छ।

तर आकस्मिक सेवा भने सुनिश्चित हुनेछ। त्यस्तै सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *