भत्ता वितरणमा विभेद भएको भन्दै ट्रमा सेन्टरका विभागीय प्रमुख र इन्चार्जको सेवा रोक्ने चेतावनी

हेल्थपोस्ट नेपाल

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक, नर्सलगायतका कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमअनुसार ५० प्रतिशत भत्ता नपाएको भन्दै सेवा नै रोक्ने चेतावनी दिएका छन् ।

कोरोना महामारीका समयमा पनि जोखिम मोलेर महत्वपूर्ण सेवालाई निरन्तरता दिँदै अस्पतालको आम्दानीसमेत नघटेको अवस्थामा भत्ता रोकिएको उनीहरुको गुनासो छ ।

उनीहरुले नियमित भत्ता रोकेर पछिल्ला दिनमा घण्टाको आधारमा भत्ता दिनेगरी भएको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

प्रतिष्ठान नियमअनुसार प्रत्येक महिना ५० प्रतिशत अतिरिक्त भत्ता पाउनुपर्छ ।

नियमअनुसार मुल तलब सरकारले र ५० प्रतिशत भत्ता अस्पतालको आम्दानीबाट दिनुपर्ने व्यवस्था छ ।

तर अस्पताल प्रशासनले आम्दानी घटेको भन्दै अतिरिक्त ड्युटीको घण्टा गणनाका आधारमा मात्रै भत्ता दिने निर्णय गरेको छ ।

जोखिमका समयमा समेत सरकारी निर्देशनअनुसार सिफ्ट बनाएर काम गरेकोमा उक्त अवधिको सेवा विस्तार भत्तालाई घण्टाको हिसाबगरी दिँदा आफूहरुमाथि अन्यायपूर्ण भएको चिकित्सक÷स्वास्थ्यकर्मीको गुनासो छ ।

‘अहिले संस्थाको नियामानुसारको भत्ता नदिने हो भने, उक्त अविधिको कोभिड जोखिम भत्ता पाउनुपर्छ भन्ने हाम्रो भनाई हो’ हस्ताक्षरकर्ता मध्येका एक विभागीय प्रमुखले भने ।

उनीहरुले घण्टाको हिसाबले भत्ता वितरण गर्ने निर्णय तीन दिनभित्र सच्याउन समेत चेतावनी दिएका छन् ।

‘कोभिडको संक्रमण बढ्दै गएको वर्तमान अवस्थालाइृ ध्यानमा राखेर समेत भविष्यमा यस निर्णयबाट सेवा प्रवाहमा हुनसक्ने अवरोध अन्त्यका लागि भत्ता वितरण निर्णय सच्याउन अनुरोध गर्दछौ,’ निमित्त निर्देशकसमक्ष पेश गरिएको पत्रमा उल्लेख छ ।

अस्पताल प्रशासन अस्पतालको आम्दानीलाई उपकरणलगायत अन्य सामाग्री खरिदमा लगाएको आरोप चिकित्सकहरुको छ ।

यसरी ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेमा सेन्टरका ६ वटा विभागका प्रमुख, नर्सिङ प्रशासकसहित विभिन्न युनिट इन्चार्ज समेत हस्ताक्षर गरेका छन् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *