गौरीगञ्जमा लकडाउन, संक्रमित दोब्बरले वृद्धि

हेल्थपोस्ट नेपाल


झापाको दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज १ मा एकसाता लामो लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पछि लकडाउन गरिएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । सो वडामा अहिले सातजना संक्रमित छन् ।

पूर्वमा माइ खोला, पश्चिममा कमल खोला, उत्तरमा शिवसताक्षी नगरपालिकाको सीमा र दक्षिणमा भारतीय सीमालाई चारकिल्ला तोकेर वैशाख २० गतेसम्मका लागि लकडाउन गरिएको वडाध्यक्ष राजवंशीले जानकारी दिए ।

लकडाउन अवधिसम्म अत्यावश्यक खाद्यान्न र औषधि दिउँसो ३ बजेदेखि ६ बजेसम्म किन्न पाउने र स्थानीय बजारहरू पूर्णरूपमा बन्द गर्ने निर्णय भएको वडाध्यक्ष राजवंशीले बताए ।

भारतसँग सीमाना जोडिएको वडा भएकाले बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गरी सीमामा आवतजावत पूर्णरूपमा रोक लगाइएको छ । सो वडा साविकको सिङ्गो महाभरा गाविस हो ।

महाभरा गाविस गौरीगञ्ज गाउँपालिकामा गाभिएपछि १ नं वडामा रुपान्तरण भएको हो।

झापामा हरेक दुई दिनमा संक्रमितको संख्या दोब्बर भन्दा बढीले बृद्धि भएको छ ।

आइतबार जिल्लाका १८ जना संक्रमित भएकोमा दोब्बर भन्दा बढी ३८ पुगेको छ ।

कोरोनाको पहिलो चरणमा हटस्पट बनेको दमकमा दोस्रो चरणमा पनि सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

दमकमा ७ महिला र ८ पुरुष गरी १५ जनालाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बिर्तामोडमा दुई महिला , दुई पुरुष , मेचीनगरमा एक महिला , तीन पुरुष , भद्रपुरमा दुई पुरुष , कनकाईमा तीन पुरुष , अर्जुनधारामा एक महिला , दुई पुरुष , गौरीगञ्जमा तीन महिला , चार पुरुष र शिवसताक्षीमा एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा दोस्रो लहरमा करिब एक महिनायता कूल १३२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ।

जिल्ला स्वास्थ कार्यालयका अनुसार हालसम्म झापामा कोरोना संक्रमितको संख्या ४ हजार ८१९ पुगेको छ । त्यसमध्ये ४ हजार ५१९ डिस्चार्ज भएका छन् ।

कोरोनाबाट १३२ जनाको मृत्यु भइसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *