भक्तपुरको खोप केन्द्र : ठेलमठेल लाइन र कुपनको अन्योल

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित च्याम्हासिंह जनस्वास्थ्य सेवा केन्द्रमा खोप लिनेहरुको भीड लागेपनि केन्द्र भने अव्यवस्थित रहेको पाइएको छ। बिहानै ६ बजेदेखि लाइन बसे पनि दिउँसो १ बजेसम्म पनि खोप नपाएको गुनासो स्थानीय बासिन्दाले गरेका थिए।

कोरोनाबाट बँच्न खोप लगाइने भनिए पनि केन्द्रमा सामाजिक दूरी अपनाइएको थिएन। प्रहरी परिचालन भए पनि लाइन अस्तव्यस्त देखिन्थ्यो र मानिसहरु ठेलमठेल गरेका देखिन्थे। खोप लगाउन पालो व्यवस्थित गर्न कुपनको व्यवस्था गरिएपनि कुपन नभएकाहरु पनि लाइनमा बसेका थिए।

बिहान ६ बजेदेखि भोको पेटमा लाइनमा बसेका एक स्थानीयले आक्रोश पोखे, ‘साढे १ बजिसक्यो, बिहान आएदेखि घर गएको छैन, खाना नै खाएको छैन, भोको पेटमा खोप लगाउन मिल्छ कि मिल्दैन, केही थाहा छैन, अब आधा घन्टामा पालो आएन भने खोप नै लगाउँदिनँ।’

त्यस्तै स्थानीय मनिष प्रजापतिले खोपको कुपन नपाएको बताए।

जनस्वास्थ्य केन्द्रमा मध्यान्ह साढे १२ बजे हुलमुल थियो। सबै जना लाइनमा उभिएर बसेका थिए। सबै आपसमा कुराकानी गरिरहेका थिए। त्यतिन्जेलसम्म भएको खोप सकिइसकेको थियो। थप डोज आउने आशामा स्थानीय अझै लाइनमा बसिरहेका थिए।

एकैछिनमा त्यहाँका इन्चार्ज रत्नसुन्दर लासिवाले भीड हटाउने प्रयास गर्दै छरिएर बस्न आग्रह गरे। साथै उनले कुपन भएका व्यक्तिहरु लाइनमा नबसीकन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे। माइकिंगबाट कुपन नभएका व्यक्तिहरु लाइनमा नबस्न आग्रह भइरहे पनि इन्चार्ज लासिवाले भने कुपन नभएकाहरु लाइनमा नै बसिरहन भनेका थिए।

यसले स्थानीयमा अन्योल छायो। कुपन नभएकाहरु घर जाने कि लाइनमै बस्ने भन्ने द्विविधामा परे।

भक्तपुर जिल्ला जनस्वास्थ्यका प्रमुख कृष्ण मिजारले १९ वर्ष देखि ५९ वर्षसम्म उमेर समूहलाई मात्र खोप लगाउनेबारे केही सूचना नआएको बताए। उनले यस बारेमा केही घोषणा नभएको र आफूलाई यसबारे थप जानकारी नै नभएको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय