घाटमा जलिरहेका चिताले देखाइरहेछन् कोरोनाको भयावह

हेल्थपोस्ट नेपाल

जीवनमा पहिलो पटक मैले एकैपटक यति धेरै चिताहरू जल्दै गरेको देखेँ। एकैदिन दिल्लीका तीन ठाउँका शवदाह स्थल पुगेँ।

लाग्थ्यो त्यो दु:खले भरिएको निकै पीडादायी ठाउँ हो। त्यहाँ जति पनि शवहरू जलिरहेका थिए, ती सबै कोरोना भाइरसका शिकार थिए।

शनिबार मात्रै दिल्लीका धेरै अस्पतालहरूमा अक्सिजन, आइसियु, भेन्टिलेटर तथा औषधिको खोजीमा भौतारिइरहेका धेरै मानिस भेटेँ।

जीवनको आखिरी सास लिनका छटपटाइरहेका मानिसका आफन्तहरूले बगाएको आँशु देखेँ।

घाटहरूमा मानिस अंगालो हालेर जलेको चिता हेर्दै रुँदै गरेको देखेँ।

जल्नका लागि पर्खिरहेका लासहरू देखेँ। लाग्थ्यो अब मसानघाट पनि निकै साँघुरिइसकेको छ। अनि खुला ठाउँमा चिताहरू बनाइए। जो अघि आउँथ्यो पालो उसैले पाउँथ्यो।

हालका दिनमा दिल्लीमा दिनहुँ ३ सय देखि ४ सय जना कोरोना संक्रमितको मृत्यु हुने गरेको तथ्याङ्क आइरहेको छ।

तर मैले एकघण्टाभित्र एउटै घाटमा एक सयभन्दा धेरै शवहरू जलेको देखेको छु।

सराय काले खानको रिङरोडसँगै जोडिएको एउटा विद्युत शवदाहगृह छ। त्यहाँ एकातिर कैयौं शवहरू जल्दै थिए भने आइरहेका शवहरूको अन्तिम संस्कारको तयारी पनि भइरहेको थियो।

आफन्त, एम्बुलेन्स अनि त्यहाँका कर्मचारीहरूको भीड थियो। एकै समयमा १०-१२ वटा सम्म शव आइरहेका थिए।

अन्तिम संस्कार गराउनका लागि त्यहाँ एकजना पण्डित थिए। उनी यति व्यस्त थिए कि उनलाई एक शब्द अरुसँग बोल्ने फुर्सदसमेत थिएन।

मैंले आफ्नो फोनबाट भिडियो खिच्दै गर्दा त्यहाँको गर्मीले फोन यसरी तातियो कि फोनले कामै गर्न छोड्यो। सोंचे यति बलियो फोन पाँच मिनेटमै तातेर काम गर्न छोड्यो भने यी पण्डित यहाँ कसरी टिकिरहेका छन्?

उनको नजिकै पुगेर सोधें– हरेक घण्टा कति चिता जल्छन्?

मतिर हेर्दै नहेरी उनले जवाफ फर्काए – यहाँ चौबिसैघण्टा चिता जलिरहन्छन्। हामीलाई लास गनेर बस्ने फुर्सद नै हुँदैन।

कैयौ हत्या, दुर्घटना अनि उग्रवादीहरूको आक्रमणका कैयौ रिपोर्टिङ गरेको छु। तर, जीवनमा यो कहालीलाग्दो दृश्यको रिपोर्टिङ अहिलेसम्म गरेको थिइनँ।
हरेक मिनेटमा एम्बुलेन्स अनि शवबाहनहरू ओहोर दोहोर गरिरहेका छन्। मेरो टाउको आफै आफै घुम्न थाल्यो।

एक त सूर्यको चर्को घाम त्यसमाथि त्यहाँ जलिरहेका चिताबाट निस्केको तातो। अनि त्यसैमाथि पिपिई। त्यहाँ केही मिनेट उभिनै पनि निकै गाह्रो थियो।

सायद म धेरै भावुक पनि भइरहेको थिएँ।

केही बेरमा त्यहाँ एकजना अर्का पत्रकार पनि भेटिइन्। उनले भनिन् कि केही पर खुला मैदानमा लासहरू जलाउने ठाउँ बनाइएको छ।

हामी त्यहाँ पनि पुग्यौं। खुल्ला चउरमा धेरै चिताहरू तयारी अवस्थामा थिए। मजदूरहरू अरु पनि चिताहरू बनाउन जुटिरहेका थिए।

त्यही काममा खटिरहेका एकजनाले हामीलाई भने – अब अझ धेरै मानिसको मृत्यु हुनसक्छ। त्यसको तयारी हो।
लोदी रोडको विद्युत शवदाह गृहमा पनि धेरै नै भीड थियो।

त्यहाँ पनि थुप्रै चिताहरू जलिरहेका थिए। आफन्त गुमाएका धेरै मानिस त्यहाँ थिए। चितामा जलिरहेका आफन्तहरू एकअर्कालाई अंगालो हालेर रोइरहेका थिए।

एम्बुलेन्सहरू आउँथे शव ओराल्थे अनि फेरि हुँइकिन्थे। मैले ठ्याक्कै गन्न त भ्याइनँ। तर कम्तीमा २० देखि २५ वटा चिताहरू एकैसाथ दन्किरहेका थिए।

छेउको एक बेन्चमा एकजना युवा मलिन अनुहारमा टोलाइरहेका थिए। कुरा गर्दै जाँदा उनी आफ्नो बुवाको शव कुरिरहेका थिए। कोरोना संक्रमित भएका उनका पितको सोमबार मृत्यु भएको हो।

उनका भाइ अस्पतालबाट बुवाको शव लिएर आउँदै थिए। एकछिनको मौनतापछि उनी रुन थाले। त्यहाँ रहेका अरु मानिसले उनलाई ढाडस दिँदै थिए।

त्यो मसानघाटमा जो आएका थिए ती सबै कोरोनाको शिकार भएका आफन्तहरूलाई अलविदा भन्न आएका थिए।

सायद पीडा सबैको एउटै थियो। अनि एकले अर्काको आँशु बुझ्न सक्थे। जो सुकै होस् त्यहाँ एकले अर्कालाई आँशुले नै हेर्थ्यो। सक्नेले सम्झाउँथ्यो र पीडा थाम्न नसकेर कोही सँगसँगै रोइरहेका हुन्थे।

सीमापुरी घाट अलि अप्ठ्यारो छ। तर पनि त्यहाँ धेरै चिताहरू जलिरहेका देखिन्थे। केही चिता पहिला नै तयार थिए। केही चिता बन्दै थिए।

कतै आफन्त आफैले शव जलाइरहेका थिए। काठ, दाउराको जोहो पनि आफै गरिरहेका थिए।

त्यहाँ एकजना बजरंग दलका एकजना युवा भेटिए।

दश दिनदेखि उनी एम्बुलेन्समा त्यहाँ शव ल्याउने काममा खटिइरहेका थिए। सिख समुदायको एउटा संस्थाले यहाँ केही सुविधाहरू उपलब्ध गराउने प्रयास गरेको थियो। तर संख्या धेरै नै ब९यो।

त्यहाँ शव व्यवस्थामा खटिएका एकजना सिख समुदायका ‘सरदार’का अनुसार त्यहाँ दिनमै १०० भन्दा धेरै शवहरू जलाइन्छ। अब त्यहाँ ठाउँको कमी भइसकेको छ र कैयौ शव फर्काउनु परेको छ। उनका लागि यो अझ दर्दनाक क्षण हो।

लोदी रोडको केही पर मुसलमान समुदायको एक कब्रस्तान छ। त्यहाँ एकजनालाई गाडिदै थियो। नजिकै बटला हाउसको छेउमा रहेको एउटा कब्रस्तानमा भने हालत खराब नै थियो। त्यहाँका एकजना सेवकले बताएअनुसार पहिला दिनमा ३-४वटा खाडलहरू खनिन्थ्यो। अहिले २०-२० खाडल(चिहान) खनिन्छ।

दिल्ली अझ धेरै शव जलाउने ठाउँहरु छन्। म त तीनवटामात्रै घाटहरूमा पुग्न सकेँ। कोरोना संक्रमणको उछाल अनि यसबाट भइरहेको मृत्युको अन्दाज यिनै घाटमा देख्न सकिन्छ।

सरकारले हरेक दिन भन्ने मृत्युको संख्या र घाटहरूमा जल्ने चिताहरूको संख्यामा धेरै नै फरक छ। बिबिसीबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *