भक्तपुर अस्पतालमा ६४ शय्याको आइसोलेसन सञ्चालनमा

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भक्तपुर अस्पतालमा पुनः आइसोलेसन सञ्चालनमा आएको छ। भक्तपुर अस्पतालमा जम्मा ६४ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको हो।

भक्तपुर अस्पतालका मेडिकल  सुपरिटेन्डेन्ट सुमित्रा गौतमले अहिले ६४ शय्याको आइसोलेसन सुरु गरेको जानकारी दिइन्। जसमा ३३ बेड जनरल, २५ बेड हाइ केयर युनिट र ६ बेड आइसियु रहेको गौतमले बताइन्। उनले अस्पतालमा अहिले जम्मा २३ जना संक्रमितहरु रहेकोमा आइसियूमा ४ जना बिरामी रहेको बताइन्। ‘आइसोलेसनका लागि सबै स्वास्थ्यकर्मी तथा सहकर्मीहरु लागिपरेका छौं। कोभिडको संख्या बढदै गएको खण्डमा बेडहरु पनि बढाउँदै र व्यवस्थित गर्दै जानेछौं,’ उनले भनिन्।

सकेसम्म बेड नै बढाउन नपर्ने गरी सबै नागरिकले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित भएर घरमा बस्न पनि उनले नागरिकलाई आग्रह गरिन्।

उनले भक्तपुर अस्पतालमा पिसिआर परीक्षण सुरु गरेदेखि निरन्तर सञ्चालन भइरहेको बताइन्। मेसिनले एकचोटिमा एक सय जनाको परीक्षण गर्न सक्ने उनी बताउँछिन्।

उनले अहिलेसम्म कोरोना संक्रमित सबैको निःशुल्क नै उपचार भइरहेको बताइन्। उनले भनिन्, ‘सकेसम्म निःशुल्क नै परीक्षण हुन्छ।’

सामाजिक विकास मन्त्रालयबाट अस्पतालका लागि मेसिन खरिद गरिएको हो। भक्तपुर अस्पतालको आइसोलेसनमा १९ र आइसियुमा चार गरी जम्मा २३ बिरामी उपचाररत छन्।

भक्तपुर अस्पताललाई कोभिड अस्पताल बनाए पनि बिरामीहरु उपचारबाट बन्चित नहुन् भन्दै अरु सेवा पनि दिइएको गौतमले बताइन्।

भक्तपुर जिल्लामा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ६ सय ६५ रहेको छ। जसमा ३८ जना अस्पताल आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ६ सय २७ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय