झापामा कोरोना संक्रमण बढ्ने खतरा उच्च, प्रशासनको कुरा मान्दैनन् स्थानीय तह

हेल्थपोस्ट नेपाल

कोरोनाको दोस्रो लहर तीव्र भएसँगै झापाबाट भारत आवतजावत गर्ने नाकामा कडाइ गरिएको छ। जिल्ला प्रशासनले सीमा नाकामा कडाइ गरेको हो।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर सीमावर्ती नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। यद्यपि, प्रशासनको उक्त निर्णय व्यवहारमा भने फितलो देखिएको छ। झापाका ठूला सीमानाकाबाट आवतजावत गर्ने क्रम रोकिएको छैन।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संक्रमणको जोखिम बढ्दै गएकाले सीमावर्ती आवतजावतमा  थप कडाइ गरिएको बताए। सीमावर्ती क्षेत्रमा स्थानीय प्रशासनले भारतीय नागरिकको आगमनमा कडाइ गरेको छ। झापाको काँकडभिट्टा, भद्रपुर, केचना, कुञ्जिबारी, गौरीगञ्ज लगायतका सीमावर्ती नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको प्रशासनले छ।

बिना चेकजाँच भइरहेको आगमनलाई रोक्न सुरक्षा निकायले पहल गरिरहेको छ। ७२ घन्टाभित्रको पीसीआर परीक्षणका आधारमा मात्रै भारतीय नागरिकलाई प्रवेश दिइने गरेको प्रजिअ तिम्सिनाले जानकारी दिए। सीमावर्ती क्षेत्रबाट नेपाल भित्रिरहेका नागरिकलाई पनि स्वास्थ्य जाँचपछि मात्रै गन्तव्यमा पठाइने गरेको प्रशासनले दाबी गरे पनि सीमापार गर्ने र सिधै सवारी साधन चढेर अन्यत्र जाने  मानिसको कमी आएको छैन। कुनै पनि सवारी साधनमा मास्क, सेनिटाइजर राखिएको पाइदैन। निर्धारित मापदण्ड पालना गर्नुको सट्टा कोचाकोच यात्रु राखेर सवारीसाधन सञ्चालन गर्ने गरिएको छ। जसका कारण संक्रमण फैलने क्रम उच्च बन्दै गएको छ। सवारी साधन सञ्चालकले स्वास्थ्य प्रोटोकलको ख्याल नगरिदिँदा प्रशासनको टाउको दुखाइ भएको छ।

संक्रमितको संख्या थपिँदै
झापामा कोरोना संक्रमितको संख्या थपिँदै गएको छ। मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। दोस्रो लहर सुरु भएयता झापामा  चार जनाको मृत्यु  भइसकेको छ। आइतबार मात्रै  कमल गाउँँपालिका ५ मंगलबारेकी ६० वर्षीया इन्द्रकुमारी राईको मृत्यु भएको हो। इन्द्रकुमारी कांग्रेस बैकल्पिक केन्द्रीय सदस्य दिलिप राईकी श्रीमती हुन्।  मृत्युपछि  उनको रिपोर्ट पोजेटिभ आएको थियोे । यसअघि भद्रपुर, दमक र कनकाइ नगरपालिकामा एक–एक जनाको मृत्यु भइसकेको छ । झापामा  नियमित रुपमा भइरहेको परीक्षणपछि संक्रमितको संख्या थपिने क्रम बढेको हो।

आइतबार  झापामा १८ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरू सबै जनाको पीसीआर विधिबाट परीक्षण गरिएको हो ।

थपिएका नयाँ संक्रमितसँगै झापामा सक्रिय संक्रमितको संख्या १२९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन जीवन चौलागाईंले जानकारी दिए।

कोरोना संक्रमण सुरु भएयता झापामा हालसम्म १३० जनाले ज्यान गुमाइसकेका छन्।

बालबालिकामा संक्रमण
कोरोनाको दोस्रो लहरले बालबालिका पनि नराम्ररी प्रभावित भएका छन्।

बिर्तामोड नगरपालिका  ४ का अढाइ  महिने बालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । बालक संक्रमित भए पनि उनका बाबुआमा भने स्वस्थ छन्। केही दिनअघि बिर्तामोडकै १४ वर्षमुनिका अर्का एक बालकलाई पनि संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका दीपक सापकोटाले बताए। नेपालमा पछिल्लो समय कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका छन्। झापामा दोस्रो लहरमा करिब एक महिनायता कूल १११ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १८ वर्ष मुनिका ९ जना छन्। पहिलो लहरमा वृद्धवृद्धालाई संक्रमणको जोखिम रहेकोमा अहिले बालबालिकाहरुलाई संक्रमण बढी देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका फोकलपर्सन जीवन चौलागाईंले बताए। उनले आफ्ना बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन आग्रह गरे।

बालबालिकाहरुलाई कोरोना संक्रमण देखिन थालेपछि सहरी क्षेत्रका विद्यालय वैशाख ८ गतेदेखि बन्द छन्। झापाको बिर्तामोड , मेचीनगर र दमक क्षेत्रका विद्यालयमा प्रत्यक्ष पठनपाठन बन्द भएको हो। १८ वर्ष मुनिका बालबालिकाहरुलाई संक्रमणको जोखिम भएका कारण भीडभाडमा जान नदिन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। अहिले अस्पतालको ओपिडीमा उपचारका लागि बालबालिकामध्ये ५० प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकहरुको भनाइ छ। तीन सातायता ‘सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ जस्ता समस्या भएका धेरै बालबालिका अस्पतालमा बढी आउन थालेको उनीहरु बताउँछन्।

भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाए पनि घरबाहिर निस्कने अभिभावक तथा परिवारका सदस्यहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा बालबालिकामा जोखिम बढेको चिकित्सकहरु बताउँछन्।

संक्रमण दर यही अनुपातमा बढ्दै जाने हो भने बालबालिकाको उपचार व्यवस्थापनमा जटिल समस्या हुने उनीहरूको भनाइ छ। कोरोना संक्रमित बालबालिकामध्ये कतिपयमा ‘मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम इन चिल्ड्रेन’ जस्तो जटिल स्वास्थ्य समस्या देखिएको पाइएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित बालबालिकामा ज्वरो आउने, पेट दुख्ने, शरीरमा डाबर देखिने, श्वासप्रश्वासमा समस्या हुने, झाडापखाला लाग्नेजस्ता लक्षण पाइएको चिकित्सकहरु बताउँछन्। तर, यी लक्षण गर्मीयाममा संक्रामक रोग लाग्दासमेत देखापर्ने हुँदा अभिभावकहरु अन्योलमा छन्।

१५ पालिकाका प्रमुख र प्रशासनको बैठक
जिल्लामा कोरोनाको जोखिम बढेपछि जिल्लाका १५ वटै पालिका प्रमुख, जिल्ला प्रशासन  र डीसीसीएसीको संयुक्त बैठक सुरु भएको छ। पालिकास्तरमा संक्रमणबाट जोगिन तयारी कम भएको गुनासो बढेपछि यस्तो बैठक बसेको हो।

डीसीसीएमसी, जिल्ला प्रशासन र प्रहरीको अनुरोधलाई पालिकाले खासै कार्यान्वयनमा नल्याएपछि बैठक बसेको डीसीसीएमसीका एक सदस्यले बताए। ‘पालिका प्रमुखहरुले छोटे राजाको व्यवहार देखाउनु भयो,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनको अनुरोधलाई पालिकाले खासै वास्ता नगरेपछि बैठक बस्नु परेको हो।’  संक्रमणबाट जोगिन र जोगाउनका लागि आवश्यक समन्वय गर्ने र सबै पक्ष मिलेर अघि बढ्न तथा जोखिमसँग एक भएर लड्ने रणनीति तयार गर्न बैठक बसेको नेपाल रेडक्रस झापा सभापति लोकराज ढकालले बताए।

अस्पताल सञ्चालकसँग बैठक बस्दै 
डीसीसीएमसीको बैठकलगत्तै जिल्लामा सञ्चालित निजी अस्पताल सञ्चालकसँग बैठक बस्ने जनाइएको छ। संक्रमणको बेला रोगका बिरामीको उपचारमा कमी आउन नदिन र कुनै पनि बहानामा बिरामी फर्काउने अवस्थाको अन्त्य गर्न बैठक बस्ने तयारी भएको डीसीसीएमसीका सदस्यसमेत रहेका ढकालले जानकारी दिए।

उपचारमा निजी अस्पतालले पुर्‍याउन सक्ने योगदान र आवश्यकता अनुसार भेन्टिलेटर तयारी अवस्थामा राख्न पनि बैठक बस्न लागेको हो। पहिलो चरणको कोरोना संक्रमणका बेला अस्पतालहरुले बिरामी नलिएको, दुःख दिएको र कतिपय बिरामीको उपचार नपाइ मृत्यु भएको गुनासो सार्वजनिक भएको थियो। त्यस्तो अवस्था दोहोरिन नदिन निजी अस्पताल सञ्चालकसँग बैठक बस्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *