सबै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख १२ गते १७:४६

स्वास्थ्य मन्त्रालयले सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्य संस्था सबैलाई आफूसँग भएका सेवा प्रयोग गर्न निर्देशन दिएको छ।

वैशाख ६ गते राजपत्रमा प्रकाशन गरिएको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेशको १६ (घ) मा उल्लेख भए बमोजिम सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्य संस्था जनशक्ति, औजार, उपकरण तथा भवनहरु स्वास्थ्य सेवाका लागि प्रयोग गर्न लगाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

मन्त्रालयले सामाजिक विकास मन्त्रालयहरुसँग समन्वय गरी यी सबैको व्यवस्था मिलाउन स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ।

त्यस्तै विभागलाई ठूला अक्सिजन सिलिन्डर र भर्न मिल्ने कन्टेनरसहितका १०० वटा साना सिलिन्डर यथासिघ्र खरिद गर्न पनि निर्देशन दिएको छ।

तत्काल २० हजार ठूला सिलिन्डरहरु ल्याउन अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई लेखिपठाउने तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पठाएको माइक्रोकन्टेनमेन्ट स्वीकृत गर्ने निर्णय भएको छ।

त्यस्तै २०० शैया भएका अस्पतालहरुसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गर्ने, १५ शैया भएका अस्पतालहरुसँग् स्थानीय तहले सम्झौता गर्ने र प्रदेश सामाजिक मन्त्रालयले २०० शैयासम्मका अस्पतालहरुमा आवश्यकता अनुसार सम्झौता गर्दै जाने र कोभिड–१९ को सेवा प्रदान गर्न निर्देशन दिइएको छ।

सबै अस्पतालहरुले कोभिड–१९ का बिरामीहरुका लागि आकस्मिक सेवाको व्यवस्था मिलाउने, सूचीकृत कोरोना अस्पतालमा पठाउनु परे सेवा उपलब्धताको एकिन गरेर मात्र पठाउने व्यवस्था गर्न निर्देशन दिइएको छ। सबै संक्रमितहरुको निःशुल्क वा सशुल्क उपचार गरेपछि अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयको वेवसाइटमा जानकारी पठाउन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय