सरकारले भन्यो-तत्काल लकडाउन गर्ने योजना छैन

कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा बढ्दै जाँदा ‘लकडाउन’ को आशंका भइरहेका बेला सरकारले भने तत्काल त्यस्तो योजना नरहेको जनाएको छ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताएका हुन्।

आइतबार एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले कोरोनाको हटस्पटमा केही कडाइ गरिए पनि पूर्ण लकडाउन गर्ने सरकारको योजना नरहेको जानकारी दिए।

‘तत्काल हामी राष्ट्रियस्तरमा लकडाउन गर्दैनौं, अहिलेको हाम्रो आग्रह सम्पूर्ण नागरिकलाई स्वास्थ्य मापदण्डको पालना गर्नु नै हो,’ उनले भने,‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ। तर अन्तिम समाधान होइन।’

भर्खर अर्थतन्त्र तंग्रन थालेको हुनाले सकभर मान्छेको अर्थतन्त्र र जिविकामा प्रभाव नपारोस् सरकारको चाहना रहेको उनले बताए।

हटस्पटहरूमा आंशिक लकडाउन हुनसक्ने भए पनि पूर्ण लकडाउनको सम्भावना तत्काल नरहेको ज्ञवालीले उल्लेख गरेका छन्।

महाधिवेशन आयोजक कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण पार्टी प‍ंक्तिलाई कोरोनाविरुद्धको लडाइँमा जुट्न निर्देशन दिएको ज्ञवालीले बताएका छन्।

शनिबार सिसिएमसीसँग भएको छलफलबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराउँदै अध्यक्ष ओलीले पार्टी कमिटीलाई जिल्ला जिल्लामा परिचालन हुन निर्देशन दिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय