कोरोना खोप अब सबैलाई
कोरोना खोप अब सबै व्यक्तिहरुले लगाउन पाउने भएका छन्।
आजबाट १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप लगाउन पाउने भएका हुन्।
सरकारले पहिलो प्राथमिकतामा रहेका व्यक्तिहरुलाई खोप लगाईसकेपछि आम जनतालाई लगाउने निर्णय गरेको थियो।
सोहीअनुरुप पहिलो प्राथमिकतामा पर्ने चिकित्सक, अस्पतालका कर्मचारी, सफाईकर्मी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार तथा जेष्ठ नागरिकहरुले पाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब बैशाख १२ गतेबाट निरन्तर खोप दिइने छ।
सशस्त्र प्रहरी अस्पताल, कृतिपुर अस्पताल र निजामति कर्मचारी अस्पतालमा यी उमेरसमूहका व्यक्तिहरुलेखोप लगाउन पाउनेछन् भने परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगल र हिमाल अस्पताल, ज्ञानेश्वरमा निरन्तर खोप लगाइनेछ।
वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र त्रिवि शिक्षण अस्पतालमा भने कोभिशिल्डको दोस्रो मात्रा लगाइनेछ।
त्यस्तै निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भेरोसेलको पहिलो मात्राको खोप वितरण भइरहेको छ।