भारतमा किन भइरहेछ अक्सिजन अभाव?

हेल्थपोस्ट नेपाल

भारतको राजधानी दिल्लीस्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजन नपाएर शुक्रबार २० जना कोरोना संक्रमितको मृत्यु भयो।

सरकारी होउन् वा निजी अहिले भारतका हरेक अस्पतालमा अक्सिजनको अभावमा बिरामी छटपटाइरहेका छन्।

पश्चिम महाराष्ट्र अनि गुजरातदेखि, हरियाणासम्मै तथा उत्तर र मध्यप्रदेश जताततै अहिले अक्सिजनको अभाव चुलिएको छ।

उत्तर प्रदेशका कैयौ अस्पतालमा त ‘अक्सिजन आउट अफ स्टक’ लेखिएका छन्। लखनउमा अक्सिजनको अभाव यतिसम्म चुलिएको छ कि त्यसको आवश्यकता पर्ने बिरामीलाई अस्पतालले भर्नै लिँदैनन् र अन्यत्रै जान सल्लाह दिइरहेका छन्।

किन कुनै राज्यमा अक्सिजनको अभाव भइरहेको छ?

कुनै राज्यले स्थितिलाई निकै सही तरिकाले सम्हालिरहेका छन्। केरल सरकारले सुरुमा अक्सिजनको आपूर्ति बढयो। त्यसपछि कडा निगरानी सुरु गर्‌यो।

अहिले यहाँ अक्सिजनको अभाव छैन। बरु उसले छिमेकी राज्यलाई पनि अक्सिजन सहयोग गर्न थालेको छ। यो राज्यमा अक्सिजन प्लान्ट पनि छ।

तर, दिल्ली तथा भारतका कतिपय राज्यमा आफ्नै अक्सिजन प्लान्ट छैन। आपूर्तिका लागि उनीहरू दोस्रो राज्यम निर्भर छन्।

भारतमा सबैभन्दा धेरै कोरोना कहर महाराष्ट्रले भोगिरहेको छ। देशभरका संक्रमितमध्ये एकतिहाइ महाराष्ट्रमै छन्।

यहाँ हरेक दिन १२०० टन अक्सिजन उत्पादन हुन्छ। तर त्यो सबै संक्रमितलाई पुगिरहेको छैन। संक्रमण बढेसँगै अक्सिजनको माग पनि बढिरहेको छ। अब हरेक दिन १६०० टनभन्दा धेरै अक्सिजनको आवश्यकता परिरहेको छ।

जानकारहरू भने भारतमा अक्सिजनको कमी नभएर त्यसलाई चाहिएको ठाउँसम्म पुर्‌याउने गतिलो संयन्त्रको अभाव भएको बताउँछन्।

आइनक्स एयर प्रोडक्ट्सका निर्देशक सिद्धार्थ जैनका अनुसार कोरोनाभन्दा अघि भारतमा हरेक दिन ६५०० मेट्रिक टन अक्सिजन उत्पादन हुन्थ्यो भने अहिले त्यो बढोको छ र दैनिक ७ हजार २०० मेट्रिक टनसम्म उत्पादन हुनसक्छ।

संक्रमणअघि ७०० मेट्रिक टन मेडिकल अक्सिजन भए पुग्ने भारतमा अहिलेको अवस्थामा ५ हजार मेट्रिक टन अक्सिजनले पनि नपुग्ने भएको छ।

‘एकातिर मेडिकल अक्सिजनको आवश्यकता महाराष्ट्रमा परिरहेको छ तर, पूर्वी भारतमा अक्सिजन मौज्जाद छ’ अल इन्डिया इन्डस्ट्रियल ग्यासेज म्यानुफ्याक्चरर्स एशोशिएशनका प्रमुख साकेत टिकुले भने।

उनका अनुसार अहिले साधनको अभावले पनि एक ठाउँबाट अर्को ठाउँमा अक्सिजन पुर्‌याउन समस्या भइरहेको छ। अक्सिजन ग्याँस बोक्ने ट्याङ्कहरूको आफ्नै प्राविधिक समस्या हुन्छ र भनेको समयमा ति ट्याङ्क भनेको ठाउँमा पुग्न सक्दैनन्।

राज्य र केन्द्रबीच आरोप–प्रत्यारोप

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अरु राज्यहरूले दिल्ली भित्रिने अक्सिजन ग्याँस बोकेका ट्रकहरू रोकिदिएका छन्। उनले केन्द्र सरकारले आवश्यकताअनुसारको अक्सिजन नदिएको आरोप पनि लगाएका छन्।

तर केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले दिल्लीले मागेभन्दा पनि धेरै अक्सिजन दिइएको दाबी गरेका छन्।

‘भारतमा अक्सिजन उत्पादनको हिसाबले हरेक राज्यलाई उसको कोटामा परेको अक्सिजन दिइएको छ। दिल्लीमा त माग गरेभन्दा पनि धेरै अक्सिजन दिएका छौं’ उनले भने ‘अब अझै व्यवस्थित तरिकाले वितरणका लागि सरकारले थप योजनाहरू बनाउनेछ।’

अदालतले के भन्यो?

यो मुद्दा अदालतसम्मै पुगेको छ र अदालतले सरकारलाई निकै कडा चेतावनी दिँदै अक्सिजनको व्यवस्थापन गर्न आदेश दिएको छ।

दिल्ली उच्च अदालतलले शनिबार एउटा फैसला सुनाउँदै ‘अक्सिजन वितरण रोक्न खोज्ने वा कुनै पनि प्रकारको बाधा उत्पन्न गर्ने सरकारी अधिकारी वा जो सुकैलाई पनि फाँसीको सजाय हुनसक्ने चेतावनी सुनाएको छ।

न्यायाधीश विपिन सान्घी तथा रेखा पाल्लीको एउटा इजलासले ‘अक्सिजन’ को मामिलामा कसैलाई पनि क्षमा नहुने चेतावनी दिएको छ।

कसरी हुन्छ अक्सिजनको उत्पादन?

लिक्विड अक्सिजन हल्का नीलो रंगकाे हुन्छ। अनि यो अति नै चिसो हुन्छ। यो क्रायोजेनिक ग्याँस हो। जसको तापक्रम माइनस १८३ सेन्टिग्रेडसम्म हुन्छ। यसलाई कुनै विशेष सिलिन्डर वा ट्याङ्कहरूमा राखिन्छ।

भारतमा लगभग ५०० यस्ता उद्योग छन् जसले हावाबाटै अक्सिजन संकलन गरेर त्यसलाई प्रशोधन गर्छन्। र लिक्विडमा बदलेर अस्पतालसम्म पुर्‌याउँछन्। धेरैजसो ग्यासको ढुवानी ट्याङ्करबाटै हुन्छ।

ठूला अस्पतालहरूमा आफ्नै ट्याङ्कहरू हुन्छन्। जसमा अक्सिजन राखिन्छ र त्यो बिरामीको बेडसम्म पुग्छ। तर धेरैजसो अस्पतालहरूमा भने आल्मुनियमको सिलिन्डर नै प्रयोग हुन्छ।

उत्पादन बढाउन सरकारले के गर्‌यो?

केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशभर थप अक्सिजन प्लान्ट स्थापना गर्नका लागि गत अक्टोबरमा नै टेन्डर आह्वान गरेको थियो।

त्यो बेला भारतमा कोरोना संक्रमण फैलिएको आठ महिना बितिसकेको थियो। त्यसका लागि टेन्डर भरेकामध्ये १६२ लाई मन्त्रालयले प्लान्ट लगाउने अनुमति पनि दिएको थियो। तर, अहिलेसम्म ३३ मात्रै प्लान्टहरू स्थापना हुन सकेका छन्।

अब केन्द्र सरकारको योजना के छ?

देशभरि अक्सिजनको अभाव चुलिन थालेपछि केन्द्र सरकारले विदेशबाटै भएपनि अक्सिजन किन्ने निर्णय गरेको छ।

सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ। यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकमा भएको हो। पहिलो चरणमा ५० हजार मेट्रिक टन अक्सिजन आयातका लागि सरकारले निजी क्षेत्रलाई समेत आह्वान गरेको छ।

देशका सबैजसो उद्योगहरूमा तत्कालका लागि अक्सिजन ग्यास प्रयोगमा रोक लगाइएको छ। सरकारले १६२ पिएसए मेडिकल अक्सिजन प्लान्ट स्थापना गर्नका लागि रकमसमेत निकासा गरिसकेको छ।

अक्सिजन आवश्यक परेको ठाउँमा चाँडै पुर्‌याउनका लागि अक्सिजन एक्सप्रेस रेलसमेत सञ्चालन गरिएको छ। खाली सिलिन्डर तथा कन्टेनरहरूलाई भर्ने ठाउँसम्म छिटो पुर्‌याउनका लागि सरकारले बायु सेनालाई परिचालन गरेको छ। बिबिसीकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *