पाकिस्तानले भन्यो– महामारीमा भारतलाई सहयोग गर्न तयार छौं
भारतमा बढ्दै गइरहेको कोरोना संक्रमण नियन्त्रणका लागि पाकिस्तानले भारतलाई सहयोग गर्ने प्रस्ताव गरेको छ।
कोरोनाबाट विश्वमा अहिले सबैभन्दा अहिले भारत प्रभावित भइरहेको छ।
पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै महामारीसँग लडिरहेको भारतलाई पाकिस्तानले आवश्यक मेडिकल सामग्रीहरू सहयोग गर्न चाहेको उल्लेख गरेको छ।
‘महामारीको यो सकंटपूर्ण घडीमा हामी भारतीय नागरिकको साथमा छौं। पाकिस्तानले भारतलाई सहयोगका लागि भेन्टिलेटर, बाइपेप मेसिन, डिजिटल एक्स–रे, पिपिई किट तथा अरु आवश्यक मेडिकल सामग्रीहरू दिन चाहन्छौं।’
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले एउटा ट्विट गर्दै लेखेका छन् ‘पाकिस्तानले मानवतालाई नै प्राथमिकता दिने नीतिमाथि भरोसा राख्दछ।’
पाकिस्तानले ती सामग्रीहरू चाँडै नै भारत पुर्याउनका लागि दुबै देशका अधिकारीहरूले मिलेर काम गर्नसक्ने पनि जनाएको छ।
‘दुबै देशले आगामी दिनमा आउनसक्ने महामारी वा अरु चुनौतीको सामना गर्नका लागि साझा उपाय खोज्न पनि ती अधिकारीहरूलाई अनुमति हुनेछ’ मन्त्रालयले भनेको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतीय नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्।
‘छिमेकमा अनि सारा दुनियामा घातक महामारीसँग लडिरहेका सारा नागरिकको स्वास्थ्य लाभका लागि पाकिस्तानले प्रार्थना गरिरहेको छ।
पाकिस्तानका सञ्चारमन्त्री फव्वाद चौधरीले पनि भारतमा बढिरहेको महामारी प्रभावलाई लिएर चिन्ता व्यक्त्त गरेका छन्।
‘यो मुस्किल घडीमा हाम्रो प्रार्थना भारतीय नागरिकका लागि छ। भगवानले उनीहरूमाथि कृपा गरुन् र चाँडै नै संकटको यो घडीबाट बाहिर निस्कन सकून्।’
पाकिस्तान सरकारमात्रै होइन, त्यहाँका आम नागरिकले पनि भारतलाई सहयोगका लागि प्रतिवद्धता व्यक्त्त गरेका छन्।
त्यहाँका मानवअधिकारकर्मी फैसल एधीले पाकिस्तानी नागरिकका तर्फबाट सहयोग स्विकार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रहसमेत गरेका छन्। बिबिसीबाट