‘घरिघरि त लाग्छ, उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला?’
यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं ।
यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं हामी सचेत र चनाखो हुँदैनौं ।
मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ ।
अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ ।
अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।
एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ ।
हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं । घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?
जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ ।
अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए ।
हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो ।
अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ ।
यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं । हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो ।
संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ ।
अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ ।
कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ ।
पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् ।
तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । चेन ब्रेकू नगरी हामीले सम्हालिने मौका पाउने छैनौं ।
अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।
कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं । सुरक्षाका सबै मापदण्ड अपनाऔं ।
अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ कहाँ चुक्यौं ।