अस्पताल बनाउन डा. कोइरालाले लिन लागेको सहयोगप्रति एन्टीटोबाको संस्थाको आपत्ति, सम्झौता रोकियो

हेल्थपोस्ट नेपाल

 

सूर्तिजन्य पदार्थविरुद्ध क्रियाशील संस्थाहरुको विरोधपछि काठमाडौं इन्स्टीट्युट अफ चाइल्ड हेल्थ केयर (बाल अस्पताल) र सूर्य नेपालबीचको सहयोगसम्बन्धी सम्झौता स्थगित भएको छ।

चुरोट उत्पादक कम्पनी सूर्य नेपालले डा. भगवान कोइराला नेतृत्वमा निर्माण हुन लागेको उक्त अस्पताललाई ५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भनेको थियो।

सोही सम्झौतामा शुक्रबार हस्ताक्षर तय भएको थियो।

तर सूर्तिजन्य पदार्थ नियन्त्रणमा क्रियाशील संस्थाहरुको विरोधपछि सम्झौता केहीसमयका लागि स्थगित गरिएको हो।

सम्झौता गर्न आयोजित कार्यक्रममा डा कोइरालाले कानुनी बाधा अड्चन नसुल्झाइ कुनै निर्माण तथा सम्झौता नगरिने बताए।

उनले स्वास्थ्य मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी अनुमति पाएपछि मात्र सम्झौता गरिने बताए।

दुईथरी कानुन भएका कारण काम थालनीमा अलमल भएको उनको भनाइ थियो।

स्वास्थ्य मन्त्रालयको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ को १ ले ‘सरकारी वा गैरसकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक संरचना ताथ अन्य कुनै पनि प्रकारको सहयोग उत्पादकलगायतले प्रदान गर्न पाउने छैन’ भनिएको छ।

सोही धाराको उपदफा २ मा कसैले पनि उत्पादकलगायतले प्रदान गर्ने आर्थिक भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउने छैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन भनिएको छ।

उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सूर्ति उद्योगहरुको सहभागिता र सहकार्य गर्नु हुँदेन भनेर लेखिएको छ।

त्यस्तै औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ४८ मा व्यावसायिक सामाजिक जिम्मेवारीको प्रवधान राखिएको छ।

यस दफाको उपदफा १ मा मझौला वा ठूला उद्योग वा वार्षिक पन्ध्र करोड रुपैंयाँभन्दा बढी कारोबार गर्ने घरेलु वा साना उद्योगले वार्षिक मुनाफाको कम्तीमा एक प्रतिशत रकम व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्ने प्रयोजनार्थ प्रत्येक आर्थिक वर्षका लागि छुट्याउनु पर्नेछ भनिएको छ।

सो बमोजिम छुट्याइएको रकम वार्षिक योजना तथा कार्यक्रम बनाई तोकिएबमोजिमका क्षेत्रमा खर्च गर्नु पर्ने भनिएको छ।

‘सरकारकै कानुन बाझिएको छ। हामीलाई सामाजिक जिम्मेवारी पनि बहन गर्न लगाउने अनि अर्को कानुनमा बन्देज लगाउने गरिएको छ। हामी व्यवसायीहरुको केही पनि सम्मान छैन,’ सूर्य नेपालका उपाध्यक्ष रवि केसीले भने।

बाल अस्पताल बनाउन लागिएको प्रयासमा बाधा पु¥याउन खोजेको भन्दै उनले भने, ‘यो कार्य गर्न हामीले आफ्नो कम्पनीको कुनै प्रचार गरेका छैनौं। यो विशुद्ध समाजसेवा हो। यसबाट हामीलाई केही फाइदा छैन। हामीले गरिब तथा स्वास्थ्य सेवा पहुँच नपुग्ने बालबालिकाहरुका लागि उनीहरुको अधिकारको सुनिश्चित गर्न यो कदम चालेका हौं।’

अस्पताल निर्माण गर्नका लागि डा कोइरालाले ११ करोड सहयोगको सम्झौता गरिसकेका छन् भने दुई करोड सहयोग पाइसकेका छन्।

उनले बैंक अफ काठमाडौं र नेपाल बैंक लिमिटेडबाट एक/एक करोड, राष्ट्रिय वाणिज्य बैंकबाट ५० लाख, राजन राई र दीर्घराज प्रसाईंबाट २५/२५ लाख, ग्लोबल आइएमई, अमेरिका नेपाल मेडिकल फाउन्डेशनबाट सहयोग प्राप्त गरेका छन्।

नेपाल सरकारले ४१ रोपनी जग्गा उपलब्ध गराएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *