कोरोना संक्रमणमा भारतको विश्व रेकर्ड : करिब ३ लाख १६ हजार थपिए, २१ सय बढीले गुमाए ज्यान

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना संक्रमण झनै तीव्र गतिमा फैलिइरहेको छ। दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको छ। यस्तोमा संक्रमणको दैनिक तथ्याङ्कले विश्व रेकर्ड नै कायम गरेको छ। भारतमा गत २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी ३ लाख १५ हजार ९२५ थपिएका छन्। यसअघि यो रेकर्ड अमेरिकाको नाममा थियो। गत जनवरी ८ तारिखमा अमेरिकामा ३ लाख ७ हजार ५८१ संक्रमित भेटिएका थिए।

भारतमा संक्रमणको दर अमेरिकाको भन्दा बढी छ। भारतमा दैनिक संक्रमितको संख्या १ लाखबाट ३ लाख पुग्न मात्र १७ दिनको समय लागेको छ भने अमेरिकामा १ लाखबाट ३ लाख पुग्न ६७ दिन लागेको थियो।

भारतमा यससँगै कुल संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ भएको छ। जसमध्ये १ करोड ३४ लाख ४९ हजार ४०६ संक्रमित निको भएका छन्। सक्रिय संक्रमितको संख्या २२ लाख ८४ हजार २०९ छ।

बढ्दै मृतक संख्या

भारतमा संक्रमितको मात्र होइन संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। पछिल्लो २४ घण्टामा २ हजार १०२ जनाले ज्यान गुमाएका छन्। यससँगै कुल मृतकको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ।

संक्रमणबाट सबैभन्दा पीडित महाराष्ट्र बनेको छ। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ६७ हजार बढीमा संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *