भक्तपुरमा कोरोना खोप लगाउनेको भीड

हेल्थपोस्ट नेपाल

भक्तपुरमा बुधबारसम्म ८ हजार ५ सय १२ जनाले कोभिडविरुद्धको पहिलो खोप लगाएका छन्।  त्यसमा पुरुष ३ हजार ८ सय ७५ छन भने महिला ४ हजार ६ सय ३७ जना। उनीहरुले चीनको अनुदानमा प्राप्त भएको भेरोसेल खोप लगाएका हुन्।

भक्तपुरमा पहिलो दिन सिद्धिस्मृति अस्पतालमा खोप लगाइने व्यवस्था मिलाएको थियो। भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले पहिलो डोज कोभिसिल्ड जस्तै यसपालि पनि खोप लगाउनेको भिड कम होला भनी एक ठाउँमा मात्र संचालन गरेको बताए।

पहिलो दिन (४ गते) ६ सय २९ जनाले खोप लगाएका थिए। खोप लगाउनेको संख्या बढेपछि दोस्रो दिन चैत्र ५ गते सिद्धि स्मृति र इवामुरा अस्पतालमा पनि खोप कार्यक्रम संचालन गरेको डा लासिवाले बताए। दोस्रो दिन  १ हजार ६ सय ५३ ले लगाएका थिए।

दोस्रो दिनमा पनि खोप लगाउनेको संख्या कम नभएपछि तेस्रो दिन चैत्र ६ गते सिद्धि, इवामुरा र जनस्वास्थ्यमा कार्यक्रम संचालन गरेको उनले बताए। तेस्रो दिन २ हजार ५ सय ९१ र चौथाे दिन ३ हजार ६ सय ३९ जनाले खोप लगाएका थिए।

बुधबार अन्तिम दिन पनि खोप लगाउनेको चाप कम नभएको उनले सुनाए। खोप लगाउन भक्तपुरबासी मात्र नभई धुलिखेल, बनेपाबाट पनि मानिसहरु आएकाे उनले बताए। उनले भेरोसेल खोपमा साइडइफेक्ट कम भएको बताए।

उनले दोस्रो डोजको कोरोना खोप जनस्वास्थ्यमा बिहीबारदेखि सुरु गर्ने बताए। ९ गते देखि ११ गतेसम्म खोप दिने उनले जानकारी दिए। अहिले दोस्रो कोरोना खोप भक्तपुर अस्पतालमा दिइएकाे छ। १० र ११ वैशाखमा चाँगुनारायण अस्पताल र दधिकोटमा दाेस्राे डाेज दिइनेछ।



Leave a Reply

Your email address will not be published.