कोरोना कहर : १३ प्रतिशत आईसीयु र १० प्रतिशत भेन्टिलेटर भरिए

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमण बढेसँगै अस्पतालका आइसीयु र भेन्टिलेटर भरिन थालेका छन्। भर्ना हुन आउनेहरुको घुइँचो दिनहुँ बढ्दै जाँदा अस्पतालले थेग्न नसक्ला कि भन्ने चिन्ता हुन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ स्वरुप युके भेरियन्ट र भारतमा देखिएको डबल म्युटेन्ट भाइरस नेपालमा पनि भएको पुष्टि गरिसकेको छ।

विज्ञहरुले यो खालको भाइरसले निकै संक्रामक हुने तथा सबै उमेर समूहलाई गम्भीर बिरामी बनाउन सक्ने बताएका छन्।

मन्त्रालयको पछिल्लो तथ्याङकलाई केलाउने हो भने नेपालमा हालसम्म १३ प्रतिशत आईसीयुहरु भरिइसकेका छन् भने १० प्रतिशत विरामीहरु भेन्टिलेटरमा भर्ना भएका छन्।

हाल देशभरका सबै अस्पतालहरुमा कूल एक हजार एक सय ६७ आइसीयु छन् भने पाँच सय १० भेन्टिलेटर सेवा उपलब्ध छन्।

संक्रमण बढेयता १३ प्रतिशत आईसीयु उपत्यकामै भरिइसकेका छन्। मन्त्रालयको ७ वैशाखसम्मको तथ्याङकअनुसार काठमाडौंमा मात्र ५६ जना मानिसहरु आईसीयुमा भर्ना भएका छन् भने २८ जना भेन्टिलेटरमा छन्।

कोरोना संक्रमणको हिसाबले बागमती प्रदेश उच्च जोखिममा छ। यसकारणले पनि सबैभन्दा बढी अस्पतालका शैया यही आवश्यक पर्ने देखिन्छ। प्रदेशमा ७२ जना आइसीयुमा भर्ना भएका छन् भने ३० जना भेन्टिलेटरमा छन्।

बागमतीपछि दोस्रो जोखिममा लुम्बिनी प्रदेश छ, जहाँ ५७ जना आईसीयुमा छन् भने ११ जना भेन्टिलेटरमा रहेका छन्।

योसँगै भारतबाट प्रवेश गर्ने नाकाहरुमा दैनिक संक्रमण बढ्दै गइरहेको छ। सरकारले प्रवेश बिन्दुमा गरेको एन्टिजेन परीक्षणमा दैनिक नौ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सबैभन्दा बढी कोरोना कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा देखिएको छ। एक हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा सात सय ५१ जनामा कारोना पुष्टि भएको छ।

भारतमा डबल म्युटेन्ट भाइरस देखिएसँगै संक्रमितको संख्या अधिक बढेको छ। यस्तो बेलामा भारतमा गएका नेपालीहरु स्वदेश फर्कँदा संक्रमण फैलने क्रम बढ्दै जान्छ। नयाँ स्वरुपको भाइरसले युवा तथा बालबालिकालाई पनि गम्भीर विरामी बनाउने भएकाले आईसीयु र भेन्टिलेटरको शैया यथेष्ट हुनु जरुरी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार पत्रकार सम्मेलन गर्दै मापदण्ड पालना नगर्ने हो भने १ महिनामा दैनिक संक्रमितको संख्या ११ हजार हुने आँकलन गरेको छ।

उपत्यकाका आईसीयु र भेन्टिलेटरको अवस्था
बैशाख१– आईसीयुमा ३३, भेन्टिलेटरमा १६
बैशाख २– आईसीयुमा २९, भेन्टिलेटरमा २२
बैशाख ३– आईसीयुमा ३५, भेन्टिलेटरमा २०
बैशाख ४– आईसीयुमा ३५, भेन्टिलेटरमा २५
बैशाख ५–आईसीयुमा ४२, भेन्टिलेटरमा २५

देशैभरि आईसीयु र भेन्टिलेटरको अवस्था
१ वैशाख–आईसीयुमा–८०, भेन्टिलेटरमा २५
२ वैशाख– आईसीयुमा ९१, भेन्टिलेटरमा ३५
३ वैशाख – आईसीयुमा १००, भेन्टिलेटरमा ३८
४ वैशाख – आईसीयुमा ९४, भेन्टिलेटरमा ४५
५ वैशाख – आईसीयुमा ११६, भेन्टिलेटरमा ४६



Leave a Reply

Your email address will not be published. Required fields are marked *