कोरोनाको कोर्स चेन्ज, टार्गेटमा बालबालिका!

‘ओपिडीमा आउने ५० प्रतिशत जति बालबालिका श्वास(प्रश्वाससँग सम्बन्धित समस्या लिएर आउने गरेका छन्। दुइ–तीन सातायता प्रत्येक दिन जसो औसतमा २-३ जना निमोनियाका कारणले अस्पताल भर्ना भैरहेका छन्। हप्तामा औसत २-३ जनामा ‘मल्टी(सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम इन चिल्ड्रेन’ भन्ने नयाँ तर गम्भीर स्वास्थ्य समस्या देखिने गरेका छन्। आइसीयु लगभग भरिइसक्यो।’

यो केही दिनअघि मेरा एकजना मित्र बालरोग विशेषज्ञसँग भएको कुराकानीको अंश हो। यो कुराकानीबाट कोरोनाले कोर्स (गति पथ) चेन्ज गर्दै रहेछ भन्ने संकेत दिन्छ। अर्थात् कोरोनाको आगामी ‘टार्गेट’ बालबालिका हुने संकेत हो। कोरोनाको पहिलो लहरमा बालबालिकाहरु अहिलेजस्तो एकपछि अर्को भर्ना हुने गरेका थिएनन्।

नेपाल पेडियाट्रिक सोसाईटीले एक विज्ञप्ति निकाल्दै हाल झन्डै १० प्रतिशत बालबालिकाहरु कोरोना संक्रमित भएका र तीमध्ये कतिपयमा ‘मल्टी(सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम इन चिल्ड्रेन’ जस्तो जटिल स्वास्थ्य समस्या देखिएको भनेको छ।

कोरोना संक्रमणको अर्को लहर भर्खरमात्र सुरु हुँदै गर्दा यति धेरै बालबालिका संक्रमितमात्र होइन, अस्पताल नै भर्ना हुनु पर्ने अवस्था सिर्जना हुनु आफैँमा शुभ संकेत भने होइन। नेपाली बालबालिकामा कोरोना संक्रमण हुँदा कडा खालको झाडापखाला, ज्वरो आउने, पेट दुख्ने, शरीरमा डाबर देखिने, श्वास फेर्न गाह्रो देखिएको भनिएको छ।

यी लक्षणहरु गर्मी मौसममा देखिने अरु संक्रामक रोगहरुमा पनि देखिने गर्दछ। बर्सेनि गर्मी मौसममा बालबालिकाहरु ठूलो संख्यामा संक्रामक रोगहरुबाट प्रभावित हुने गरेको तथ्यांक छ। अभिभावकहरु कोरोनाका लक्षणहरु देखिँदा पनि बर्सेनि देखिने सामान्य संक्रामक रोगहरु होला भनेर अनुमानरझुक्किए संक्रमणले जटिल अवस्था लिन पनि सक्नेछ।

कोरोनाको पहिलो लहरसम्म धेरै चिकित्सकहरु वयस्करवृद्धहरुमा देखिने लक्षणसँग नै बढी परिचित छन्। बालबालिकामा देखिएका लक्षणहरु वयस्कहरुमा देखिने लक्षणसँग खासै मिल्दोजुल्दो देखिँदैन। तसर्थ लक्षणहरुलाई मात्र आधारमा मान्दा रोग पहिचान नहुने र जटिलतातिर जानसक्ने सम्भावना रहनेछ।

यसर्थ कोरोनालाई अरु संक्रामक रोगसँग छुट्याउन परीक्षणको दायरा बढाउनु पर्ने हुन्छ, अनिमात्र भाइरस निदान गर्न सहज हुने छ। भाइरस निदान गर्न सके परामर्श दिन वा उपचार गर्न चिकित्सकलाई सहज हुनेछ। जसले गर्दा समयमा नै उपचार पाउने र मृत्यु हुने सम्भावनालाई धेरै हदसम्म रोक्न सकिने छ।

हाल शिक्षण संस्थाहरु खोल्नेरनखोल्ने बहसले नयाँ उचाइ लिएको छ। पक्कै पनि बालबालिकाको भबिष्यसँग जोडिएको शिक्षा निरन्तर हुनु अति आवश्यक छ। तर शिक्षा कि स्वास्थ्य पहिला भन्ने प्रश्न महत्वपूर्ण हुन आउछ।

अहिले देखिँदै आइरहेको ‘एस जीन’ नेगेटिभ कोरोना भाइरसले बालबालिकालाई चपेटामा पार्दै लागेको तथ्यांक तथा चिकित्सकहरुको भनाइबाट नै प्रष्ट हुन्छ। नेपालमा बाल रोग अस्पतालको सीमिततताले गर्दा पहिलो लहरमा देखिएजस्तो सिकिस्तरमृत्यु हुनेहरुको संख्याको हाराहारीमा मात्र पनि बालबालिकाहरु बिरामी भए उपचारबाट बन्चित हुनसक्ने देखिन्छ।

बालबालिकाहरु स्वाभावैले चञ्चल, साथीहरुसँगै खेल्न रमाउने र अध्ययनवाहेक स्कुलका विभिन्न क्रियाकलापहरुमा संलग्न हुने हुँदा एक विद्यार्थीमा देखिएको कोरोना भाइरस अर्को विद्यार्थीमा सर्न सक्छ।

उक्त नयाँ संक्रमित विद्यार्थी आफ्ना परिवारका अरु सदस्यसम्म संक्रमण पुर्‍याउने माध्यम बन्न सक्छ। बालबालिकाहरुको सम्बन्ध हजुर बुवारआमासँग विशेष हुने हुँदा उनीहरु संक्रमित हुने सम्भावना बढ्छ। स्मरण रहोस, पहिलो लहरमा जेष्ठ नागरिकहरु नै सबैभन्दा बढी कोरोना संक्रमणको कारणले जटिल अवस्थारमृत्यु भएको तथ्यांक छ। हाल विशेषत ‘एस जीन’  नेगेटिभ कोरोना भाइरसले उचाइ लिँदै गर्दा जेष्ठ नागरिकहरु मात्र होइन परिवारका युवाहरु पनि कोरोनाको जटिलताबाट अलग हुने देखिँदैन।

हाल अधिकांश कलेजहरु दैनिक सञ्चालनमा छन् र विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भइ पढिरहेका छन्। कलेजको व्यवस्थापन राम्रो भए त्यहाँ जनस्वास्थका मापदण्डहरु लागू गर्न सकिन्छ। तर विद्यार्थीहरु कलेज आउँदा र घर जाँदा भने जनस्वास्थ्यका मापदण्ड लागू गर्ने गरेको पाइदैन्। कलेजभित्रवाहेक अन्यत्र जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनीहरु बाध्य हुँदैनन्। घरबाट आउँदा वा जाँदा साथीसँगै जाने र सँगै खाँदा संक्रमण सर्ने सम्भावना रहन्छ। र, संक्रमण परिवारका अरु सदस्यसम्म पुग्नसक्छ।

शिक्षण संस्थाहरु मात्र होइन, जहाँ धेरै मानिसहरुको जमघट हुन्छ, त्यहाँ कोरोना भाइरस फैलने राम्रो वातावरण बन्छ। शिक्षण संस्थाहरुमा हाल बालबालिकाको अध्ययन निरन्तर हुँदा र कोरोनाको तथ्यांक उकालो लाग्दै गर्दा कोरोनाको ‘हटस्पट’ शिक्षण संस्थाहरु नबनोस् सबैको चाहना हो। कोरोना भाइरस बालबालिकाहरुमा जोखिम क्षेत्रहरुबाट मात्र नभई स्वयम् अभिभावकहरुबाट पनि सर्न सक्ने भएकाले उनीहरु स्वयमले पनि सतर्कता अपनाउनु पर्ने हुन्छ।

अन्त्यमा, बिबिसीमा प्रकाशित एक सत्य घटनामा आधारित लेख पढेको थिएँ। एक वर्षका बालकलाई खान मन लाग्दैन। घरमा ज्वरो, थकान तथा श्वासप्रश्वासमा केही समस्या देखिएपछि अभिभावक बाल रोग चिकित्सककहाँ जान्छन्। तर त्यहाँ अक्सिजनको लेभल जाँच्दा ८६ प्रतिशत देखिए पनि ज्वरो नदेखिएकाले कोरोना परीक्षण गर्नु नपर्ने भनेर सल्लाह दिन्छन्। कोरोना बालबालिकामा अति दुर्लभ हो। आत्तिनु पर्दैन भन्दै चिकित्सकले केही एन्टीबायोटिक दिएर पठाऊछन्। तर बच्चाको समस्या पूर्ण ठीक हुँदैन। त्यससमयमा कोरोनाले सो सहरमा व्यापकता लिएकाले अरु अस्पतालहरुमा जाँदैनन् र अन्ततः दुइ महिनापछि बालकमा तारन्तार वान्ता सुरु हुन्छ। अस्पताल जाँदा ‘मल्टीसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम इन चिल्ड्रेन’ हो भनियो। कोरोना संक्रमित बालबालिकामा कोरोना उपचारमा ढिला भए यो जटिल अवस्था देखिन्छ। अन्तत: बालकको दु:खद निधन हुन्छ।

यो लेख पढिसक्दासम्म मेरो आँखा रसाइसकेको थियो। यो ब्राजिलमा भएको घटना हो, जहाँ कोरोनाले हाल आक्रान्त पारिरहेको छ। त्यहाँ पछिल्लो समय सयौं बालबालिकाहरुको मृत्यु भैसकेको छ।

नेपालमा पनि कोरोना संक्रमण बालबालिकामा देखिने र अस्पताल भर्ना हुने क्रम सुरु हुँदै गर्दा थप संक्रमितको सख्या रोक्न विभिन्न विकल्प अपनाउनु पर्ने बेला आइसकेको छ, किनभने कोरोना भाइरसको अर्को ‘टार्गेट’ मा बालबालिका हुने संकेत देखिइसकेको छ।

डा. शेर बहादुर पुन 

संयोजक, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय