५० शैयाको कोरोना अस्पताल बनाउँदै सुदूरपश्चिम सरकार

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमितको संख्या बढेपछि सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ५० शैयाको कोरोना अस्पताल निर्माण गर्न थालेको छ।

डेढ करोडको लागतमा निर्माण हुने अस्पताल स्वास्थ्य कार्यालय कैलालीको कार्यालय रहेको स्थानमा निर्माण हुने छ।

यसअघि २०७७ जेठमा प्रदेश सरकारले हाल बन्न लागेकै स्थानमा ५० शैयाको अस्पताल निर्माण गरेको थियो।

हाल बन्ने र यसअघि निर्माण गरेको अस्पताल धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्नेछ।

‘अहिले देशभर कोरोनाको दोस्रो लहर फैलने क्रम बढेको छ,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले भने, ‘कैलालीमा त्यसको जोखिम अझै उच्च छ, हामीले थप तयारी गर्न ५० शैयाको अस्पताल निर्माण गरेका हौं।’

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार हाल निर्माण हुने भनिएको कोरोना अस्पताल निर्माणका लागि रूख कटानको अनुमति आउन बाँकी छ।

सो जमिन जिल्ला समन्वय समितिको मातहतमा छ। हाल सुदूरपश्चिममा २ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् भने ५९ जनाको मृत्यु भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *