छ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई आज भिटामिन ए खुवाइँदै

हेल्थपोस्ट नेपाल


सरकारले छ महिना देखि पाँच वर्षसम्मका बालबालिकालाई आजबाट भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।

सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा वितरण गरिनेछ।

आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको अवस्थामा जनस्वास्थ्य मापदण्ड परिपालन गर्दै कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले सबै प्रदेशलाई पत्रचार गरेको छ।

सामाजिक दूरी कायम गर्दै भिटामिन ‘ए’ खुवाउने केन्द्रको प्रति घण्टा १० जनामात्र बालबालिका उपस्थित हुने गरी व्यवस्था मिलाउने र हरेक व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न सबै स्थानीय तहलाई निर्देशन दिइएको छ।

वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउने गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *