परिर्वतन भयो दोस्रो मात्राको खोप लगाउने मिति

हेल्थपोस्ट नेपाल


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ माघ १४ गतेदेखि फागुन ११ गतेसम्ममा पहिलो मात्राको खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जानकारी दिए।

मन्त्रालयले अघिल्लो पटक सार्वजनिक गरेको खोप लगाउने मितिमा पनि केही परिवर्तन भएको जानकारी दिएको छ।

अघिल्लो पटकको मितिमा खोप लगाउने केन्द्रहरुमा चाप बढ्ने र तोकिएको मितिमिा धेरै व्यक्तिहरुले खोप लगाउनुपर्ने भएकोले यसलाई संसोधन गरिएको स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रि खड्काले जानकारी दिएका छन्।

चाप कम गर्नका लागि पनि केहि केन्द्रहरु थप गरिएको उनले बताए।

उनले सबै केन्द्रहरुमा १४ हजारको दरले चापलाई मिलाएको बताए।

पहिलेको मिति अनुसार खोप लगाउँदा कुनै दिनमा २० हजारको चाप पर्दछ भने कुनै दिन ६ हजार। यसैलाई ध्यानमा राखेर मिलाइएको हो, खड्काले बताए।

बैशाख २ गतेको निर्णय अनुसार मा १४,१५,१६,१७ र २६,२७,२८ र २९ गते खोप लगाएकाहरुले बैशाख ७ गते दोस्रो मात्राको खोप लगाउन पाउने छन्।

त्यस्तै माघ १८,१९,२०,२१, २२ र फागुन २ गते पहिलो मात्राको खोप लगाएकाले बैशाख ८ गते र माघ २३, फागुन ३,४,५ गतेकाले बैशाख ९ गते लगाउन सक्नेछन्।

माघ २४ र फागुन ६,८ र ९ गते खोप लगाएकाहरुले बैशाख १० गते र माघ ३०, फागुन ७, १० गते लगाएकाहरुले बैशाख ११ गते दोस्रो मात्राको खोप लगाउन सक्नेछन्।

खड्काका अनुसार बीर अस्पतालमा चाप कम गर्नका लागि क्षेत्रपाटी निशुल्क चिकित्सालय, क्षेत्रपाटीलाई थपिएको हो।

त्यस्तै त्रिविवि शिक्षण अस्पतालमा खोप लगाएकाले जनमैत्री अस्पताल, बालाजु र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिलमा जान सक्नेछन्।

नेपाल मेडिकल कलेज, अत्तरखेल र काठमाण्डौ मेडिकल कलेज, सिनामङगलमा खोप लगाएकाले स्तुपा अस्पताल बौद्धमा गएर लगाउन सक्नेछन्।

कोरोना विरुद्धको पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालय, संघसंस्था तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि, सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई नै दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।

खोप लगाउन जाँदा खोप कार्ड र आफ्नो कार्यलयको परिचयपत्र लिएर खोप केन्द्रमा जान आग्रह गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *