निःशुल्क रेबिज खोपको पैसा असुल्दै मलंगवा अस्पताल
सरकारले निशुल्क रुपमा वितरण गर्दै आएको रेबिज विरुद्धको खोपमा सर्लाहीको जिल्ला अस्पतालले शुल्क लिने गरेको पाइएको छ ।
कुर वा अन्य जनावरले टोकेको अवस्थामा रेबिज रोगबाट बच्चका लागि यो खोप लगाइन्छ ।
वर्षेनी रेविजबाट हुने मृत्यु रोक्न सरकारले यो खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
सर्लाहीका एक स्थानीयले आफ्ना बुबा रामकैलाश कलवारलाई कुकुरले टोकेपछि खोप लगाउन जाँदा अस्पतालले रकम लिएको बताए ।
खोप लगाउन अस्पताल पुगेका ५८ वर्षिय कलवारले खोप लगाउनेको भीड नै देखे।
खोप लगाउनु अघि सबैलाई ३५ रुपौंयाको टिकट काट्न लगाइयो भने खोपको लागि भनेर अतिरिक्त ६०० को बिल तिर्न लगाएको उनले बताए ।
अन्य सेवाग्राहीले पैसा तिरेको देखेर कलवारले पनि पैसा तिरे र खोप लगाए।
स्वास्थ्यकर्मीहरुले तीन पटकसम्म खोप लगाउन पर्ने भन्दै प्रत्येक पटकको पैसा लाग्ने बताएका थिए ।
‘रेबिज खोप निशुल्क पाउनुपर्ने हो तर बुबालाई भने पैसा तिर्न लागायो,’ उनले भने।
उनले आफ्नो बुबालाई किन पैसा तिरेको भनि सोध्दा जति पनि मानिसहरु रेबिज खोप लगाउन आएका थिए, ती सबैले पैसा तिरेकोले आफूले पनि तिर्न बाध्य भएको बताए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिड)ले देशैभरका अस्पतालहरुमा निःशुल्क खोप दिने गरेको छ।
अन्य अस्पतालहरुमा निशुल्क खोप दिइरहेका छन्। यो अस्पतालले भने शुल्क लिइरहेको छ, एक स्वास्थ्यकर्मीले बताए।
‘सुरुमा त विश्वास नै लागेको थिएन बिल नै हेरेपछि त विश्वास गरेँ।
अस्पतालले सरकारले दिएको निशुल्क खोपमा पनि पैसा लिएर सोझोे जनतालाई ठगिरहेको छ,’ उनले भने।
मलंगवा अस्पतालका प्रमुखले खोपको शुल्क लिने गरेको स्वीकारेका छन्।
डा. सञ्जिव सिहंले कर्मचारीहरुको सेवा र सुविधाका लागि शुल्क लिने गरेको बताए।
‘सरकारले हामीलाई खोप त पठाउँछ। तर खोप लगाउन खटिएका कर्मचारीहरुको तलब सुविधाका लागि जनतासँग खोपको पैसा लिने गरेको हो,’ उनले भने।
अस्पतालको विकास समितिको बोर्डले नै रेविज विरुद्धको खोपको पैसा लिने निर्णय गरेको सिंहले बताए।
सरकारले रेबिजको खोप किन्नका लागि हरेक वर्ष १० करोड रुपौंया बजेट छ्ट्याउँछ।
सन् २०३० सम्म रेविजको अन्त्य गर्ने लक्ष्य बोकेको छ, तर कुकुरले टोकेर खाप लगाउन आउने संख्या हरेक वर्ष बढ्दै गइरहेको छ।