खोपको दुरुपयोग : चीनको भिसा देखाउँदै भारतीयले लगाए खोप

चीनको अनुदानमा प्राप्त भएको कोभिडविरुद्धको (भेरोसेल) खोपको दुरुपयोग भएको छ।

नेपाली नागरिकहरुका लागि वितरण गरिँदै आएको खोप भारतबाट आएका भारतीय नागरिकहरुले धमाधम लगाउन थालेका छन्।

सरकारले १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालयपारी व्यापार गर्ने नेपाली व्यापारीले खोप पाउने भनी निर्णय गरेको थियो।

त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी–व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि, फलफूल तरकारीलगायतका व्यापारीलाई पनि खोप लगाउन मन्त्रालयले अनुमति दिएको थियो।

परिचयपत्र विना नै खोप वितरण गरिरहँदा भारतीय नागरिकहरुले यसको फाइदा उठाइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाइरेक्टर सागर राजभण्डारीले जानकारी दिए।

अस्पतालमा भारतीय नागरिकहरु नेपाल आउनेबित्तिकै सुटकेश नै बोकेर खोप लगाउन पुगेपछि शंका गरिएको थियो। परिचय पत्र माग्दा भारतीय पासपोर्ट देखिएपछि खोप लगाउन रोक लगाइएको थियो।

‘१० देखि १५ जना मानिसहरुले चाइनाको भिसा देखाएर खोप लगाएका थिए। हामीले क्रस चेकिङ गरेर हेर्दा भरतीय नागरिक रहेको जानकारी पायौं। त्यसैले तत्काल खोप लगाउन बन्द गरेको हो,’ राजभण्डारीले भने।

बुधबार टेकु अस्पतालमा खोप दिन बन्द गरिएको थियो भने पछि आएका मानिसहरुलाई काउन्सिलिङ गरेर फर्काइएको थियो।

‘हरेक दिन २०–२५ जना मानिसहरु आउने गरेका छन्। हामीले अहिले परिचयपत्र हेरेरमात्र खोप लगाउने गरेका छौं। भारतीय नागरिकहरुलाई भने काउन्सिलिङ गरेर फर्काएका छौं,’ उनले भने।

टेकु अस्पतालमा भिसा देखाएर खोप लगाउन आएकालाई रोक लगाएपनि अन्य अस्पतालहरुमा लगाइराखिएको उनले बताए।

‘वीर अस्पताल र काठमाडौं मेडिकल कलेजमा पनि लगाइराखेको जानकारी पाएका छौं’,उनले भने।

वीर अस्पतालले यस्तो घटना भएको सुनेपछि सबै खोप लगाउन आउने व्यक्तिहरुको अनिवार्य परिचयपत्र हेर्न थालेको एक अधिकारीले बताए।

नेपालमै लामो समयसम्म बसोबास गर्दै आएका भारतीय नागरिकलाई प्रमाण ल्याई खोप लगाउन आए वञ्चित नगरिने तर, अन्यलाई भने नलगाउने उनको भनाइ छ।

नेपालमै भएका भारतीय नागरिकहरुको नाममा हालसालै आएका व्यक्तिहरुले लाभ उठाउन खोजेको राजभण्डारीले बताए।

‘हामीले नेपालमा बसोबास गर्ने, रोजगार, ज्याला मजदुरी गर्ने व्यापारीहरुलाई यसबाट वञ्चित गर्न मिल्दैन। तर, उनीहरुको नाममा अन्यले फाइदा उठाइरहेको छ,’ उनले भने।

चिनियाँ सरकारले चीनमा अध्ययन, भ्रमण गर्नखोज्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा चीनमै निर्मित खोप लगाएको हुनुपर्ने नियम ल्याएको थियो।

नेपालस्थित चिनियाँ दूतावासलेसमेत आफूले गर्ने भिसा सहजीकरणका लागि चीनमा निर्मित खोपको पूरा मात्र लगाएको हुनुपर्ने प्रवाधान ल्याएको थियो।

उक्त प्रावधान र सुविधाको अवाञ्छित लाभ चीनमा व्यापार गर्ने भारतीय व्यापारीहरूले लिन खोजेको आशंका गरिएको छ।

सरकारले चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप काठमाडांैका २३ वटा खोप केन्द्रबाट वितरण गरिरहेको छ। हालसम्म ५० हजारभन्दा बढीले यो खोप लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय