जुन पाठ सरकारले कोरोना महामारीको पहिलो लहरबाट सिक्न सकेन

मगंलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हदृयेश त्रिपाठीले पत्रकार सम्मलेन मार्फत दैनिक ११ हजार सम्म संक्रमित थपिने दावी गरे ।

अहिलेकै अनुपातमा संक्रमण बढेमा असार सम्ममा ६ लाख संक्रमित पुग्ने प्रक्षेपणसमेत स्वास्थ्य मन्त्रालयको छ ।

नेपालमा कोराना दोस्रो छाल सुरूवात भइसकेको छ।

‘युके भेरियन्ट’ तथा ‘डबल म्युटेन्ट भेरियन्ट’ समेत फैलिसकेको पुष्टि भइसकेको छ।

अघिल्लो वर्ष महामारी मच्चाएको भाइरस बदलिएको स्वरूपमा तीब्र रुपमा विस्तार भइरहेको छ।

अर्थात, रोग सार्ने क्षमता बढि तथा बिरामीलाई ‘गम्भीर’ अवस्थामा पुर्याउने प्रतिशत निकै बढि हुन्छ।

पछिल्लो समय भारतमा देखिएको संक्रमण र मृत्युदरले पनि यो कुरा प्रष्ट पार्छ।

भारतमा दैनिक लाखौं संक्रमित थपिएका छन् भने हजारौंको मृत्यु भएको छ।

पहिलो लहरमा सबैभन्दा बढी कात्तिक ५ मा एक दिन ५ हजार ७४३ जना संक्रमण पुष्टि भएको थियो।

यो संख्या अहिले सम्मको उच्च हो।

त्यसबेलामा उपलब्ध पुर्वाधार तथा स्रोत–साधनले धानेका थिएन।

धेरै व्यक्तिको एम्बुलेन्स नपाएर, आइसियु तथा भेन्टिलेटर अभावमा ज्यान गुमाउनु पर्यो।

नेपालमा कोरोना संक्रमण सुरूवात भएको एक बर्ष नाघिसकेको छ।

अहिले नेपालसहित विश्व नै कोरोनाको दोस्रो–तेस्रो लहर फैलिरहेको छ।

तर, सरकारले कोरोना दोस्रो लहरसँग समाना गर्नका लागि आंकडा र जोखिमको प्रक्षेपणबाहेक कुनै तयारी गरेको छैन्।

संक्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण गर्ने सरकारले यसको रोकथाम, नियन्त्रणका पाट्टो प्रभावकारी कदम चाल्न सकेको देखिँदैन।

कोरोना नियन्त्रणको पाटोमा धेरै हदसम्म जनस्वास्थ्यको मापदण्ड नै पालना गर्नु हो।

तर, यसो भन्दै गर्दा संक्रमण फैलिएको खण्डमा बिरामी जोगाउनका लागि स्रोत–साधनको प्रर्याप्त व्यवस्थापन हुन जरूरी छ।

समय थियो र पनि थपिएनन् उपकरण

सांकेतिक तस्बिर

पहिलो कोरोना लहरमा ५ देखि १० प्रतिशत संक्रमितलाई आइसियु तथा भेन्टिलेटरमा राख्नु परेको थियो।

तर, दोस्रो लहरमा फैलिएको ‘नयाँ–नयाँ भेरियन्ट’ तथा ‘डबल म्युटेन्ट भेरियन्ट’ धेरै गुणा संक्रामक रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन्।

अहिलेको फैलिरहेको भाइरसले युवा वर्गलाई समेत भेन्टिलेटरमा पुर्याइरहेको छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको तथ्यांक हेर्ने हो भने अधिंकाश भर्ना भएका व्यक्ति युवा नै आइसियु तथा भेन्टिलेटरमा उपचार भइरहेको छ।

‘अहिले फैलिरहेको भाइरस पहिलाको तुलाना धेरै संक्रामक रहेको अन्य देशमा भएका घटना क्रमले देखाएको छ,’ डा. अधिकारी भन्छन्, ‘सरकारले समयमा नै स्रोत–साधनको व्यवस्थापन नगर्ने हो धेरै मानिसलाई जोगाउन सकिँदैन।’

उनका अनुसार नयाँ भेरियन्टले २५ देखि ३० प्रतिशत मानिसलाई आइसियु तथा भेन्टिलेटरको आवश्यकता पर्दछ।

जसमध्ये भर्ना भएका ७० प्रतिशतभन्दा बढी अक्सिजनको आवश्यकता पर्छ।

तर, कोरोनालाई सामना गर्नका लागि हामीसँग आइसियु १ हजार ४ सय ८७ तथा भेन्टिलेटर ६ सय ३४ मात्रै छ।

यो पुर्वाधार प्रर्याप्त नभएको मन्त्रालयका अधिकारी स्वीकार गर्छन।

कोरोना सुरूवात हुनुअघि हामीसँग १ हजार १ सय ४८ आइसियु र ४ सय ४२ भेन्टिलेटर थियो।

तर, एक वर्षको दौडानमा ३ सय ३८ आइसियु र १ सय ९२ भेन्टिलेटर थप भयो ।

कोरोना संक्रमणले भयानक अवस्था निम्ताउँछ गर्दै गर्दा समाना गर्नका लागि सरकारसँग कुनै योजना छैन।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम उपकरण थप्नुपर्ने कुरामा सहमत छ ।

कोरोना नियन्त्रण गर्नका लागि जनस्वास्थ्यका मापदण्ड एक मात्र विकल्प भएकाले सरकारले कडा रूपमा प्रस्तुत भएर काम गर्नुपर्ने उनको भनाइ छ।

‘जनस्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई जरिवानाको व्यवस्था गर्नुपर्छ,’ डा. गौतम भन्छन्, ‘३ करोड नै जनतालाई आइसियु तथा भेन्टिलेटर पुर्‍याउन सकिँदैन।’

सरकारले कोरोना उपचारमा आवश्यक ६ हजार हाइ डिपेन्डेन्सी युनिट निर्माणका लागि बजेट निकासा गरेको थियो।

यसका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार रूपैयाँ निकासा भएको हो।

जसका केन्द्रिय तथा प्रदेश अस्पतालका बजेट पठाएको थियो।

तर, केही अस्पताल हाइ डिपेन्डेन्सी युनिट निर्माण गरेपनि केही अझै धेरै प्रदेशले यसको तयारीसमेत गर्न सकेका छैनन्।

जहाँ सरकार चुक्यो

पहिलो कुरा त सरकारले कोरोनाको बारेमा आम जनतालाई बुझाउन नै सकेन।

‘सरकारले नै माघ–फागुनमा सभा, जुलुसको आयोजना गर्यो। जुन ठुलो गल्ती थियो,’ डा. गौतम भन्छन्।

नागरिकलाई जनस्वास्थ्यको मापदण्ड सिकाउन नै कमजोरी भएको उनी स्वकीर गर्छन।

‘भीडभाड गर्दा, दुरी कायम नगर्दा कोरोना लाग्छ भन्ने सिकाउन सकेको भए। यो अवस्था आउन थिएन,’ डा. गौतमले भने।

त्यसैगरी, जुलुस, सभा, सम्मेलन, स्कुल, कलेजमा समाजिक दुरी कायम हुननसक्दा भाइरस फैलिएको डा. गौतम दोस्रो गल्तीको रूपमा स्वीकार गर्छन।

‘मानिसहरू कोरोनालाई पुरै बिर्सिए। माघ, फागुनमा धेरै सभा–सम्मेलन भयो। त्यसको नतिजा आज देखा परेको टेकुका अस्पतालका डा. अनुप बाँस्तोला बताउँछन्।

‘नयाँ जीवनमा, नयाँ मापदण्ड साथ जीवन निर्वाह गर्न सक्नुपथ्र्यो। कोरोना हाम्रो वरिपरि नै घुमिरहेको थियो। भीडभाड, सभा, सम्मेलन गर्यौ। जुन गल्तीले जसले संक्रमण बढ्नमा थप मद्दत मिल्यो,’ डा. बाँस्तोला थप्छन्।

नेपालमा एक महिना नै बेलायतबाट आएका मानिसमा भाइरस पुष्टि भएको थियो। जसबाट नै विज्ञहरू नयाँ भेरियन्ट नेपालमा भित्रिएको बताउँदै आएका थिए।

तर, यसविषयमा सरकारले खासै चासो देखाएन।

नयाँ भाइरस छिमिकी मूलक (भारत) फैलिँदै गर्दा सिमा नाकालाई कडाई गर्नुपर्ने थियो। तर, त्यो काम पनि हुन सकेन।

सीमामा आउनेलाई पिसिआर परीक्षण गर्ने र नतिजा टुंगो नभइन्जेल कम्तीमा दुई साता क्वारेन्टिन राखेर मात्र घर पठाउनुपथ्र्यो।

तर, यो बीचमा हजारौं मानिस बिना परीक्षण घरघर पुगेका छन्।

‘नयाँ भेरियन्ट’ को ठुलो असर देखिन अझै केही समय लाग्छ।

संक्रमण बढ्ने नजर अन्दाज गर्दै सरकारले आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, बेड, जनशक्तिलाई तालिम दिने जस्ता विषयमा पुरै तयारीमा जुट्नु पर्ने थियो। तर, यि कुराहरू व्यवस्थापनमा पनि सरकार कमजोर नै देखिन्छ।

हाल, संक्रमण दिन–दिनै चुलिँदै गएको छ।

बेड नपाएर संक्रमित अस्पतालमा बेड चाहिरहेका छन्।

पहिलो लहरबाट नै प्रष्ट भएको छ।

संक्रामक रोगको लागि छुट्टै कोभिड अस्पतालको आवश्यकता पर्दछ।

तर, सरकारले एक बर्ष बित्तिसक्दा पनि संक्रामक रोगका लागि छुट्टै अस्पतालको कुनै काम गर्न सकेको छैन।

छ त, केवल घाेषणा मात्रै।

‘केही उपकरण थप गरेका छौ। तर, यो प्रर्याप्त छैन। पहिला ४–५ प्रतिशत गम्भीर भएका थिए। तर, अहिले १५–२० गम्भीर भएका छन्। भारतको रूपमा संक्रमण फैलिएको अवस्थामा नेपालले धान्न सक्दैन,’ डा. गौतमले भने।

‘हाम्रो स्वास्थ्य संरचना तथा जनशक्ति कस्तो छ सबै कुरा थाहा छ। अहिले दोस्रो लहरको व्यवस्थापन गर्न धेरै गाहे हुने देखिएको छ,’ डा. गौतम भन्छन्, ‘ जसले मृत्यु बढाउने निश्चित छ।’

भीडभाड नियन्त्रण गर्ने पाटो ढिलो भएको डा. गौतम स्वीकार गर्छन।

‘एक हप्ता अघि देखि भीडभाड कम गर्नुपर्ने थियो। अहिलेसम्म गर्ने सकेका छैनौं। भीडभाड कम नगरी कोरोनालाई पराजित गर्न सक्दिैन,’ उनी थप्छन्।

‘भोलका दिनमा अस्पताल नपुग्दै बाटो, घर, अस्पतालको करिडोरमै बिरामीको मृत्यु हुन थाल्छ। के गर्ने स्वास्थ्य प्रणालीले धान्ने अवस्था नआएपछि के नै गर्न सकिन्छ छ र,’ उनी भन्छन्।

अब के?

कोरोना नियन्त्रण तथा रोकथाम पहिलो काम हो।

दोस्रो, उपचार तर संक्रमितको व्यवस्थापन ।

कोरोनाको पहिलो लहरमा सरकारले समयमै परीक्षण, क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन गर्न नसक्दा भयावह अवस्था आएको थियो।
तर, यो कुरा सरकारले पहिलाको लहरको पाठको सिकेजस्तो देखिँदैन।

दोस्रो लहरमा नै परीक्षण, क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन व्यवस्थापनमा सरकारको संक्रिय भूमिका चाहिने डा. अधिकारी बताउँछन्।

डा. गौतमका अनुसार तुरून्तै भीडभाड हुने स्थान स्कुल, कलेज तथा रात्रीकालिन व्यवसाय बन्द गर्नुपर्छ। जुन सरकारले आम सरोकारवालालाई आग्रहसमेत गरिसकेको छ ।

‘एक हप्ताअघि नै भीडभाड व्यवस्थापन गर्नुपर्ने थियो। संक्रमण फैलिसकेको छ। हामीले गल्ती गरिरहेका छौं,’ उनी भन्छन्।

‘जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नेलाई ऐनअनुसार कारवाही गर्नुपर्दछ,’ डा. गौतमले भने, ‘ हामीले सम्बन्धित निकायलाई पटक–पटक सुझाव दिएका छौं। तर, खै किन कार्यन्वयन हुन सकेको छैन।’

अब कडा रूपमा सरकार नउत्रिएको खण्डमा भयावह हुने डा. गौतम सहमत छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *