भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर, एकको आज मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ।

अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सातजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार संक्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका ९३ जनाको निधन भएको छ।

बाँकेमा सक्रिय संक्रमितको संख्या २८२ पुगेको छ। बाँकेमा अहिलेसम्म कूल ५ हजार ४३ जनामा कोरोना पोजेटिभ भएकामा ४ हजार ७०२ जना डिस्चार्ज भइसकेका छन्।

बाँकेमा पछिल्लोपटक आज बिहान गुर्भाकोट नगरपालिका-१३ सुर्खेत निवासी ३१ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।

एक हप्ताअघि भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान ७:३५ मा मृत्यु भएको वलीले जानकारी दिए।

बाँकेमा बढ्दै गएको संक्रमण रोकथामका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगञ्ज उपमहानगरपालिकाभित्र साविकमा सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेसन पुनः सञ्चालन गर्ने, कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ शय्याको आइसोलेसनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय