नेपालले कोरोनाको दोस्रो लहर व्यवस्थापन गर्न सक्दैन : डा. जागेश्वर गौतम

हेल्थपोस्ट नेपाल

कोरोनाको दोस्रो लहरले नेपालमा ठूलो क्षति पुर्‍याउने आँकलन विज्ञहरूले गरेका छन्।

यसअघि सरकारले स्रोत र साधनको पर्याप्त व्यवस्थापन गर्न नसक्दा धेरै बिरामीको उपचार नपाएर निधन भएको थियो।

दोस्रो लहर अझै बढी भयानक हुने चिकित्सकले दाबी गरेका छन्।

दोस्रो लहरको सामना गर्न स्वास्थ्य मन्त्रालय कस्तो तयारीमा जुटेको छरु

यो प्रश्न हामीले मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई सोधेका छौं।

डा. गौतमले भने, ‘कोरोनासँग जोगिने भनेको जनस्वास्थ्यको मापदण्ड पालना गर्ने हो।

त्यो बाहेक अन्य विकल्प हामीसँग छैन।

‘हाल खोपको प्रभावकारिता हेर्ने हो भन्ने ७० प्रतिशत छ। खोपले पनि सतप्रतिशत जोगाउन सक्दैन। म त खोपभन्दा मास्क नै रोज्छु,’ उनले भने।

तर, मानिसहरूले अझै जनस्वास्थ्यको मापदण्ड पालना गरेका छैनन्।

जनस्वास्थ्यको मापदण्ड पालना गर्नका लागि नागरिकलाई बुझाउन नसकिएको डा. गौतम स्वीकार गर्छन।

‘नागरिकलाई कोभिड कसरी सर्छ भन्ने सिकाउन नसक्नु हाम्रो कमजोरी भयो,’ उनी भन्छन्, ‘कोभिड कसरी सर्छ भनेर पुरै जनताको मानसिकता परिवर्तन गर्न सकेको भए अहिलेको यो अवस्था आउँदैन थियो।’

सरकार वा अन्य विरोधी दलले आमसभा, भेला, बैठक गरेर कोभिड फैलाउने गल्ती गरेको डा. गौतमको भनाइ छ।

‘हामीले बैठक, आमसभा, सम्मेलन र भीडभाड हुने ठाउँ सञ्चालन गर्न छुट दियौँ। त्यो अर्को गल्ती भयो,’ उनले भने।

मन्त्रालयले कोरोना प्रभावित १४ जिल्लामा विद्यालयमा बालबालिका नपठाउनेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागी नहुन अपिल गरेको छ।

भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठकमा सहभागी नहुन मन्त्रालयले अनुरोध गरेको छ।

‘हामीले पटक–पटक सम्बन्धित निकायलाई सिफारिस तथा आग्रह गरेका छौं। कोरोना सक्रमणको चक्रलाई हेर्दा विद्यालय तथा कलेज तुरून्तै बन्द गर्नुपर्छ,’ उनी भन्छन्।

कोरोना नियन्त्रण गर्नका लागि जनस्वास्थ्यका मापदण्ड एक मात्र विकल्प भएकाले सरकारले कडा रूपमा प्रस्तुत भएर काम गर्नुपर्ने उनको भनाइ छ।

‘जनस्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई जरिवानाको व्यवस्था गर्नुपर्छ,’ डा। गौतम भन्छन्, ‘३ करोड नै जनतालाई आइसियु तथा भेन्टिलेटर पुर्‍याउन सकिँदैन।’

तर, स्रोत–साधनको व्यवस्था भए पनि आइसियु तथा भेन्टिलेटरमा राख्नुपरेमा बाँच्ने सम्भावना धेरै न्युन नै हुन्छ।

सरकारले एक वर्षयता कोरोना उपचारका लागि केही स्रोत–साधन जुटाउन सकेको छ । तर, त्यो पर्याप्त छैन।

‘हामीले केही उपकरण थप गरेका थियौँ। पहिलो लहरजस्तो अवस्थामा जसो–तसो धान्न सक्थ्यो होला। तर, दोस्रो लहरमा यो उपकरणले पुग्दैन,’ डा. गौतम बताउँछन्।

पहिलो कोरोनाको लहरमा संक्रमितमध्ये ४–५ प्रतिशतमा गम्भीर समस्या देखिएको थियो। तर, दोस्रो लहरमा यो प्रतिशत ह्वातै बढ्ने देखिएको छ।

भारतमा अनियन्त्रित भएको संक्रमणलाई मध्यनजर गर्दा नेपालको स्रोत–साधनले नधान्ने प्रष्ट भइसकेको डा. गौतमको भनाइ छ।

‘अहिले १२–१५प्रतिशतलाई नै गम्भीर समस्या देखिएको छ। भर्ना भएकामध्ये ७५ प्रतिशतलाई अक्सिजनको आवश्यकता परेको छ,’ उनी भन्छन्, ‘मन्त्रालयले संक्रमण फैलिएको अवस्थामा व्यवस्थापन गर्न सक्दैन।’

‘म डाक्टर हो। अस्पताल, डाक्टर, नर्स, स्वास्थ्य सेवा कस्तो छ भनेर सबै कुरा थाहा छ। दोस्रो लहरमा व्यवस्थापनमा गर्न सक्ने अवस्था छैन। त्यसैले, जनस्वास्थ्यको मापदण्ड पालना प्रयोग गरौँ,’ उनले भने।

‘एक हप्ताअघि नै भीडभाड व्यवस्थापन गर्नुपर्ने थियो। संक्रमण फैलिसकेको छ। हामीले गल्ती गरिरहेका छौं,’ उनी भन्छन्।

भोलिका दिनमा बिरामी गम्भीर भएपश्चात अक्सिजन दिन नसकेर वा स्वास्थ्य सेवा नपाएर मृत्यु हुने अवस्था आउने डा. गौतमको भनाइ छ।

‘भोलका दिनमा अस्पताल नपुग्दै बाटो, घर, अस्पतालको करिडोरमै बिरामीको मृत्यु हुन थाल्छ। के गर्ने स्वास्थ्य प्रणालीले धान्ने अवस्था नआएपछि के नै गर्न सकिन्छ छ र,’ उनी भन्छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *