भीडभाड नरोकिए संक्रमण केही हप्तामै डरलाग्दो गरी फैलन्छः डा समीरमणि दीक्षित

नेपालमा नयाँ स्वरुपमा कोरोना भाइरस भेटिएसँगै संक्रमितहरु पनि दिनहुँ बढ्दै गइरहेका छन्।

संक्रमणको दोस्रो लहरले युवा वर्गलाई पनि प्रभावित पारिरहेको छ बालबालिकालाई कम संक्रमण हुन्छ भन्ने यसअघिको विश्वासलाई पनि माथ दिँदै परिवर्तित भाइरसले आतंक फैलाइरहेको छ।

नेपालमा केहीदिन यता ५ सयभन्दा बढी संक्रमित थपिन थालेका छन् भने चार हजारभन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन्।

कोरोना भाइरसले स्वरुप परिवर्तन गर्दै आइरहेको छ, जसमा युके भेरियन्ट, दक्षिण अफ्रिका र ब्राजिल भेरियन्ट र भारतको डबल म्युटेन्ट केही महिना पहिल्यै देखिइसकको थियो।

नेपालमा युके भेरियन्टको भाइरसले संक्रमण फैलाईसकेको छ भने बुधबारमात्रै सरकारले डबल म्युटेन्टको पुष्टि गरेको छ।

कति व्यक्तिहरुलाई नयाँ भेरियन्टका भाइरसहरुले संक्रमण ग¥यो, न त सरकारलाई थाहा छ न त परीक्षण नै हुन सकेको छ।

नयाँ भेरियन्टको भाइरस हो भनेर थाहा पाउन जीन सिक्वेन्सिङ गर्नुपर्दछ, तर यसका लागि नेपालका अस्पतालहरुमा कुनै प्रविधि नै छैन।
अस्पतालमा आइसीयुका शैय्या भरिन थालेका छन् भने संक्रमितले शैया नपाउने स्थिति हुन थालेको छ। तर सभा, सम्मेलन तथा चाडपर्वहरुमा भीडभाड रोकिएका छैनन्।

भीडभाड तथा सम्मेलनहरु नरोकिए केही हप्तामा संक्रमण डरलाग्दो रुपमा फैलिने तथा मृत्युदर बढ्ने सम्भावना रहेको बताउँछन् जनस्वास्थ्यका जानकार तथा अनुसन्धानकर्ता डा। समीरमणि दीक्षित।

‘अस्पतालका चिकित्सकहरुले युवाहरु नै बढी संक्रमित तथा गम्भीर बिरामी भएको भनिरहँदा कति संख्यामा वृद्धि भइरहेको छ भन्ने तथ्यांक सरकारले राख्न सकेको छैन,’ उनले भने, ‘पहिला पनि संक्रमण फैलिँँदा युवा वर्गमा धेरै देखिएको थियो। पछि उनीहरुकै माध्ययमबाट जोखिममा रहेका वर्ग, वृद्ध, दीर्घरोगी, बालबालिकाहरुमा सरेको हो, जसले गर्दा नेपालमा मृत्युदर बढ्दै जान थाल्यो।’

कोरोनाको पहिलो लहरबाट सिक्नु जरुरी रहेको उनी बताउँछन्। ‘युवाहरु नै बढी संक्रमित र गम्भीर भए भन्ने तथ्य गलत हो। जो भेला, सभामा बढी जान्छन् उनीहरु नै बढी संक्रमित हुनु स्वाभाविक हो। उनीको माध्यमबाट जोखिम वर्गलाई सर्ने र गम्भीर विरामी बनाउने सम्भावना रहेको छ। त्यसैले, अब जोखिममा रहेका वर्गलाई जोगाउन ध्यान दिनुपर्छ,’ उनले भने।

डा दीक्षितका अनुसार छिटो सर्ने हुनाले धेरै जनामा सङ्क्रमण फैलिँदा स्वाभाविक रूपले धेरै संख्यामा बालबालिकाहरूमा सर्न सक्छ।

गत वर्ष जस्तो लकडाउन तथा स्कूल बन्द नभएकाले धेरै बालबालिका यसै पनि संक्रमणको बढी जोखिममा परेको उनले बताए।

यूके भेरियन्ट छिटो सर्ने भएपनि त्यो पुरानो कोरोनाभाइरसभन्दा ज्यादा घातक भएको तथ्याङ्क नआएको डा। दीक्षितले बताए।

‘हामीले जति सक्दो धेरै परीक्षण बढाउनु पर्छ। अब लकडाउन तथा सिमाना बन्द गर्नुको औचित्य छैन। मानिसहरुलाई परीक्षण गर्दै घरमा आइसोलेसनमा राखे केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय