आफू बाँच्न मान्छेले ‘मारिरहेको’ प्रकृति

अघिल्लो सालको ठ्याक्कै यही दिन। अर्थात् २०७६ वैशाख १ गते। सारा दुनिया सुनसान थियो। प्रकृति आफ्नै लयमा थियो।

रुखबाट झरेका ‘भँगेरी फूल’ बिच्छिएर काठमाडौंका सडक बैजनी रंगमा घुलेको थियो। ‘किचड’ले थिलथिलिएको धोबीखोला किनारामा फुलेका फुलका रंग ढलले कालो भएको पानीमा तैरिएका थिए।

चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन कायमै थियो। सारा मानिस घरभित्रै थिए। चैत–वैशाखको त्यो ‘उखरमाउलो’ घामको मजा सहरियाले लुट्न पाएनन्।

नयाँ वर्षको ‘उत्सव’मा ठमेल र दरबारमार्गका सडकहरू रंगीन भएनन्।

चारैतिर सन्नाटा। नेपालमा पनि दिनदिनै कोरोनाले आफ्नो साम्राज्य फैलाउँदै थियो। विश्वको कुनै सहरमा जनावरबाट मान्छेमा हाम्फालेको ‘कोरोना–भाइरस’ संसारभरका मान्छेमा फैलिसकेको थियो।

मान्छे घरभित्र थिए। प्रकृतिको ताल उही प्राकृतिक नै थियो। सहर अनि सडक सुनसान थिए। मात्रै भय र त्रासका ‘भयानक’ समाचारहरूले मान्छेका कान गुन्जिरहेका थिए।

पूरै विश्व शान्त थियो। हल्ला र चिच्याहटलाग्दो दैनिकीले कोलाहलपूर्ण सहरहरू शान्त थिए।

दिक्दारलाग्दो सहरिया कोलाहल थिएन।

पूरै विश्व मानव इतिहासकै एउटा भयानक ‘महामारी’सँग लडिरहेको थियो।

र, त्यो शान्त वातावरणभित्र मृत्युको ‘मौन चिच्याहट’ मात्रै थियो।

‘अघिल्लो वैशाख १ गते नेपालमा जम्मा १४ जना कोरोना संक्रमित थिए। कसैको पनि मृत्यु भइसकेको थिएन।

यो वैशाख १ गतेसम्म आइपुग्दा २ लाख ८० हजार ९ सय ८४ जना संक्रमित पुगिसकेका छन्। ३ हजार ५८ जना मानिस कोरोनाका कारण मृत्युको शिकार भइसकेका छन्। यो बीचमा धेरै नेपाली त्यो कहरबाट निस्किन सफल भए।

एकपटक अलि शान्त भइसकेको ‘कोरोनाभाइरस’ले यो वैशाखसम्म आइपुग्दा फेरि अर्को रुप धारण गरेर फर्किएको छ।

यो वैशाखमा सरकारले मान्छे ‘थुनेको’ त छैन। तर, आफै थुनिनुपर्ने बाध्यता कोरोनाको दोस्रो छालले हुत्याउँदै ल्याइसकेको छ।

फेरि प्रकृतितिरै

इतिहासका धेरै खण्डहरूमा मान्छे प्रकृतीसँग खुब लडेको छ, मात्रै आफू बाँच्नका लागि। तर, यो शताब्दी यस्तो भइदियो कि अब मान्छेले त्यही प्रकृती जोगाउनुपर्ने भएको छ, फेरि पनि आफै बाँच्नका लागि।

मान्छेले आफ्ना लागिमात्रै जहिले पनि प्रकृतिलाई नै सताइरह्यो। आफ्नो शान्तिका लागि प्रकृतिलाई बिथोलिरह्यो। आफू हाँस्नका लागि प्रकृतिलाई रुवाइरह्यो। आफू रहनका लागि प्रकृतिलाई नाशिरह्यो।

आफ्नो प्राण जोगाउनका लागि अर्काको प्राण लिइरह्यो।

आफ्नो बाँच्ने स्वार्थका लागि मान्छेले अनेकन तर्कहरू जन्मायो। अनेकन ‘जवाफ’ बनायो।

दार्शनिक भोल्टेयरले कुनै ठाउँमा भनेका छन्– मान्छेले तर्क गर्छ, प्रकृतीले ‘एक्सन’ लिन्छ।

मानव इतिहासमा सबैभन्दा भयानक भइरहेको ‘कोरोना भाइरस’, त्यही ‘एक्सन’को एउटा पाटो हो।

विश्वका १३ करोड ७३ लाख ९३ हजार ५ सय ५० मानिसलाई गलाएर, २९ लाख ६१ हजार ८ सय २३ जना मानिसलाई निलिसकेको ‘कोरोना भाइरस’, त्यही ‘एक्सन’को एउटा क्रुर तथ्य हो।

‘हर बिहान थोत्रा गाडीको मक्किएको आवाज अनि चिच्याटलाग्दो ‘हर्न’हरूले अत्तालिँदै बडा सकसपूर्ण निद्रा निदाउने सहरिया चराको चिर्रबिर आवाजमा ब्यूँझिन थालेका थिए।

एउटा ‘शुक्ष्म’ भाइरस जति ‘शुक्ष्म’ छ, त्यो भन्दा पनि यति शक्त्तिशाली भइदियो कि सारा मानव घरभित्रै लुक्नुपर्‍यो। प्रकृतीको लयमा ‘सुमधुर’ भएका चराहरूले मान्छेलाई फेरि त्यही लयमा ब्यूँझाउन थालेको थियो।

गुगलको एउटा तथ्याङ्कअनुसार लडडाउनभरि विश्वभरका मानिसले इन्टरनेटमा ‘चराका आवाज’ खुब खोजे। विरुवाका प्रकार खोजे। विरुवा

रोप्ने अभियानबारे जानकारी लिन खोजे। जनावरहरूका बारेमा धेरै भन्दा धेरै खोजी गरे।

अर्थात् प्रविधिमार्फत नै किन नहोस्, मान्छे फेरि प्रकृतीकै सानिध्य हुन चाहिरहेको छ।

अघिल्लो वर्ष लकडाउनका बेला पन्जावको जालन्धर सहरबाट करिब २ सय किलोमिटर टाढा रहेका हिमश्रृङ्खलाहरू प्रष्ट देखिएका थिए।

करिब ३० वर्षपछि भारतीयले घरका छतबाट हिमालय श्रृङ्खला आँखाभरि हेर्न पाए।

काठमाडौंका सहरबाट पनि हिँउका थुम्काहरू आँखै नजिक टल्किए।

विश्वका ३० मध्ये सबैभन्दा प्रदुषित २२ सहर भारतमै छन्। भाइरसका कारण ‘लकडाउन’ हुनुअघि त्यही प्रदुषणका कारण भारतमा ‘आपतकाल’ लगाइएको थियो।

यसपालि त काठमाडौं सहर पनि ‘खराब हावा’ भएकामध्ये विश्वकै एक नम्बर सहर भयो। त्यो पनि वर्षमै दुईदुईपटक।

बैशाखे घाम झुल्किनु केही दिनअघि काठमाडौं सहर फोहोरको बादलले छोपिँदा दिउँसै अँध्यारो थियो।

हावामा मिसिएका ती फोहरका ती पत्रहरू अझैं पनि काठमाडौंका आकाशमा छितरिइरहेका छन्।

अघिल्लो वर्ष छ्याङ्ग आकश यो वर्ष अझै उघ्रिन सकेको छैन। कारण त्यही हो, त्यो बेला ‘लकडाउन’ थियो। अहिले छैन। मान्छे फेरि बेफिक्रि हुन थालेको छ।

जलवायु परिवर्तन, प्रकृती र महामारी

विश्व स्वास्थ्य संगठनले यही महामारीका बीच पटक पटक सारा विश्वलाई सचेत पार्दै आएको छ कि – जलवायु परिवर्तनका कारण सन्निकट अरु महामारीका लागि तयार रहनुपर्ने बेला आइसकेको छ।

प्रकृतीका संचरना अनि यसको सन्तुलन खलबलिदैँ जाँदा वर्षौंपछि देखा पर्ने परिवर्तन नै जलवायु परिवर्तन हो। अर्थात् हामीले महसुस गर्ने त्यसको परिणाम जलवायु परिवर्तन हो।

विश्वको कुनै कुनाबाट मान्छेमा आएको ‘कोरोना’भाइरससँग जलवायु परिवर्तनको सम्बन्ध ठ्याक्कै के छ?

यसबारे कुनै बैज्ञानिक अध्ययन वा अनुसन्धानका प्रतिवेदनहरू अझै आइसकेका छैनन्।

तर, विश्व स्वास्थ्य संगठनका जवायु परिवर्तन महाशाखाका सल्लाहकार आर्थर आयान्सले केही समयअघि भनेका थिए, ‘अरू भाइरस र महामारीहरुजस्तै अहिलेको यो नोबेल कोरोना भाइरसको सम्बन्ध जलवायु परिवर्तनसँग एकदमै स्पष्ट छ।’

अघिल्लो वर्ष चैत अन्तिम सातातिर एउटा ब्रिफिङमा उनले भनेका थिए, ‘विश्व स्वास्थ्य संगठनमा रहेर जलवायु परिवर्तन र मानव स्वास्थ्यको अध्ययन गरिरहेको एक सदस्यको हैसियतले भन्दैछु कि मानवजातिले यी आघातहरूको सामना गर्नुपर्ने अवस्था जलवायु परिवर्तनले निम्त्याएको एक हिस्सा हो।’

अर्थात् जलवायु परिवर्तनको प्रभाव यो महामारीको कुनै न कुनै छेउमा पक्कै गाँसिएको छ।

समथर ठाउँका विषालु सर्पहरू पहाड उक्लिएर मान्छे डस्नु। पहाडमा डेंगीको प्रकोप फैलिनु लामखुट्टेको बसाइ सराइको स्पष्ट प्रमाण हो।

‘कोरोना भाइरसका कारण फैलिरहेको महामारीलाई ठ्याक्कै जलवायु परिवर्तनसँग जोड्न त सकिँदैनँ। किनकि यसमा अहिलेसम्म कुनै

अध्ययन अनुसन्धान भइसकेको छैन’ स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान अधिकृत डा.मेघनाथ धिमाल भन्छन् ‘तर, प्रकृतीसँग यो पक्कै गाँसिएको छ। किनकि प्रकृतीसँग मानिस जति जति नजिक हुँदै जान्छ। त्यसलाई मास्न खोज्छ अनि त्यसको प्रभाव त परिहाल्छ नि।’

उनका अनुसार कोरोना भाइरस जनावर वा जीवबाट मानिसमा सरेको प्रमाणित भइसकेको छ। एकअर्कोमाथि एकदमै निर्भर हाम्रो ‘पर्यावरणीय’ चक्रलाई बिथोल्न खोज्ने मान्छेको एउटा अदृश्य प्रयाससँगै त्यस्ता भाइरस मान्छेमा सर्छ।

अर्थात् आफ्नो ‘भोक’ मेटाउन मानिसले जीव–जनावरको मासु खान खोज्छ। त्यसका लागि उ शिकार गर्न तम्सिन्छ। जनावरमा भएका त्यस्ता भाइरस यसैगरी सजिलैसँग मान्छेमा ‘डेरा’ सार्छन्।

मान्छे र प्रकृतीबीचको संघर्षमा यो एउटा उदाङ्गो सत्य नै हो।

अब के?

प्रकृतीलाई छुँदै नछुने होइन। त्यसलाई खलबल्याउँदा मात्रै यस्ता संकट झेल्नुपर्छ।

यसमा कुनै एक व्यक्त्ति वा एउटामात्रै राष्ट्रको प्रयासले मात्रै पुग्दैन। त्यसका लागि सारा विश्वको एउटा साझा संकल्प चाहिन्छ।

प्रकृती– अब मास्ने होइन, बचाउने हो। मान्छे बाँच्नका लागि प्रकृतीलाई पनि जोगाउन आवश्यक छ। अर्थात् ‘हामी सबै नबाँचे, पृथ्वीमा कोही पनि बाँच्दैन। केही पनि बच्दैन।’

‘हामीलाई विश्वास छ कि विश्वका सबै राष्ट्रहरू अब एउटा विश्वस्तरीय नयाँ सन्धीमार्फत सँगसँगै अघि बढ्नेछन्। अहिले सामना गरिरहेको र भविष्यमा आउनसक्ने अर्को यस्तै नयाँ महामारीका लागि पनि।’

यही संकल्पलाई केही दिनअघि विश्वका २० भन्दा धेरै राष्ट्रप्रमुखहरू एउटा साझा अपिल गरेका थिए। उनीहरूले भनेका थिए–
‘अझै धेरै महामारी अनि थुप्रै स्वास्थ्य संकट बेहोर्नै बाँकी छ। यो चुनौतीलाई कुनै एकमात्रै राष्ट्र अनि बहुपक्षीय एउटा संस्थाले मात्रै सामना गर्न सक्दैन। अहिले होला कि नहोला भन्ने होइन, नभए कहिले होला त?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय