कोरोनाको ‘हटस्पट’ शैक्षिक संस्था, बालबालिकालाई संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौंको पेप्सिकोलास्थित एउटा निजी विद्यालमा आफनो छोरा पढाइरहेका एक अभिभावक केही दिनयता निकै तनावमा छन्।

कोरोनाको दोस्रो लहर तीव्र भएको समाचार सार्वजनिक भएसँगै उनी आफनो छोरालाई स्कुल पठाउने कि नपठाउने भनेर द्विविधामा छन्।

‘बिहान सबेरै स्कुल गएको छोरो साँझ आउँदा रुघाखोकीले ग्रस्त भयो।

केही दिन घरमा आराम गर भनेर स्कुल पठाइनँ,’ उनी भन्छन्, ‘अब नपठाउँ, कति दिन नपठाउने, उता स्कुल चलिरहेको छ, छोराको पढाइ छुट्ला भन्ने पिर भइसक्यो।’

अनामनगरस्थित एक विद्यालयमा आफ्नो छोराछोरीलाई पठाउँदै आईरहेका काभ्रेका एक अभिभावक पनि यस्तो अवस्थामा स्कुलै बन्द गर्नुपर्ने बताउँछन्।

अहिले चलाइएको खोप अभियान ५५ वर्ष काटेका, स्कुल कलेजका शिक्षक विद्यार्थीमा लक्षित हुनुपर्ने र त्यसले संक्रमणको जोखिम कम हुने उनको अनुमान छ।

०००

यतिखेर शैक्षिक संस्थाहरु कोरोना संक्रमणको ‘हटस्पट’ बनिरहेका छन्।

अधिकांश विद्यालय, कलेजहरुले तोकिएको स्वास्थ्य मापदण्ड नअपनाउँदा विद्यार्थीहरु संक्रमणको जोखिममा छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार संक्रमण पुष्टि भएका ५५९ जनामध्ये २४ जना १८ वर्ष मुनिका छन्। पछिल्लो १० दिनको  तथ्यांकलाई हेर्ने हो भने पनि २८० बालबालिकामा संक्रमण देखिएको छ। सोमबार पाँच वर्षका एक जनामा पनि संक्रमण देखिएको थियो।

त्यस्तै २८ चैतमा ५२ बालबालिका, २७ चैतमा ३४, २६ चैतमा ५१, २५ चैतमा २५, २४ चैतमा २६, २३ चैतमा १६, २२ चैतमा १४ र २१ चैतमा ११ जना बालबालिका संक्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो समय शैक्षिक संस्थाहरु कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गईरहेको बताए।

मंगलबार स्वास्थ्य मन्त्रालयले बालबालिकामा संक्रमण बढेसँगै विद्यालय एक महिनासम्म बन्द गर्न सिफारिस गरेको छ भने केही दिनअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले केही साता विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।

काठमाडौंका केही विद्यालयले अनलाइनबाटै पढाउने क्रमलाई निरन्तरता दिए पनि अधिकांशले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरिरहेका छन्।

यद्यपि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमण बढे पनि तत्काल कुनै पनि शैक्षिक संंस्था बन्द नगर्ने निर्णय गरेको थियो। बैठकले अझै केही दिन संक्रमणको दरलाई हेरेर नयाँ रणनीति अपनाउने निर्णय गरेको छ।

बालबालिका संक्रमित हुनु राम्रो संकेत होइन : डा शेरबहादुर पुन
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बालबालिकाहरु संक्रमित हुनु राम्रो संकेत नभएको बताउछन्।पछिल्लो समयमा स्वास्थ्यका मापदण्डमा गरिएको हेल्चेक्र्याईँ नै  यसको परिणाम भएको उनको भनाइ छ।

स्कुल, कलेजमा विद्यार्थीहरु लामबद्ध रुपमा आवतजावत गर्ने भएकाले एउटा संक्रमित विद्यार्थीले अर्को स्वस्थ विद्यार्थीलाई संक्रमण गर्न सक्ने उनी बताउँछन्।

‘त्यसैले यसलाई कसरी व्यवस्थापन हुन्छ भन्ने चुनौतीको विषय हो,’ उनले भने। विद्यार्थीका कारण परिवारका वृद्धवृद्धा र दीर्घरोगीलाई संक्रमण हुनसक्ने उनले बताए।

अहिले नेपालमा कोरोनाको खोप अभियान चलिरहेको छ। करिब १९ लाख नेपालीले खोप लगाइसकेका छन्। तर मानिसहरुमा कोरोनाको खोप लगाएपछि आफूलाई संक्रमण हुन्न भन्ने भ्रम रहेको डा. पुन बताँउछन्। ‘कोरोनाको खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित नहुने भएकाले स्वास्थ्यको प्रोटोकललाई विशेष ख्याल गर्नुपर्छ,’ उनले भने।

विद्यार्थी संक्रमित हुँदा पनि बन्द गरिएन विद्यालय
केही विद्यालयले विद्यार्थी संक्रमित भएको थाहा हुँदाहुँदै पनि कक्षा सञ्चालन जारी राखेका छन्।

उपत्यकाको एक प्रतिष्ठित विद्यालयमा कार्यरत एक शिक्षकले भने, ‘कोरोना संक्रमित भएको थाहा हुँदाहुँदै पनि ती विद्यार्थी रहेको सेक्सनमात्र बन्द गरियो, अन्य कक्षा चलिरहे।’

विद्यार्थीहरु कक्षाभित्रमात्र सीमित नहुने र स्कुलमा दैनिक ८ घण्टा बिताउँदा सबै साथीसँग सम्पर्कमा रहने भएकाले संक्रमण फैलिन सक्ने सम्भावना निकै प्रबल रहेको उनी बताँउछन्।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा भने मुलुकभर विभिन्न पार्टी, सेमिनार, भीडभाड हुने कार्यालय जारी रहे पनि विद्यालयलाई मात्र सङ्क्रमण फैलाउने क्षेत्र भनेर व्याख्या गर्न नहुने बताउँछन्।

‘कोभिड १९ देखिएमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ,’ उनी भन्छन्, ‘तर कोरोना लागेको सही  तथ्यांक सार्वजनिक गर्नुपर्नेमा लुकाउन खोज्नु राम्रो होइन, यसो गर्दा परिणाम राम्रो हुँदैन।’

निर्णय गर्ने अधिकार स्थानीय तहलाई : शिक्षा मन्त्रालय
कोरोना संक्रमणको जोखिम उच्च भएको स्थानमा शैक्षिक संस्था बन्द गर्ने वा नगर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई  छ।

कोरोना भाईरसको संक्रमणले शिक्षा क्षेत्रमा नराम्रो प्रभाव देखिएपछि शिक्षा मन्त्रालयले तयार गरेको विद्यालय सन्चालन कार्यढाँचाको अनुसरण सबै विद्यालयले गर्नु पर्ने  शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन्।

‘शैक्षिक संस्थामा स्वास्थ्यको प्रोटोकल कार्यान्वयन गर्ने, स्कुल कसरी सन्चालन गर्ने भन्ने सबै कार्यढाँचामा उल्लेख गरिएको छ, यसलाई व्यवहारमा लागू गर्ने अधिकार स्थानीय तहलाई दिईएको छ,’ शर्माले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *