कोरोना त्रासले हैन, रोजगार खोसिएपछि स्वदेश फर्कदै नेपाली
‘६ महिनादेखि दिल्लीस्थित एक विद्यालयको क्यान्टिनमा काम गर्दै आएको थिएँ, कैलालीको चुरे गाउँपालिका–३ का नवराज ओझाले भने, ‘तर अहिले विद्यालय बन्द भए अनि मेरो रोजगार खोसियो, काम नपाएपछि घर फर्कन बाध्य भएँ ।’
सोमबार भारतको दिल्लीबाट गौरिफण्टा नाका हुँदै घर फर्केका ओझाले कोरोना त्रासले नभई रोजगार गुमाएपछि घर फर्केको बताए।
उनीजस्तै डोटीको शिखर नगरपालिका–५ का नरेश आउजी पनि बेरोजगार भएपछि घर फर्किएका छन्।
भारत सरकारले देशमा रात्रिकालिन लकडाउन गरेपछि आउजीको रोजगार खोसियो। अनि उनी पनि घर फर्किए।
‘म मुम्बइको एक रेष्टुरेष्टमा रात्रिकालीन काम गर्दै आएको थिएँ,’ उनले भने, ‘त्यहाँको सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्न आदेश दिएपछि साहुले हामीलाई जागिरबाट निकाल्यो, विना रोजगार त्यहाँ बस्नुको औचित्य नभएपछि हामी स्वदेश फर्कियौं ।’
२०७६ सालमा कोरोना संक्रमण फैलँदै गर्दा भारतमा रोजगारीका लागि भएका नेपाली नागरिकमा रोगको त्रास थियो।
त्यतिवेला रोजगारीको बेवास्ता गरेर ज्यान जोगाउन भन्दै हजारौं नेपाली ठूलो दुःख गरेर स्वदेश फर्किएका थिए।
तर अहिले अवस्था फेरिएको छ। नागरिकमा अहिले कोरोनाको त्रास घट्दो क्रममा देखिन्छ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्दै जाँदा केही स्थानमा लकडाउन घोषणा गरिएको छ भने राति ९ बजेपछि देशभर कफ्र्यू घोषणा गरिएको छ।
जसका कारण हजारौं नेपाली नागरिकको रोजगारी खोसिएको बझाङका ललित भण्डारीले बताए।
‘अहिले रोजगारदाताले श्रमिकलाई धमाधम कामबाट निकालिरहेका छन्’ भारतका लागि सेती महाकाली प्रवासी सेवा समिति तामिललाडु राज्यका सह–सचिवसमेत रहेका भण्डारीले भने, ‘बेरोजगार भएपछि नेपाली धमाधम घर फर्कन थालेका छन्, रोगप्रति कसैलाई चिन्ता छैन।’ उनले रोजगार कायमै रहेका नेपाली भारतमै बसेर काम गरिरहेका बताए।
‘मसँगै तमिलनाडुमा काम गर्ने सयौं नेपालीको रोजगार सुरक्षित छ,’ उनले भने, ‘तर स–सानो व्यवसायमा काम गर्दै आएका धेरैको रोजगार खोसिएको छ, उनीहरु वेरोजगार भएपछि नेपाल गएका छन् । रोजगारी पाएका धेरै श्रमिकको रोजगार गर्ने दिन पनि कटौति हुन थालेका उनले बताए।
जगार गुमाएका केही नागरिक भने अझै पनि भारतमै रोजगारीको खोजीमै रहेका कैलालीको गोदावरी नगरपालिका–११ का चिन्ठु बिकले बताए।
‘भरखरै काममा लागेका धेरै व्यक्तिलाई कोरोना बढेपछि साहुले कामबाट निकालेका छन्’ उनले भने, ‘त्यस्ता व्यक्ति अझै पनि अर्को रोजगारीको खोजिमा भारतमै छन्, उनीहरुलाई रोगको नभई भोकको चिन्ता छ।’