विद्यालय संचालनमा नयाँ मापदण्ड

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन गर्न आग्रह गरेको छ ।

कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय संचालन गर्न निर्देशन दिएको हो।

बुटवलका केही विद्यालयका शिक्षकलाई कोरोना संक्रमण देखिएको छ ।

नगरपालिकाको विद्यालय संचालनका लागि दिइएको निर्देशनमा घरकै खाजा, पानी प्रयोग गर्ने देखि सकेसम्म स्कुल बस प्रयोग भनिएको छ ।

त्यसैगरी बार्षिक परीक्षाका लागि तयारी अवस्थामा रहन विद्यालयहरुलाई निर्देशन गरिएको छ ।

जोखिममा रहेको समुदायलाई सुरक्षित बनाउने र समुदाय स्तरमा सचेतना जगाउने उद्देश्यले शैक्षिक संस्था सञ्चालनको नयाँ मापदण्ड बनाएर निर्देशन गरिएको प्रमुख शिवराज सुवेदीले बताए।

बालबालिकालाई कोरोनाबाट जोगाउने र उनीहरूलाई नै परिवार हुदै समुदायमा सन्देश वाहक दुतका रुपमा पनि परिचाल गर्नेगरी योजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालय, शिक्षक र अभिभावक समेतलाई अलग अलग मापदण्ड बनाएर निर्देशन गरिएको बताए ।

के छ नयाँ मापदण्डमा

खनालका अनुसार उपमहानगरपालिकामा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा लागू हुनेगरी मापदण्ड बनाइएको उनले बताए । विद्यालय प्रवेश र बसमा चढ्नु अगाडि थर्मल गनबाट अनिवार्य तापक्रम नाप्ने, गुणस्तरीय मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न भनिएको छ । त्यसैगरी सकेसम्म बालबालिकालाई बसमा नचढाई अभिभावकले विद्यालय पुर्याउने र विद्यालय परिसरमा साबुन पानीको व्यवस्था मिलाउनुपर्ने लगायत अन्य स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।

त्यसैगरी बुटवलको नयाँ मापदण्डमा विद्यार्थीले खाजा पानीसमेत घरबाट ल्याउनुपर्ने र टिफिन ब्रेक नगरी लगातर कक्षा सञ्चालन गरेर छिटो विद्यार्थी छोड्न आग्रह गरिएको छ ।

त्यसैगरी कक्षा सञ्चालन गर्दा एउटा कक्षामा तीसजनासम्म विद्यार्थी र एउटा बेञ्चमा दुईजना मात्र विद्यार्थी राख्न पनि उपमहानगरले आग्रह गरेको छ ।

शैक्षिक भ्रमण नगर्न र लक्षण देखिए पिसिआर गर्न सम्पर्क राख्नु

जेठमा गर्ने भनिएको वार्षिक परीक्षा जुनसुकै बेला पनि गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै बुटवल उपमहानगरले सम्पूर्ण विद्यालयलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

साथै यो समयमा शैक्षिक भ्रमण लगायतका कार्यक्रम नराख्नसमेत विद्यालयलाई निर्देशन जारी गरिएको छ ।

विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोभिडसँग मिल्ने लक्षण देखिएमा पीसीआर परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यस्तै कुनै पनि बालबालिकाका अभिभावकमा पनि कुनै लक्षण देखिएको सूचना पाएमा सम्बन्धित वडा कार्यालय मार्फत समन्वय गर्नेगरी संयन्त्र तोकिएको उपमहानगरले जनाएको छ ।

कोरोना महामारीको बेला बुटवल नगरपालिकाले शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा फिवर क्लिनिकदेखि कोरोना विशेष अस्पताल संचालन गरेको थियो ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *