कोरोनाको नयाँ प्रजाति समुदायमै, पोखरा र काठमाडौमा बढी

नेपालमा नयाँ भेरियन्ट (प्रजाति)को कोरोना भाइरस सामुदायमै फैलिसकेको पाइएको छ।

पछिल्ला दिनहरुमा भेटिएका नयाँ संक्रमणका केसहरुको परिक्षण गर्दा भेरिएन्टको समुदाय तहमै फैलिएको पाइएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)का निर्देशक डा. कृष्ण पौडेलका अनुसार नयाँ भेरियन्टको संक्रमणको दर तीन हप्तामा दुई तिहाइले बृद्धि भएको छ।

इडिसिडीको तथ्याङकअनुसार सबै भन्दा बढि संक्रमण काठमाण्डौ उपत्यका र पोखरामा देखिएको छ।

हरेक दिन ४ हजार हाराहारीमा नमूना परीक्षण गर्दा तीन सय हाराहारीमा नयाँ संक्रमण पुष्टि भइरहेको छ ।

यसरी पोजेटिभ देखिएका नमूनालाई रेन्डम स्याम्पलिङका आधारमा थप नमुना परीक्षण गर्दा केही नयाँ भेरियन्ट (‘एस’ जीन नेगेटिभ) भेटिएको डा. पौडेलले जानकारी दिए ।

पोखरामा एक सय ७६ जनामा गरिएको परीक्षणमा एक सय पाँच जनामा ‘एस’ जीन नेगेटिभ भेटिएको छ ।

काठमाण्डौमा ७६ जनामा गरिएको परीक्षणमा ४८ जनामा ‘एस’ जीन नेगेटिभ आएको हो।

पौडेलका यो तथ्याङक केही दिन यताका नमुनाको हो ।

यो सँगै अधिंकास (१० देखि २० बर्षसम्मका बालबालिकामा पनि नयाँ भेरियन्टको पुष्टि भएको छ।

देशैभर कति नयाँ भेरिएन्टको संक्रमित छन् भन्ने एकिन तथ्याङक महाशाखा सँग छैन।

कसरी थाहा पाउने नयाँ भेरियन्टको कोरोना?

नयाँ भेरियन्ट कोरोना पनि ‘कोभिड–१९’ भाइरसकै परिवर्तित स्वरुप हो। यो कुुनै नयाँ भाइरसको उत्पत्ती होइन। भाइरसले समय अनुरुप आफ्नो रुप परिवर्तन गरेको हो ।

त्यसै सिलसिलामा कोभिड–१९ ले आफ्नो स्पाइक प्रोटिन–एस जीन (भाइरसको बाहिरको काँडा)मा परिवर्तन गरेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार भाइरसमा पाँचवटा जीन रहेका छन्ः एस, ई, एन, ओआरएफ र आरडिआरपी।

हाल नयाँ भेरियन्टको भाइरसले आफ्नो ‘एस’ जीनमा परिवर्तन गरेको हो।

विश्वभरी देखिएको नयाँ भेरियन्टको भाइरसमा ‘एस’ जीन मात्र नेगेटिभ आएको छ भने बाँकी सबै जीन पोजिटिभ देखिएको छ।

यसको अर्थ पिसिआर टेस्ट तथा जीन सिक्वेन्सिङ गर्दा कोरोना संक्रमण देखिएको व्यक्तिमा ‘एस’ जीन नेगेटिभ र अन्य जीन पोजिटिभ देखिए उक्त संक्रमितमा नयाँ भेरिएन्टको भाइरस पुष्टि हुन्छ।

भारत, बेलायत, जापान, अफ्रिका र अन्य देशहरुमा कोरोनाको विभिन्न भेरिएन्ट देखिएको छ। तर नेपालमा कुन भेरिएन्टको भाइरस फैलिएको यकीन भन्न नसकिने गुप्ताले बताए।

‘नयाँ भेरिएन्टको जीन कुन देशसंग मिल्छ भनेर जीन सिक्वेन्सिङ नगरी थाहा हुन्न।

नेपालमा पनि जीन सिक्वेन्सिङ गर्ने मेसिन ल्याइदैछ । परीक्षण गर्न विदेशमा पठाएको नमूनाको नतिजाका अनुसार नेपालमा ‘यूके भेरियन्ट’ सँगै मिल्दोजुल्दो भाइरस फैलिएको हुनसक्ने डा. पौडेलले बताए।

उनका अनुसार संक्रमणको संख्या बढ्नुको कारण चाँडै सर्ने ‘यूके भेरियन्ट’ भनिने सार्स–कोभ–२ को नयाँ प्रकार हो ।

‘केही हप्तादेखि यूके भेरियन्टसँग मिल्दोजुल्दो प्रकारको भाइरस भेटिन थालेको छ। भारतबाट फर्किनेहरूमा एन्टिजन परीक्षण गर्दा पोजिटिभ पाइएकाहरू मध्ये नमुना परीक्षण गर्दा पनि यो भेरिएन्टसँग मिल्दोजुल्दो प्रकार भेटिएको छ,’ उनले भने।

चिकित्सकहरुको नजरमा नयाँ भेरियन्ट

कोरोना संक्रमण प्रत्येक दिन बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले स्पष्ट देखाउँछ।

यति मात्र नभएर उपत्यका तथा जिल्ला बाहिरका विभिन्न अस्पतालहरुमा संक्रमितको संख्या वृद्धि भएर अस्पतालको शैया र आइसियुको पनि अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूमा आइतबार मात्र २० वटा आइसियुमा १८ वटा आइसियु कोरोना संक्रमित छन् ।

त्यस्तै कोरोना वार्ड र इर्मजेन्सीमा पनि विरामीकोे संख्या वृद्धि भएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए।

त्यस्तै सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा पनि ३० जना कोरोना संक्रमित कोरोना वार्डमा भर्ना भएका छन् भने १० जना आइसियुमा रहेका छन्।

पाटन अस्पतालमा पनि आइसियुको शैया सबै भरिइसकेको छ भने अस्पतालमा आउनेको संख्या ह्वातै बढेको अस्पतालका निर्देशक डा. रवी शाक्यले बताए।

संख्याको वृद्धिसँगै पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितमा यस अघिका भन्दा फरक लक्षणहरू धेरै देखिएको चिकित्सकहरू बताउँछन् ।

ज्वरो, खोकी, स्वासप्रस्वासका लक्षण तथा समस्या लिएर अस्पताल आउने विरामीहरुको संख्या धेरै नै बढेको छ।

थकान भएका, टाउको दुखेका मानिसहरू र ज्वरो फर्किएका जस्ता कुनै विशेष लक्षण नभएका मानिसहरूमा अस्पताल आएपछि परीक्षण गर्दा निमोनिया देखिन थालेको डा. बास्तोलाले बताए।

टेकु अस्पताल गम्भीर बिरामीको चाप बढेको छ । भर्ना हुनेहरुमा अधिकाशं युवा छन्।

त्यस्तै सशस्त्र प्रहरी अस्पतालमा १७ वर्ष मुनिका व्यक्तिहरु पनि गम्भीर बिरामी भएर आईसियुमा भर्ना भएका छन्।

‘अस्पतालमा नयाँ भेरियन्टको परीक्षण गर्न नसकिने हुँदा विभिन्न लक्षण लिएर आएका र गम्भीर बिरामी भएका संक्रमितहरु यहि कारण बिरामी भएको भन्न सकिँदैन। तर उनीहरुको अवस्था र लक्षणहरु हेर्दा नयाँ भेरियन्ट नै भएको हो भन्ने अन्दाज लगाउन सकिन्छ’ डा. प्रविन नेपालले भने ।

अहिले धेरै मानिसहरु साधारण रुघा खोकी, टाउको दुख्ने, सास फेर्न गाहे, अक्सिजनको कमी हुने, र कुनै लक्षण बिना नै संक्रमित भइरहेको उनले बताए।

संक्रमणको जोखिममा युवा

विज्ञहरूले कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण निकै छिटो फैलने बताएका छन् । यति नै बेला विद्यालय समेत खुलेकाले अहिले त्यो बालबालिकामा समेत उल्लेख्य रूपमा देखा परेको चिकित्सकहरू बताउँछन्।

इडिसिडिको तथ्याङक अनुसार पोखरामा अधिकाशं कोरोना संक्रमण तथा नयाँ भेरियन्ट विद्यार्थीहरुमा देखिएको छ।

इन्जिनियरिङका विद्यार्थीहरुमा सरेको कोरोना अन्यमा सरेको छ वा छैन भन्नेकुरा थाहा पाउन परीक्षण नगरी थाहा नहुने डा. पौडेल बताउँछन्।

‘कन्ट्रयाक्ट ट्रेसिङका लागि सम्बन्धित निकाएलाई खबर पठाएका छौं तर सबै जनाको परीक्षण भने गर्न सकेका छैनौं,’ उनले भने।

विभिन्न अस्पतालको तथ्याङक केलाउँदा सबैजसो कोरोना संक्रमित भर्ना भएका अस्पतालमा युवा वर्ग नै छन्।

‘अहिले भइरहेको भीडभाड, भेला, सभा तथा चाडपर्वहरुले संक्रमण फैलिन मद्दत गरिरहेको छ,’ डा. बास्तोलाको भनाई छ ।

अबको एक दुई हप्तामा संक्रमितको संख्या ह्वातै बढ्ने सम्भावना रहेको उनले बताए।

‘भित्रभित्रै संक्रमण व्यापक फैलिरहेको छ। त्यो जुनकुनै बेला फुट्न सक्छ,’ उनले बताए।

उनले लक्षण दखाएका व्यक्तिहरुले समयमै परीक्षण गराईदिए आइसोलेसन तथा क्वारेन्टाइनमा राख्न सकिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय