सुदूरपश्चिम : संक्रमित आइसोलेसन सेन्टरमा, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु धमाधम घर फर्कंदै

हेल्थपोस्ट नेपाल

पछिल्लो तीन दिनमा भारतका विभिन्न स्थानबाट गौरिफन्टा नाका हुँदै सुदूरपश्चिम भित्रिएका एक हजार ६ सय बढी नागरिकको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ सय ५१ जनामा संक्रमण पुष्टि भयो।

संक्रमण पुष्टि भएकाहरुलाई धनगढीस्थित वेलीमा निर्माण गरिएको आइसोलेसनमा पठाइने गरिए पनि उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सार्वजनकि यातायातमा बसेर आ–आफ्नो गन्तव्यस्थलतर्फ फर्किरहेका छन्।

त्यसरी कन्ट्याक्ट टेसिङमा परेका नागरिकलाई ओसार्ने सार्वजनिक यातायातमा भने सुरक्षा सतर्कता शून्य छ।

यातायात व्यवसायीले अनिवार्य सुरक्षाका उपाय अपनाउने लिखित प्रतिबद्धतासमेत जनाईसकेका छन्।

तर व्यवहारमा भने कार्यान्वयन भएको छैन। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सबै व्यवसायीलाई अनिवार्य सुरक्षाका उपाय अपनाउन पत्राचार  गरिएको भए पनि कार्यान्वयन हुन नसकेको बताए।

‘हामीले मात्रै भनेर केही हुँदैन,’ अध्यक्ष सापकोटाले भने, ‘सबै व्यवसायीले यसको पालना गर्नुपर्ने हो, त्यसो भएको छैन।’

स्वास्थ्यकर्मीले नागरिकको यस्तो लापर्वाहीका कारण सुदूरपश्चिममा पुनः कोरोना संक्रमण भयावह बन्ने चेतावनी दिइरहेका छन्।

‘सीमामा कोरोना संक्रमण पुष्टि भएका नागरिकलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था गरिएको छ’ सेती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा शेरबहादुर कमरले भने–‘तर संक्रमितसँगै एउटै बसमा आएका नागरिकलाई घर पठाइने गरिएको छ, यो हाम्रा लागि खतरा हो ।’

सेती आयुर्वेदिक अस्पतालमा प्रमुख डा खगेन्द्र बमका अनुसार सीमा नाकामा संक्रमित व्यक्तिसँग स्वस्थ व्यक्तिको सम्पर्क भएमा त्यस्तो व्यक्तिमा तत्काल कोरोना पोजेटिभ देखिने सम्भावना हुदैन।

तर, सीमामा उसलाई पोजेटिभ छैन भनेर खुला छोडेमा उसले समुदायमा रोग फैलाउने सम्भावना उच्च हुनेगर्दछ । व्यक्तिमा कोरोना भाइरस प्रवेश गरेको ३ देखि ७ दिनपछि मात्रै लक्षण देखापर्ने गरेको बताउँदै डा वमले भने–‘सीमामै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिमा तत्काल कोरोना पुष्टि हुँदैन, सम्पर्कमा आएका व्यक्तिले कम्तिमा १० दिन सावधानी अपनाउनै पर्छ ।’

उनले सबै नागरिकलाई आ–आफ्नो तर्फबाट सावधानी अपनाउँदै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय उपनाउन आग्रह गरे।

वेसार उमालेर खाने, तुलसी पत्ताको रस खाने, तातो पानी प्रयोग गर्ने, नियमित व्यायाम गर्ने जस्ता घरेलु उपायको प्रयोग गरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने उनले बताए।

‘पछिल्लो समय देखापरेको संक्रमण पहिलो चरणको भन्दा पनि बढी घातक छ’ वमले भने–‘तर मानिसले अहिले कुनै वास्ता गरेका छैनन्, यो राम्रो हैन, सबैले सुरक्षा अपनाउनै पर्छ।’ सार्वजनिक यातायातमात्रै नभई सबै क्षेत्रमा पछिल्लो समय लापर्वाही बढेको उनले बताए।

यही चैत २३ गते कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकमा यातायात व्यवसायीले अनिवार्य सुरक्षाका उपाय अपनाएर सवारी सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सार्वजनिक सवारीमा स्यानिटाइजर अनिवार्य राख्ने र मास्कको व्यवस्था गर्ने लिखित प्रतिबद्धता बैठकमा व्यवसायीले जनाएका थिए।

यातायात व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने जिम्मा पाएको प्रहरी र ट्राफिक प्रहरीले नियम उल्लङघन गरेको पाइएमा कारबाही गर्न सक्ने अधिकार बैठकले नै दिएको थियो ।

तर ती नियमको न त यातायात व्यवसायीले पालना गरेका छन्, न प्रहरीले नै नियम पालना नगर्नेलाई कारबाही नै गरेको छ। सुन्दर सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदम सापकोटाले सवै व्यवसायीलाई नियम पालना गर्न पत्र पठाइएको भए पनि कारबाही नभएको बताए ।

‘नियम नमान्नेलाई प्रहरीले कारबाही गर्न सक्ने अधिकार बैठकले नै दिएको थियो’ अध्यक्ष सापकोटा भन्छन्–‘प्रहरीले कसैलाई कारबाही गर्दैन, हामीले भनेको व्यवसायीले मान्दैनन् ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्ट पहिलो चरणमा प्रहरीले जनचेतना फैलाउने काम गरिरहेको बताए। नियम नमान्नेलाई कारबाही गर्न सक्ने बैठकले निर्णय गरेको भए पनि पहिलो चरणमा सचेतना फैलाउने काम प्रहरीले गरिरहेको उनले बताए।

‘पहिलो चरणमा हामीले सबैलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै आएका छौं’ प्रवक्ता विष्टले भने–‘कारबाही कसैलाई गरेका छैनौं, नागरिक आफैँले रोगप्रति सचेत बन्नु पर्दछ ।’

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सबै नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गरे ।

‘महामारीमा सवै नागरिकले आफ्नो सुरक्षा आफै गर्नुपर्छ’ रिजालले भने–‘यस्तो अवस्थामा कसैलाई कारबाही गर्नुभन्दा पनि सबैले सचेतना अपनाउनु पर्दछ, नियमै नमाने हामी कारबाही गर्न बाध्य हने छौं।’

सवारी चालक, सह–चालकले सबै यात्रुलाई अनिवार्य स्वास्थ्य नियमको पालना गर्न लगाउन प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरे।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले नागरिकमा रोगप्रति जानकारी हुँदाहुँदै सुरक्षाका उपाय नअपनाएको भन्दै अब कारबाही गर्नुको विकल्प नरहेको बताए।

‘कोरोना संक्रमणबाट बँच्ने उपायका बारेमा सबै नागरिकलाई जानकारी भइसकेको छ’, प्रवक्ता कार्कीले भने–‘तर पनि नियमको कसैले पालना गरेको देखिँदैन, अब सबैलाई कारबाही गर्नुको विकल्प छैन ।’

भारतबाट आएका नागरिकलाई सुरक्षित घर गएर १० दिन अनिवार्य क्वारेन्टिनमा बस्न पनि उनले आग्रह गरे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *