कोरोनाको दोस्रो लहर : सोमबार मात्रै ४ को मृत्यु

बुटबल र कैलालीमा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको हो।

यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका–५ निवासी ७९ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको हो। चैत २७ गते अस्पताल भर्ना भएकामा उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो।

त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ। चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले जानकारी दिए।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ।

कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुर्‍याइएका उनको नमूना परीक्षण गर्दा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

गत फागुनमा उनी भारतबाट घर फर्किएको थिए।

सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ। ‘सङ्क्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियुमा उपचार भइरहेको जनाइएको छ।

सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ।

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत एक जना सङ्क्रमितको पनि केही दिनअघि मृत्यु भएको थियो।

रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको श्रेष्ठले बताए।

मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ ।

पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय