कोरोनाको दोस्रो छाल : अस्पतालमा आइसियु बेड भरिए, भेन्टिलेटरमा युवा

हेल्थपोस्ट नेपाल

दिँउसो करिब १ बजे टेकु अस्पताल पुग्दा डा. अनुप बाँस्तोला बिरामीका फाइल पल्टाइरहेका थिए।

सहकर्मीसँग उनी भन्दै थिए– अब भर्ना भएका बिरामीलाई कहाँ राख्ने? आइसियु बेड भरियो।

कुराको सुरुवात हुँदै गर्दा डा. बाँस्तोलाको फोनमा घन्टी बज्यो।

‘अस्पतालमा आइसियुमा बिरामी भरिए। तपाईकोमा के छ रेफर गर्नका बेड खाली छ?,’ कसैले सोध्यो।

‘आजभोलि बेड खाली छ भनेर फोन आउने लर्को लाग्न थालको छ। उपत्यकाका सबै अस्पतालका आइसियु भरिएका छन्,’ डा. बाँस्तालाले जवाफ दिए।

टेकुमा अहिले २३ बिरामी भर्ना छन्। जसमध्ये १८ जना आइसियुमा उपचार भएको छ।

भर्ना भएका अधिकांस काठमाडौंमा बस्ने युवा छन्।

अस्पतालको तथ्यांक अनुसार २३ जना भर्ना भएको मध्ये १८ जना काठमाडौंमा बसोबास गर्नेछन्।

‘निमोनियाबाट ग्रसित भएर युवा वर्ग भर्ना छन्। उनीहरूलाई भेन्टिलेटर राखेर उपचार गर्नुपरेको छ,’ डा. बाँस्तोला भन्छन्, ‘अहिले परिस्थिति फेरियो। पहिला वृद्ध–वृद्धा धेरै हुन्थ्ये। तर, अहिले युवा छन्।’

कोरोनाको दोस्रो लहरमा काठमाडौं उपत्यकाका ‘हटस्पट’ बनेको छ।

काठमाडौं लगायतका ठुला शहरमा उस्तै हाल छ।

‘ठुला सहरी क्षेत्रबाट रिफरल केस आएका छन्। अब हामीसँग बेड छैन। कसरी व्यवस्थापन गर्ने चिन्ता थपिएको छ,’ उनी भन्छन्।

चैत्र १ गते टेकु अस्पतालमा २ जना मात्रै संक्रमित भर्ना थिए।

तर, त्यसपछिका दिनहरू पश्चात बिस्तारै संख्या बढ्दै गयो।

दोस्रो लहर

डा. बाँस्तोलाका अनुसार नेपालमा संक्रमण बढ्नुका पछाडि दुई कारण छन्।

पहिलो नागरिकले जनस्वास्थ्यको मापदण्ड प्रयोग गरेनन्।

दोस्रो नयाँ ‘भेरियन्ट।’

डा. बाँस्तोला एक उदाहरण दिँदै भन्छन्– भुकम्प आएको केही महिनासम्म मानिसमा दुई तलेभन्दा घर बनाउँदिन भन्ने मानिसकता थिए।
तर, केही दिनमा ‘भुकम्प’को पराकम्पनलाई बिर्सिए। पुनः ठुला घर निमार्ण गर्न थाले।

हो, यस्तै भयो कोरोनामा पनि।

‘मानिसहरू कोरोनालाई पुरै बिर्सिए। माघ, फागुनमा धेरै सभा–सम्मेलन भयो। त्यसको नतिजा आज देखिँदै छ,’ डा. बाँस्तोलाले भने।

‘नयाँ जीवनमा, नयाँ मापदण्ड साथ जीवन निवार्ह गर्न सक्नुपर्थ्यो,’ डा. बाँस्तोला भन्छन्, ‘कोरोना हाम्रो वरिपरि नै घुमिरहेको थियो। भीडभाड, सभा, सम्मेलन बढ्यो। जसले संक्रमण बढ्नमा थप मद्दत मिल्यो।’

त्यस्तै, संक्रमण फैलिने अर्को आधार नयाँ भेरियन्टको प्रवेश हो।

नेपालमा हाल ‘युके भेरियन्ट’ फैलिसकेको चिकित्सको दाबी छ।

विदेशबाट आएका मानिसमा कुनै निगरानी हुन सकेन।

‘सरकारले मापदण्ड त कायम गर्यो। तर, अनुगमन गर्न सकेन। विद्यालय जनस्वास्थ्य मापदण्ड अनुसार खोल्न निर्देशन दियो। तर, अनुगमन शुन्य। जसका कारणले विद्यालय ‘हटस्पट’ बन्यो,’ डा. बाँस्तोला भन्छन्।

अहिले ‘क्लस्टर’ को रूपमा संक्रमण फैलिएको छ। जुन धेरै संक्रामक छ।

‘केही मानिसमा पिसिआर गर्दा ‘एस जिन’ नेगेटिभ भएको पुष्टि भयो। मेसिनले ‘एस जिन’ चिन्न नसक्नु भनेको कोरोनाको रूप परिवर्तन हो,’ उनी भन्छन्।

‘एस जिन’ नेगेटिभ हुनुमा अधिंकास युके भेरियन्ट मिल्ने अध्ययनले देखाएको छ।

‘एस जिन’ परिवर्तन हुनुभनेको बढी संक्रामक हुनु वा संक्रमण घट्नु भन्ने बुझिन्छ,’ डा. बाँस्तोलाले भने, ‘ अहिले नेपालको संक्रमणलाई हेर्दा बढी संक्रामक छ भन्ने देखिन्छ।’

भारतमा पनि विभिन्न नयाँ भेरियन्ट देखिएको छ।

भारतमा लकडाउन भएका कारण नेपाल आउने क्रम बढ्दो छ।

खुला सिमानाका कारण लुकीछिपी आउने मानिसले संक्रमण फैलाउने निश्चित छ।

‘२ देखि ४ हप्ताभित्र संक्रमणले भयानक रूप लिन सक्छ’

नेपालमा संक्रमण दोस्रो छाल देखा परिसकेको डा. बाँस्तोला दाबी गर्छन।

‘संक्रमण एक हिसाबमा फैलिसकेको छ। अबको ४ हप्ताभित्रको संक्रमण फैलिन्छ भन्ने अनुमान गर्न सकिन्छ,’ उनी भन्छन्।

डा. बाँस्तोलाका अनुसार यो संक्रमणको फैलावटलाई रोक्न सकिन्छ।

‘अहिले हेर्दा क्लस्टरको रूपमा संक्रमण फैलिएको देखिन्छ। यो संक्रमणलाई रोक्न सकिन्छ,’ डा. बाँस्तोला भन्छन्, ‘हामीले सिकेका रोकथामको उपायहरूलाई आलम्बन गर्ने बेला यही हो।’

सरकार कोरोना नियन्त्रणको लागि बलियो अवस्थामा पुगेको छ।

‘एक बर्ष अघि यही बेलामा हामी आइसियुको निमार्ण गर्दै थियौँ। अहिले बेड तयारी देखि स्वास्थ्यकर्मी तालिम प्राप्त छन्, ’ उनी भन्छन्, ‘तर, अब जनताले साथ दिनुपर्छ। अनिवार्य रूपमा लापरबार्ही नगरि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।’

उनका अनुसार संक्रमण रोक्न ‘हटस्पट’ पत्ता लगाई स्थानीय सरकारलाई नियन्त्रणको जिम्मेवारी दिनुपर्छ।

कोरोना महामारीका कारण धेरै नागरिक आर्थिक अवस्थामा पिल्सिएका छन्।

अब पनि फेरी ‘लकडाउन’ नागरिकले मान्न तयार छैइनन।

दैनिक ज्यालामा काम गरेर जीवन निर्वाह गर्ने सर्वसाधारणलाई सुरक्षित कसरी राख्ने अर्को चुनौतिको विषय छ।

कोरोना रोकथामको चुनौति एर्कातिर छ भने अर्को तर्फ नागरिकलाई भोगमारीको कसरी चुनौति छ।

‘विशेष गरी कोरोनाको रोकथाम कसरी फोसक गर्ने?, कहाँबाट संक्रमण फैलिन सक्छ। जहाँ मापदण्ड तोडिने ठाँउ छन्। त्यहाँ कसरी मापदण्ड लागू गर्ने वा लागू हुन सक्दैन भन्ने कसरी रोक्ने त्यतातिर सोच्नुपर्छ,’ उनी भन्छन्।

जुनसुकै प्रजाती आए पनि कोरोनासँग लड्ने भनेको एक मात्र अस्त्र जनस्वास्थ्यको मापदण्ड नै हो।

कोरोनाको बढ्दो ग्राफ

नेपालमा दैनिक उकालो लाग्दै गरेको कोरोना संक्रमितको तथ्यांकले भोलि भयानक अवस्था आउने निश्चित छ।

हाल दैनिकजसो संक्रमितको संख्या ३ सय माथि पुगेको छ।

संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन।

‘समुदाय स्तरमा परीक्षणको दायरा बढाउने हो भने बिरामी धेरै भेटिन सक्छन्,’ डा. बाँस्तोला भन्छन्, ‘ति व्यक्ति समुदायमा हिडिरहेका छन्।

जसले संक्रमण फैलाएका छन्।’

चैत २२ – ३४५६ पिसिआर, १७६ संक्रमित

चैत २४ – ४२४३ पिसिआर, २६० संक्रमित

चैत २५ – ४१०० पिसिआर, २९८ संक्रमित

चैत २६ – ४००६ पिसिआर, ३३२ संक्रमित

चैत २७ – ४०७१ पिसिआर, २८८ संक्रमित

चैत २८ – ३५३२ पिसिआर, ३३७ संक्रमित

चैत २९ – ३१५० पिसिआर, ३०३ संक्रमित

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *