नेपाल फिजियोथेरापी संघले गर्यो फिजियोथेरापीष्टहरुको शुल्क निर्धारण

हेल्थपोस्ट नेपाल


नेपाल फिजियोथेरापी संघले फिजियोथेरापीष्टहरुको सेवाहरुको न्यूनतम सेवा शुल्क र परामर्श शुल्कका साथै न्यूनतम मासिक तलब निर्धारण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कार्यरत फिजियोथेरापीष्टहरुको मासिक तलब, सेवा शुल्क सम्बन्धी कुनै निर्णय नगरेको भन्दै संघले यो कदम उठाएको विज्ञप्ती मार्फत जनाएको छ।

संघका अध्ययक्ष लक्ष्मण अधिकारीले न्यूनतम मासिक तलब निर्धारणसँगै फिजियोथेरापी सेवा प्रदायकहरुले आफ्नो योग्यता र अनुभव अनुसारको न्याय उचित मासिक तलब पाउने विश्वास गरेको बताए।

उनले न्यूनतम परामर्श शुल्क र सेवा शुल्क निर्धारणले फिजियोथेरापी क्षेत्रमा नयाँ आयामको सुरुवात हुने, गुणस्तरीय सेवा प्रवाहमा थप टेवा पुग्ने र फिजियोथेरापी अभ्यासमा समानता आउने आशा रहेको बताए।

‘नयाँ बर्ष २०७८ को शुभारंभसँगै यस संघले निर्धारण गरेको न्यूनतम सेवा शुल्क, परामर्श शुल्क र मासिक तलब अनुसार फिजियोथेरापीष्टहरुलाई काम गर्न/गराउन सबै सरोकारवालाहरुलाई नेपाल फिजियोथेरापी संघ अनुरोध गर्न चाहन्छ,’ विज्ञप्तीमा भनिएको छ।

न्यूनतम सेवा शुल्क तथा न्यूनतम मासिक तलब फिजियोथेरापीष्टहरुको योग्यता र अनुभवको आधारमा निर्धारण गर्ने भनिएको छ भने तलब निर्धारण गर्दा दैनिक ७ घण्टाको कार्यालय समय मान्ने बताइएको छ।

त्यस्तै बिरामीको उपचारमा लाग्ने समय र फिजियोथेरापीष्टको सक्रियताको आधारमा न्यूनतम सेवा शुल्क निर्धारण गर्ने र फिजियोथेरापीष्टहरुले विशेष सीप अथवा प्रविधिको प्रयोग वापत शुल्क लिन पाउने भनिएको छ।

प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका फिजियोथेरापीष्टहरुकौ पाँच वर्ष अनुभव भएमा १८ हजार देखि २५ हजारसम्म मासिक तलब हुनुपर्ने रहेके छ भने स्नातक तह सहित पाँच वर्ष अनुभव रहेकालाई ३० देखि ४० हजार, स्नातकोतर तह र पाँच वर्ष अनुभव भएकालाई ४० देखि ५५ हजारसम्मको मासिक तलब दिनुपर्ने निर्णय गरिएको छ।

त्यस्तै परामर्श शुल्कको हकमा स्नातक तह सहित पाँच वर्ष अनुभव भएकाले रु ४–५ सय र स्नातकोत्तर हित पाँच वर्ष अनुभव भएकाले रु ५–६ सय लिन पाउनेछन्।

न्यूनतम सेवा शुल्कको हकमा छोटो सत्र (उपचारको समय) भए रु३०० र लामो सत्र भए रु ५०० रहेको छ।

होम भिजिट (बिरामीको घरमै पुगेर सेवा दिए) न्यूनतम एक हजार तोकिएको छ।

 



2 thoughts on “नेपाल फिजियोथेरापी संघले गर्यो फिजियोथेरापीष्टहरुको शुल्क निर्धारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *