‘मेनाेपज’ काे समस्याबारे महिलालाई नै थाहा छैन, पाउँदैनन् परामर्श

हेल्थपोस्ट नेपाल

नेपालका अधिकांश महिलालाई रजोनिवृत्ति (मेनाेपज) हुँदा के हुन्छ भन्ने जानकारी नै नभएको एक अध्ययनले देखाएको छ।

रजोनिवृत्ति (महिनावारी रोकिने) एक प्राकृतिक प्रक्रिया हो।

४५ वर्ष भन्दामाथि उमेर पुगेका महिलाको प्राकृतिक रूपमै महिनावारी रोकिँदै जाने गर्दछ र यो सँगसँगै उनीहरूको प्रजनन शक्ति पनि कम भएर जाने गर्दछ।

रजोनिवृत्ति प्राकृतिक प्रक्रिया रहे पनि नेपालका अधिकांश महिलालाई यसबारे जानकारी नै नभएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे जनस्वास्थ्य विज्ञ डा. पूजा श्रेष्ठको अध्ययनबाट निष्कर्ष निकालिएको छ।

अध्ययनका अनुसार महिलामा देखिने विभिन्न खालका लक्षण रजोनिवृत्तिसँग केन्द्रित भए पनि यसलाई रोग लागेको भनी आत्तिने गरेको पाइएको छ।

महिलामा भएको हर्मोन उमेरसँगै कमजोर हुँदै जान्छ। यसका कारण अण्डाशयले अण्डा निकाल्न बन्द गर्दछ र महिनावारी रोकिने गर्दछ।

यी सबै कारण महिलामा गर्भधारण गर्ने क्षमता पनि नगण्य हुन्छ। यो प्रकृया विस्तारै हुँदै जान्छ।

 

पहिलोपटक महिनावारी हुँदा कस्तो पीडा हुन्छ अथवा कस्ता लक्षण देखिन्छन् भनेर थाहा नभएजस्तै‍‍ अधिकांश महिलालाई रजोनिवृत्ति (मेनाेपज) हुँदा कस्ता समस्या आउँछन् भन्ने थाहा नभएको उक्त अध्ययनले देखाएको हो।

विश्वभरि नै ४५ वर्ष उमेर कटिसकेका महिलामा महिनावारी रोकिने प्रक्रिया सुरु हुने देखिने गरे पनि नेपालमा भने अधिकांश महिला ५१ वर्षपछि देखिने गरेकाे छ।

‘ रजोनिवृत्ति भएको अवस्थामा विभिन्न लक्षण देखापर्दछ, जुन थाइराइडजस्ता समस्यासँग मिल्दोजुल्दो रहन्छ। यस कारण पनि महिला निकै नै आत्तिएका हुन्छन्,’ श्रेष्ठले भनिन्।

धेरैजसो महिलामा मेनाेपज हुन लगभग चार वर्ष अघिदेखि नै यसको लक्षण देखिन सुरु हुन्छ भने कतिपयमा भने एक वर्ष अगाडिदेखि मात्र देखिन्छ।

कस्तो खालको लक्षण देखिन्छ भन्ने कुरा महिलाको शरीरमा निर्भर हुन्छ।

मेनाेपज हुनुभन्दा केही वर्ष अगाडि नै महिलाको शरीरमा भएको एस्ट्रोजेन र प्रोजेस्ट्रोन हर्मनमा बिस्तारै कमी हुन थालेको हुन्छ।

यसकै कारण महिनावारी र गर्भधारण हुने गर्दछ भने कमीले गर्दा महिनावारी बन्द हुन थाल्ने डा. श्रेष्ठ बताउँछिन्।

उनले अध्ययनमा ‘मेनुपोजल रिडिङ स्केल’ प्रयोग गरेर अध्ययन गरिएकोमा तीन खालका लक्षण देखिएका छन्। शारीरिक लक्षणमा महिलालाई छटपटिने, निद्रा नलाग्ने, पसिना आउने, हातखुट्टा दुख्ने लक्षण देखिन्छन् भने मानसिक समस्यामा भए मुटु ढुकढुक हुने,  उदास हुने, मनमा कुरा खेलिराख्ने र मुड परिवर्तन हुने गर्दछ।

त्यस्तै, युरोजिनाइटल लक्षणमा योनि सुख्खा हुने, पिसाब चुहिराख्ने, हाँच्छयु वा खोक्दा पनि पिसाब चुहिने, यौनेच्छा कम हुँदै जाने, योनि चिलाउने लक्षण देखिन्छन्।

यस्ता लक्षणले महिलाको गुणस्तरीय जीवनमा धेरै नै असर भएको पाइएको छ।

अनुसन्धान गरेका महिलामध्ये ३० प्रतिशतको गुणस्तरीय जीवनमा निकै असर परेको देखिएको छ।

दैनिक जीवनमा असर गरेसँगै यसले मानसिक समस्या पनि निम्त्याएको छ।

थोरै महिलालाई महिनावारी रोकिने क्रमको जानकारी भए पनि अधिकांशले रोग भएको आशंका गर्ने गरेका छन्।

कोही महिला चिकित्सकसँग पनि सल्लाह लिन जाने गरेका छन्।

‘रजोनिवृत्ति भएको अवस्थामा अधिकांश महिलाको आत्मबल खस्किने, जाँगर कम हुँदै जाने, पहिले जसरी काम गर्न कठिनाइ हुने, शारीरिक कमजोरीसँगै काममा रुची नहुने, थकाइ लाग्ने, लामो यात्रा गर्न नसकिने समस्या भोग्ने गरेका छन्,’ श्रेष्ठले भनिन्।

महिलामा विभिन्न किसिमका समस्या भइरहँदा परिवारको साथ र सहयोगको एकदमै आवश्यकता पर्दछ तर महिलाहरुले परिवारबाटै कुनै साथ नपाएको अध्ययनले देखाएको छ।

‘महिलाका अनुसार जति नै शिक्षित परिवार भए पनि यस्तो अवस्थामा परिवारले समस्या नबुझेको बताए। उनीहरू थकित तथा जाँगर नभएको अनुभव गर्दा श्रीमानले अन्यलाई केही नहुने आफ्नो श्रीमतीलाई मात्र हुने भन्दै उनीहरूमाथि झर्किने गरेको पाइयो,’ श्रेष्ठले भनिन्।

कतिपयलाई श्रीमानले वास्ता नगर्ने र मुड परिवर्तन भइराख्दा छोराछोरीले पनि झर्किने गर्दछन्।

त्यस्तै महिला भएर महिलाले नै यस्ता समस्या नबुझ्दा पीडा भएका महिलालाई झनै समस्या भएको पाइन्छ।

यो समयमा महिलामा यस्तो समस्या तथा लक्षण देखाउनु स्वाभाविक हो भनेर परामर्श गर्ने कुनै स्वास्थ्य संस्था नभएको उनले बताइन्।

‘हाम्रो देशमा स्त्रीरोगको ओपिडी सेवामात्र छ। स्त्रीरोग विषेशज्ञले लक्षणका कारण पत्ता लगाइदिए पनि उनीहरूलाई परामर्श भने गरिएको पाइन्नँ।’ उनी भन्छिन्।

हरेक स्थानीय तहले महिलाका लागि सचेतना कार्यक्रम तथा परामर्श केन्द्र सञ्चालन गर्नुपर्ने देखिन्छ। यस्ता कार्यक्रमले पीडा भोगिरहेका महिलालाई मानसिक समस्याबाट बाहिर निस्किन मद्दत गर्दछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *