घाइतेलाई उपचार गरेको भन्दै म्यानमारमा स्वास्थ्यकर्मीहरुको हत्या

हेल्थपोस्ट नेपाल

सैन्य ‘कू’ विरुद्धको आन्दोलनका क्रममा घाइते भएकाहरुलाई उपचार गरेको भन्दै म्यानमारमा ५ स्वास्थ्यकर्मीको हत्या गरिएको छ।

सेनाले घाइतेको उपचार गरिए गोली हान्ने चेतावनी दिँदै आएको छ।

प्रदर्शनका घाइतेलाई बचाउने प्रयास गर्दा मारिने धम्की आएपछि त्यहाँका चिकित्सकहरुले बिरामीको उपचार गर्न डराएका छन्।

गत आइतबार साँझ हेट विन नामकी एक महिला श्रीमान्सँग अबेर घर फर्किएकी थिइन्।

८ बजेपछि कफ्यु हुने भनिएको थियो। उनीहरु फर्कँदा ८ भन्दा बढी बजिसकेको थियो।

सैनिकले उनीहरुलाई रोक्ने आदेश दिए  पनि उनीहरु आफ्नो बाइक कुदाइरहेका थिए।

यसैकारण उनीहरुमाथि सैनिकले गोली चलाए। हेट विनका श्रीमान् त भाग्न सफल भए तर उनी भाग्न सकिनन्।

उनको सास निक्कै बेरसम्म चलिरहेको थियो तर उनलाई बचाउन कसैले आँट गर्न सकेन।

घटना हुनेबित्तिकै उनलाई बचाइएको भए उनी बाँच्थिन् तर सैनिकहरु त्यहाँबाट जाउन्जेल उनको सास रोकिइसकेको थियो।

चिकित्सकहरु त्यहाँ भए पनि उनलाई बचाउन सकेनन्। किनकि त्यहाँका छिमेकीहरुले चिकित्सकलाई पनि मार्ने धम्की दिइएको बताएका थिए।

एउटा समाचार संस्थालाई दिएको अन्तर्वार्तामा एक चिकित्सकले बेला–बेलामा सेनाले यस्तो जाल बुन्ने गरेको बताए।

धेरै पटक सैनिकहरुले चिकित्सकहरुको हत्या गर्ने, एम्बुलेन्समा बम बिस्फोट गर्ने, घाइतेलाई उपचार गरेको ठाउँमा छापा मार्ने र चिकित्सकहरुलाई कुटपिट गर्ने गरेका छन्।

राहा वाला नामका मानव अधिकारकर्मी भने, ‘सैनिकहरुले चिकित्सकहरुलाई छानी छानी आक्रमण गरिरहेका छन्, आन्दोलनमा सहभागी घाइतेहरुलाई उपचार गरेका र आन्दोलनमा सहभागी अधिकांश सरकारी डाक्टरहरुलाई छानेर आक्रमण गरिएको छ।’

आन्दोलनको क्रममा घाइते भएका मानिसहरुलाई उपचार गराएको भन्दै हालसम्म ५ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको हत्या गरिएको छ।

यो तथ्यांक अझ बढी हुन सक्ने आशंका गरिएको छ।

सेनाले कू गरेयता भएका प्रदर्शनका क्रममा हालसम्म ६१८ जनाले ज्यान गुमाइसकेका छन् भने हजारौंलाई पक्राउ गरिएको छ। सैनिकले ६ वर्षकासहित ४३ बालबालिकाको हत्या गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *