सिसिएमसीको मन्त्रिपरिषदलाई प्रस्ताव : तीनसाता शैक्षिक संस्था बन्द गरौं

हेल्थपोस्ट नेपाल

 कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को आज बसेको बैठकले जोखिमलाई हेरेर थप निर्णय लिइने बताएको छ।

देशका विभिन्न भागमा कोरोनाको नयाँ भेरियन्ट देखिन थालेकोले थप जोखिम बढाएको भन्दै आज उपप्रधान तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले जोखिमको अवस्था हेर्दै थप निर्णय लिइने निर्णय गरेको छ।

कोभिड—१९ रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने, जनचेतना अभिवृद्धि गर्ने, सजगता अपनाउने र जोखिमलाई हेरी आवश्यक परे लकडाउनसमेत गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक उच्च पदाधिकारीले बताए।

‘सबैजनाले कोरोना जोखिमको विषयमा आ–आफ्नो धारणा राख्नु भयो,’ ति कर्मचारीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘आजको छलफलमा कोरोना जोखिमलाई हेरी थप निर्णय लिने खालको निर्णय भएको छ।’

बैठकमा विभिन्न क्षेत्रबाट आएका सुझाव र प्रस्तावमाथि छलफल गरिएको थियो। ‘स्कुल तथा कलेज पठनपाठनको विषयमा विशेष छलफल भएको थियो। यस विषयमा सबै गम्भीर हुनुभएको छ। सिसिएमसी कमिटिले जोखिमका आधारमा चरणबद्ध रूपमा लकडाउन गर्नसक्ने गरी मन्त्रिपरिषदमा पेश गर्न लागेको छ,’ ती अधिकारीले भने।

अहिलेलाई बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा तीन सातासम्म बन्द गर्ने प्रस्ताव पनि गरेको छ।

विद्यालय तथा कलेजका विद्यार्थीहरुमा नयाँ भेरियन्टको जोखिम बढेको भन्दै तीन सातालाई अनलाइनमार्फत पढाइ हुने गरी बन्द गर्न प्रस्ताव गरिएको छ।

यस्तै, बैठकले कोभिड संक्रमण नियन्त्रणका लागि अन्य मापदण्ड पनि बनाएको छ। जसलाई आगामी मन्त्रिपरिषद बैठकमा पेश गरिने भएको छ। बैठकबाट अनुमोदन भएपछि थप नयाँ मापदण्ड लागू हुने भएका छन्।

यसअघि, स्वास्थ्य मन्त्रालयले पनि नयाँ भेरियन्ट नेपालमा फैलिएको र यसले ठूलो जोखिम निम्त्याउने भन्दै नयाँ रणनीति अपनाउनु पर्ने सुझाव दिएको थियो।

‘भीडभाड हुने क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन गर्नुपर्ने, सिनेमा हललगायत रेस्टुरेन्ट बन्द गर्नुपर्ने भन्दै मन्त्रालयले सिसिएमसीलाई सिफारिस गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *