सिसिएमसी बैठक बस्दै, होला त लकडाउन?

हेल्थपोस्ट नेपाल

आज (शनिबार) कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बोलाइएको छ।

दिउँसो ४ बजेका लागि बैठक बोलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

डा. गौतमका अनुसार बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विशेष छलफल हुनेछ।

मन्त्रालयले कोरोना जोखिम बढेकाले सर्वसाधारणलाई जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्दै आएको डा. गौतमले बताए।

‘भीडभाड हुने क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, शैक्षिक संस्थाहरु अनलाइनमार्फत सञ्चालन गर्नुपर्ने, सिनेमा हललगायत रेस्टुरेन्टहरु बन्द गर्नुपर्ने भन्दै मन्त्रालयले सिसिएमसीलाई सिफारिस गरेको छ,’ डा.गौतमले भने, ‘सायद, आज यिनै विषयमा छलफल होला।’

बैठकमा विभिन्न क्षेत्रबाट आएका सुझाव र प्रस्तावमाथि छलफल गरिने छ।

तर, स्वास्थ्य मन्त्रालय लकडाउन नै गर्ने योजनामा नरहेको डा. गौतमले जानकारी दिए।

‘अहिले हामीले सबैभन्दा पहिला जनस्वास्थ्यकै मापदण्ड अपनाउन सुझाव दिने हो। संक्रमण जोखिमको आधारमा स्थानीय तहले निर्णय गर्न सक्छन्। तर, देशव्यापी रूपमा लकडाउन गर्ने योजनामा मन्त्रालयले अहिले छैन,’ डा. गौतमले भने।

ग्रामीण क्षेत्रमा भने विद्यालय सञ्चालन गर्ने नै योजना रहेको बताइएको छ ।

अब पठनपाठन भने बन्द गर्न नहुने भन्ने सरकारको योजना रहेको बताइएको छ ।

काठमाडौं लगायतका ठूला सहरहरूमा विद्यार्थीको आवतजावत ठूलो हुने र विद्यालयमा पनि भीडभाड हुने भएकाले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सरकारको तयारी छ ।

भारतबाट संक्रमित नेपाल प्रवेश गर्ने भएकाले त्यसमा कडाइ गर्ने प्रस्ताव मन्त्रालयले सीसीएमसीमा लगिने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

भारतबाट बढी आवतजावत हुने सुदूरपश्चिम, लुम्बिनीलगायतका प्रदेश र वीरगञ्ज लगायतका सहरमा कडाइ गर्ने योजनामा सरकार रहेको छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्था गम्भीर बने पुनः लकडाउन हुनसक्ने संकेत गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभामा आज बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डमा आम जनसमुदाय गम्भीर नबने पुनः लकडाउनमा जानुपर्ने अवस्थाको सिर्जना हुनसक्ने बताए।

उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरे।

‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौं भन्ने छैन। सचेत बनौं, स्वास्थ्य मापदण्ड पालना गरौं।’, ओलीले भने।

पछिल्लो केही हप्ता यता नेपालमा कोरोना संक्रमणको दर ह्वातै बढेको छ।

केही महिना अघि संक्रमण दर २–३ प्रतिशतमा रहेको संक्रमण दर आजभोली १०–१२ प्रतिशतमा उकालो लागेको छ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ छ।

स्वास्थ्य मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार २ हजार ६ सय १५ सक्रिय संक्रमित छन्।

मन्त्रालयको अनुसार हालसम्म ३ हजार ३८ जनाको संक्रमणबाट मृत्यु भएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *