नेपालमा नयाँ प्रजातिको कोरोना भुसको आगोझैं फैलियो, २–३ हप्ताभित्र मृत्युदर ह्वातै बढ्ने
पछिल्लो समय नेपालमा नयाँ भेरियन्ट फैलिएको चिकित्सकले बताएका छन्।
जसका कारण अस्पतालका आइसियु कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
यही सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले नेपालमा पनि नयाँ प्रजातिको कोभिड–१९ भाइरस भुसको आगो झैं फैलन थालेकोतर्फ सचेत गराएका छन्।
उनले सामाजिक सञ्जाल यसबारे शीघ्र सजगता अपनाउनसमेत आग्रह गरेका छन्। पछिल्लो समय कोरोना संक्रमित दोब्बरको दरले बढिरहेको उनले बताए।
’नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ। विगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ। सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५०% कै हाराहारीमा छन्। जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो,’ उनले भनेका छन्।
अहिले भेटिएका संक्रमितमध्ये धेरैजसो सिकिस्त संक्रमित भएको बताएका छन्।
’अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै छ। यसको अर्थ, समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ। यी संकेतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो छाल व्यवस्थित भइसकेको पुष्टि गर्छ,’ डा. बाँस्तोलाले सामाजिक सञ्जालमा भनेका छन्।
अहिलेको सिकिस्त बिरामीको चाप यही गतिमा बढ्ने हो भने २–३ हप्ताभित्र मृत्युदर बढ्ने आँकलन गर्न सकिने डा. बाँस्तोला बताउँछन्।
दोस्रो लहरबाट बच्नका लागि अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड अपनाउन डा. बाँस्तोलाको सुझाव छ।
‘कोरोना भाइरसको पहिलो छालमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्तामात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन्,’ डा. बाँस्तोला भन्छन्, ‘ ले सानोभन्दा सानो पनि लापरबाही नगरौं। लक्षण देखिनासाथ परीक्षण गरौं। धेरैभन्दा धेरै परीक्षण गरौं। कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं। हामीले सुरक्षा मापदण्डको पालनामा हेलचेक्र्याइँ फिटिक्कै गर्नु हुँदैन।’
यसका लागि तत्काल भीडभाड रोक्नुपर्ने र बालबालिकालाई घरमै राख्नपर्ने डा बास्तोलाको सुझाव छ।
कोरोना भाइरसको दोस्रो छाल सम्भावित जोखिमसहित फैलियो भने, हामी अर्को भुँवरीमा पर्ने निश्चित छ। हामीले अझै व्यवस्थित र योजनाबद्ध तयारी गर्नुपर्ने हुन्छ। तसर्थ, भीडभाड रोकौं। बच्चाहरुलाई घरमै सुरक्षित राखौं, मापदण्ड पूर्ण पालना गरौं। आफू बचौं, अरुलाई पनि बचाऔं,’ डा. बाँस्तोला भन्छन्।