बिहीबार मात्रै ५६ बालबालिकामा संक्रमण, शैक्षिकसंस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न  ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ।

सहप्रवक्ता डा. समीर कुमार अधिकारीले पछिल्लो समय विद्यार्थीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्था अनलाइनबाट सञ्चालन गर्न अनुरोध गरेको बताए।

‘बिहीबारको संक्रमणलाई हेर्दा १७ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित भएका छन्। हाल संक्रमण फैलिने ठाउँ विद्यालय देखिएको छ,’ डा. अधिकारीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘तत्काल नै विद्यालय बन्द गरिएन भने अवस्था भयावह हुनसक्छ।’

पछिल्लो समय १८ वर्षसम्मका उमेर समूहका विद्यार्थीमा संक्रमण बढ्दै गएको पाइएको छ।

हालसम्म कुल संक्रमितमध्ये बालबालिकामा ७ प्रतिशत संक्रमण देखिएको छ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।

शिक्षा मन्त्रालयले यसअघि नै कार्यढाँचा तयार पारिएकाले सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने निर्णय गर्न सक्ने बताएको छ।

विद्यालय बन्द गर्नेबारेमा यसअघि नै कार्यढाँचा तयार पारिएको अनुसार सम्बन्धित तहले नै निर्णय गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ।

२५ जना बढी भेला हुन नदिने 

सरकारले दोस्रो चरणको कोरोना फैलिन नदिन विद्यालयसहित अन्य सार्वजनिक क्षेत्र पनि बन्द तयारी गरेको हो।

उनका अनुसार २५ जनाभन्दा बढी भेला हुने क्षेत्र र स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थान बन्द गर्न बुधबार नै सिसिएमसीलाई सिफारिस गरिएको छ ।

सिफारिसमा सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द र स्विमिङ पुल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।

केही महिनादेखि विद्यालय र कलेज भौतिक उपस्थितिमा नै खुलिरहेका छन्। पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा भीड देखिन थालेको छ।

केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ।

बेलायतबाट फैलिएको भेरियन्ट सबैभन्दा संक्रामक मानिएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार १ सय पुगेको छ।

जसमध्ये २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयको अनुसार हालसम्म २ लाख ७३ हजार ६ सय ८ जना संक्रमित निको भएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३८ जनाको मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *