सावधान! नयाँ भेरियन्टको कोभिडमा संक्रमणशीलता मात्र हैन मृत्युदर पनि बढी छ
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमाभन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारण-
१. नयाँ भेरियन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।
२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (एन्टिबायोटिक थेग्न सक्ने, एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिहरूमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।
३. पहिलेको उभार (अवैज्ञानिक रूपले गरिएको) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका अन्य दीर्घरोगी र अरूको पनि स्वास्थ्यमा धेरै सुधार भएको थियो। त्यसैले अघिल्लो उभारमा धेरैलाई कोभिड लाग्दा अरुबेलाभन्दा फोक्सो स्वस्थ अवस्थामा रहेको बेला लागेको थियो। र, त्यसले रोग थेग्न अपेक्षाकृत सजिलो भएको थियो होला। अहिले स्थिति उल्टो छ। ऐतिहासिक वायु प्रदूषणले सबैको श्वासप्रश्वास प्रणालीको स्वास्थ्य एकाएक बिग्रेको छ। अस्पतालमा श्वासप्रश्वासका समस्या लिएर आउनेहरूको चाप निकै बढेको छ। श्वासप्रश्वास प्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागेमा दोहोरो समस्याको मार पर्ने देखिन्छ।
प्रदूषणबाट पनि बच्न सर्जिकल मास्क हैन, एन-९५ मास्क नै लगाउनुपर्छ। कोभिडबाट बच्न र बचाउन लिनुपर्ने सावधानी सबैले अपनाऔं है।
Thank U please continue reporting!